२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

परीक्षण ढिलाइले कामदार ल्याउने उडान सर्दै

बहराइनको उडान एक साता सर्‍यो, मलेसियाको पनि सर्ने सम्भावना, कतारमा परीक्षणको टुंगै लागेन 
होम कार्की

काठमाडौँ — पीसीआर परीक्षणको रिपोर्ट ढिला आउने भएपछि बहराइनबाट नेपाली ल्याउन असार ३ गतेलाई तय गरिएको पहिलो उडान एक साता पछाडि धकेलिएको छ । कोभिड–१९ संकट व्यव्स्थापन समितिले विदेशमा रहेका नेपाली कामदारको उतै परीक्षण हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

परीक्षण ढिलाइले कामदार ल्याउने उडान सर्दै

‘यहाँ पीसीआरको रिपोर्ट आउन ५ दिन लाग्छ । हामीले शुक्रबार मात्रै समय पायौं,’ बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, ‘असार ३ गते पहिलो उडान हुँदैन । अर्को आइतबार हुन्छ ।’

बहराइन सरकारले प्रबन्ध मिलाएको मोबाइल परीक्षण केन्द्रमा जाँच गराउँदा भने शुल्क लाग्दैन । निजी क्षेत्रमा जचाउँदा झन्डै १३ हजार रुपैयाँ खर्च हुन्छ । ‘मोबाइल केन्द्र कतिखेर कहाँ पुग्छ भन्ने सूचना हुँदैन । सकभर हामीले मोबाइल केन्द्रबाटै परीक्षण गराउन खोजेका छौं,’ सुन्दासले भने, ‘शुक्रबार १३ जनाले परीक्षण गराए ।’ बहराइनमा ४ वटा केन्द्र तोकिएको छ ।

पीसीआर रिपोर्टकै कारण असार ४ गते हुने भनिएको मलेसियाको उडान पनि प्रभावित हुने देखिएको छ । मलेसियास्थित नेपाली दूतावासले घर फिर्न प्राथमिकतामा परेकालाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट लिएपछि मात्रै टिकट दिने व्यवस्था गएिको छ । दूतावासले शनिबारसम्म घर फिर्न इच्छुकमध्ये २ हजार ५ जनाको सूची सार्वजनिक गरिसकेको छ । ‘यहाँ आरडीटी परीक्षण गराउन मलेसिया सरकारको सिफारिस चाहिन्छ । सबै कामदारले त्यो सिफारिस पाउन सक्ने अवस्था छैन,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘पीसीआर परीक्षण गराउनका लागि मलेसियाले मान्यता दिएको स्वास्थ्य संस्थाहरुको सूची दूतावासले सार्वजनिक गरेको छ । त्यहाँ गएर परीक्षण गराउँदा कम्तीमा ४८ घण्टा पर्खनुपर्छ । सोमबार हुने भनिएको पहिलो उडान प्रभावित हुन्छ कि भन्ने लागेको छ ।’

कोभिड–१९ जाँचका लागि क्वालालाम्पुर र सेलाङ्गरमा २८ वटा, जोहरमा ८, मेलाका क्षेत्रमा ३, नेगेरी सेम्बिलानमा ४, पेनाङमा ५, सेर्लिस क्षेत्रमा १, पेराक क्षेत्रमा चार, सभा क्षेत्रमा चार र सारवाक क्षेत्रमा चार वटा क्लिनिक तथा अस्पताल तोकिएका छन् । यसबाहेक आफूलाई पायक पर्ने ठाउँमा पनि जाँच गराउन सकिन्छ । पीसीआर परीक्षण गर्न कम्तीमा झन्डै ९ हजार रुपैयाँ शुल्क पर्नेछ । यो कामदार आफैले भुक्तानी गर्नुपर्नेछ ।

कतारमा पीसीआर वा आरडीटी परीक्षण गराउने कि नगराउने भन्ने टुंगो लागेको छैन । कतारको पहिलो उडान असार ३ गते तोकिएको छ । कतारस्थित नेपाली दूतावासले स्वदेश फिर्न चाहने ५ हजार जनाको सूची प्रकाशन गरेको छ । कतारमा ७ वटा सरकारी अस्पतालबाट मात्रै कोभिड–१९ परीक्षण भइरहेको छ । ती अस्पतालले शंकास्पद मात्रैलाई परीक्षण गर्छन् । ५५ वर्षभन्दा माथिका व्यक्तिलाई मात्रै प्राथमिकता राखिएको छ ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले पीसीआर वा आरडीटी परीक्षण गराउन प्रयास भइरहेको बताए । ‘कतार सरकारले स्वदेश फर्किन लागेकालाई पीसीआर परीक्षण गराएको छैन । हामीले भने विशेष सुविधा दिन अनुरोध गरेका छौं,’ उनले भने, ‘निजी स्वास्थ्य संस्थाबाट भए पनि परीक्षण गर्न पाइने अनुमतिका लागि अनुरोध गरेको छु ।’

