२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

हवाई टिकट महँगो हुँदा विदेशीलाई मौका

उद्धार उडान

सरकारले विदेशमा समस्यामा परेका नागरिकको उद्धार गर्न तोकेको हवाई भाडा महँगो हुँदा विदेशी विमानको उडान संख्या बढ्न सक्ने भएको छ । गत बुधबार उडान तालिकासहित टिकट मूल्य सार्वजनिक गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको नाममा नेपाली विमान कम्पनीको व्यापार हेरेको भन्ने आरोप बढ्दै गएपछि स्वदेशीभन्दा विदेशबाट आउने विमानको टिकट शुल्क सस्तो पर्ने देखिएको हो ।

महिनौंदेखि विदेशमा रोजगारी गुमाएका र आममाफी पाएर क्याम्पमा बसेका मजदुरले तोकिएको भाडादरमा फर्कन सक्छन् कि सक्दैनन् अध्ययन नै नगरी स्वदेशी विमान कम्पनीलाई नाफा कसरी हुन्छ भन्ने हिसाबले भाडा तोक्दा सरकारको आलोचना बढेको छ ।

विदेशी वायुसेवा कम्पनीले सरकारले तोकेभन्दा निकै सस्तोमा नेपाल ल्याउन सक्ने जानकारी हुँदाहुँदै पनि नेपाली विमान कम्पनीलाई नै जिम्मा दिँदा एकातर्फ उद्धारमा विलम्ब भएको छ भने अर्कोतर्फ कामदारले टिकट लिनै ऋण लिनुपर्ने अवस्था आएको भन्दै विज्ञहरुले सरकारी रवैयामाथि प्रश्न उठाउन थालेका छन् । दुईपल्ट भाडा घटाउने ठाउँ हुँदाहुँदै पनि किन अध्ययन नै नगरी भाडा सार्वजनिक गरियो भन्ने प्रश्नको जवाफ सरकारी निकायसँगै छैन ।  

सरकारको उद्धार गर्ने हैसियत बुझेका केही मुलुकले आफ्नै खर्चमा नेपालीलाई घर पठाइसकेको र विदेशस्थित नेपाली नियोगले समेत सरकारले तोकेको भाडाभन्दा आधामै चार्टर्ड उडान गर्ने भनेपछि सरकारले कमिसनको पोल खुल्ने डरले भाडा दर घटाउन खोजे जस्तो गरेको जानकारहरुको आरोप छ ।

विदेशी विमानलाई हाल दिइएको २४ उडान सरकारी रवैयाकै कारण थप हुन सक्ने उनीहरुको अनुमान छ । हाल सार्वजनिक सूचना अनुसार नेपाली विमान कम्पनीले ८५ प्रतिशतभन्दा कम अकुपेन्सीमा उडान भर्न नसक्ने जनाइरहँदा विदेशी वायुसेवा कम्पनीहरु सस्तोमा ल्याउन तयार रहेकाले स्वदेशीको व्यापार बढाउने सरकारको योजना फेल हुने निश्चित देखिन्छ ।

पर्यटन मन्त्रालयकै अधिकारीले समेत महामारीको समयमा सरकारले व्यवसायलाई प्राथमिकता दिएको बताउने गरेका छन् । उद्धार उडान नियमितभन्दा महँगो हुने भए पनि महामारीको समयमा समेत सरकारले हवाई इन्धन लगायतको मूल्य नघटाउनुले समेत अझै व्यापार कसरी गर्ने भन्ने अन्योलमा सरकार रहेको अधिकारीहरुको भनाइ छ ।

सरकारले नेपालबाट चार्टर्ड उडान गराउँदा विभिन्न एजेन्सीसँग साँठगाँठ गरेर महँगोमा टिकट बेचे जस्तो उद्धार सहज नभएको समेत उनीहरुको आरोप लगाएका छन् । हाल तोकिएको भाडा कायमै रहे विदेशी विमानमा आकर्षण बढ्ने र भाडासमेत सस्तो हुने भएकाले केहीबाहेक अन्य उडानमा नेपाली विमानले पुनः विश्राम पाउने निश्चित रहेको उनीहरुको दाबी छ ।

मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका अधिकारीहरूसँग शनिबार गरेको छलफलबाट समेत सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भए पनि हिमालयले पहिलो उडान नै रद्द गर्दै तोकेको मूल्यमा उडान गर्ने, नगर्ने जानकारी गराएको छैन ।

ढिलोमा जुन १० देखि उद्धार सुरु गर्ने भनेको सरकारले विभिन्न क्षेत्रबाट भाडा घटाउन दबाब परेपछि विदेशी विमानको उडान संख्या थप्नुको विकल्प नरहेको र पटक–पटक भाडा घटाउने खेलले मन्त्रालयको कार्यक्षमतामा समेत प्रश्न उठेको विज्ञहरुको दाबी छ । उता, घटाएको भाडामा समेत विदेशमा अलपत्र कामदारले चित्त बुझाउन सकेका छैनन् ।  

नेपाल एयरलाइन्सले प्रस्तावित पछिल्लो भाडाभन्दा घटाउने ठाउँ नरहेको जनाउँदै आफ्ना उडानमा नाफा समेत नरहने गरी सरकारलाई सहयोग गरेको जनाइसकेको छ ।

‘विभिन्न क्षेत्रले दिएको दबाबपछि नाफा नराखी नयाँ भाडा दर सार्वजनिक गरिएको हो,’ निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, ‘नागरिक उड्डयन प्राधिकरणले जहाज अवतरण शुल्क घटाउनेबारे नसोच्ने तथा नेपाल आयल निगमले समेत तेलको मूल्य नघटाउने भएपछि सार्वजनिक भाडाले लागतसमेत उठन सक्ने अवस्था छैन ।’

मन्त्रालयका सहसचिव सुुरेश आचार्यले समेत अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य कम हुँदा पनि नेपालमा ती मुलुकको भन्दा दोब्बर मूल्य रहेकाले टिकटको मूल्य महँगो भएको प्रतिक्रिया दिए । सरकारले राष्ट्रवादी भएर स्वदेशी विमानलाई प्राथमिक्ता दिए पनि हाल नेपालमा हवाई इन्धनको मूल्य आठ सय ६८ डलर प्रतिकिलोलिटर रहेकाले निश्चित रुपमा विदेशबाट आउने विमानको टिकट सस्तो हुन जाने उनको भनाइ छ ।

छिमेकी भारतमा समेत चार सय डलर प्रतिकिलोलिटरको दरमा हवाई इन्धन मिले पनि नेपालमा त्यसको मूल्य दुई गुणा बढी रहेको उनले बताए । एयरबस ३३० नेपाल आउँदा ३५ प्रतिशत तेल खर्च हुने जनाउँदै उनले नेपालमा हाल कायम इन्धनको मूल्य ६ डलरसम्म झ¥यो भनेमात्रै मध्यपूर्वका देशहरुसँग भाडामा प्रतिस्पर्धा गर्न सकिने जनाए । हाल सरकारले दैनिक १० उडानसम्म गर्ने गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालयलाई १९ र विदेशी विमान कम्पनीलाई २४ उडानको अनुमति दिइसकेको छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ २३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App