कतारी निकायको अनुमति नपाइए कतार सरकारले कोभिड–१९ बिरामी पहिचान गर्न बनाएको ‘एतराज एप’ लाई नै नेपालका तर्फबाट पनि स्वीकार गर्नुपर्ने अवस्था देखिएको उनले बताए । ‘यहाँ रहेका सबैले एतराज एप अनिवार्य प्रयोग गर्नुपर्छ । त्यसमा कोभिड–१९ देखिए रातो, कोभिड–१९ देखिएको वरिपरि बस्नेलाई पहेलो र स्वस्थ रहेकालाई हरियो देखाउँछ । रातो र पहिलो देखिए सार्वजनिक स्थानमा हिँडडुल गर्न प्रतिबन्ध छ । त्यस्तो यात्रु विमानस्थलमा आउन पाइँदैन । हरियोवालाले मात्रै यात्रा गर्न पाइनेछ,’ उनले भने, ‘यसबारे मैले परराष्ट्र मन्त्रालयलाई पनि जानकारी दिएको छु । सकारात्मक जवाफको प्रतीक्षामा छु ।’

साउदीको राजधानी रियादबाट एक हजार किमि टाढा ताबुकमा घर फिर्ने प्रतीक्षामा बसिरहेका सुर्खेतका नवराज रोकायले कोभिड–१९ परीक्षण गर्न नपाएको बताए । ‘तीन पटक यहाँको अस्पतालमा गइसके । लक्षण भए मात्रै आऊ भन्दै फर्काउँछन्,’ उनले भने, ‘रिपोर्ट भए आफैं पनि ढुक्क हुने थिएँ । नेपाल पुगेपछि पनि गाउँलेलाई देखाउनुहुन्थ्यो ।’

साउदीका लागि नेपाली राजदुत महेन्द्रसिंह राजपुतले स्वदेश फिर्नेलाई परीक्षण गर्ने प्रबन्ध मिलाइदिन साउदी सरकारलाई आग्रह गरिएको बताए । ‘उडानका लागि योग्य हुन कोभिड–१९ परीक्षण हुनुपर्छ भन्ने निर्देशन छ । तर यो कहाँ र कसरी गराउने भन्नेमा द्विविधा छ । शुल्क कसले तिर्ने भन्नेमा पनि स्पष्ट छैन,’ उनले भने ।

साउदी अरबमा पीसीआर गर्नका निजी स्वास्थ्य संस्थामा १५ सय २५ रियाल (झन्डै ४२ हजार रुपैयाँ) पर्ने भनिएको छ । पीसीआर गर्न त्यत्रो खर्च पर्ने भएपछि दूतावासले कम्पनीलाई आरडीटी गराइदिन रोजगारदातालाई अनुरोध गरेको छ । साउदीको दमाममा एक स्वास्थ्य संस्था एक सय ५० रियाल (झन्डै ४ हजार रुपैयाँ) मा आरडीटी गर्न तयार छ । अन्य क्षेत्रमा रहेका नेपालीका लागि स्वास्थ्य परीक्षण गर्न दूतावासले प्रयास गरिरहेको छ । साउदीबाट स्वदेश ल्याउने पहिलो उडान असार ५ गतेलाई तोकिएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले पीसीआर नै गर्ने प्रबन्ध मिलाइएको बताइन् । ‘केही निजी स्वास्थ्य संस्थामार्फत नेपाल जाने प्राथमिक सूचीमा परेका यात्रुलाई पीसीआर परीक्षण भइरहेको छ । पीसीआर परीक्षण भइसकेकपछि क्वारेन्टाइनमा बस्नुपर्दैन,’ उनले भनिन् । पीसीआर गर्न कम्तीमा ५० ओमानी रियाल (झन्डै १५ हजार रुपैयाँ) कामदार आफैंले भुक्तानी गर्नुपर्नेछ ।

यूएईले भने विमानस्थलमै नि:शुल्क आरडीटी परीक्षण गर्ने बताएको छ । तर जेठ २३ गते १ सय ६८ जनालाई नेपाल पठाउँदा कोरोना परीक्षण गराएको पुष्टि भएको छैन । विमान चढेपछि यात्रुलाई रिपोर्टमा हस्ताक्षर गराइएको बताइएको छ । कुवेतले पनि विमानस्थलमै आरडीटी गरेर नेपालीलाई पठाइरहेको छ ।

प्रकाशित : असार १, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?