२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

लकडाउनको ७७ दिनसम्ममा हवाई मार्ग हुँदै ३५६७ नेपाली विदेशिए, २२२ स्वदेश फर्किए

सुरज कुँवर

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नेपालले चैत ११ गतेदेखि गरेको अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्दको बीचमा ३५ सय ६७ नेपाली चार्टर उडानबाट विदेशिएका छन् । अध्यागमन विभागका अनुसार, ०७६ चैत्र ११ देखि ०७७ जेठ २६ सम्म ७७ दिनको अवधिमा ३५ सय ७७ नेपाली संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान तथा युरोपतर्फ लागेका हुन् ।

लकडाउनको ७७ दिनसम्ममा हवाई मार्ग हुँदै ३५६७ नेपाली विदेशिए, २२२ स्वदेश फर्किए

विभागका महानिर्देशक रमेश केसीका अनुसार, यो अवधिमा नेपाल छाड्ने नेपालीमा कोरिया र जापानमा कामदार गएका हुन् भने अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत मुलुकमा रहेका नेपालीका परिवारजन फर्केका हुन् । यो अवधिमा विदेशमा अलपत्र परेका २ सय २२ जना नेपाली स्वदेश फर्किए । नेपालीबाहेक जापानका २, बंगलादेशका २ र बेलायतका १ गरी ५ जना विदेशी चार्टर उडानबाट नेपाल आएका थिए । विभागका अनुसार, यी ५ जना कूटनैतिक नियोगमा आबद्ध विदेशी नागरिक हुन् ।

यो अवधिमा नेपालमा अलपत्र परेका ७६ वटा मुलुकका ९ हजार ९ सय २६ जना नागरिक चार्टर उडानबाट विदेश फर्केका छन् । यो तथ्यांकमा ३५ सय ६७ नेपाली पनि समेटिएका छन् । नेपालीपछि सबैभन्दा धेरै नागरिक फर्किने मुलुकमा अमेरिकाका ८ सय ६५, जर्मनीका ७ सय १, बेलायत तथा नर्दन आयरल्यान्डका ६ सय ९४, फ्रान्सको ५ सय ७५, अस्ट्रेलियाका ५ सय १७, चीनका ३ सय ४९, कोरियाका ३ सय २३, जापानका २ सय ९६, क्यानडाका २ सय २४, भारतका १ सय ९७ , रसियाका १ सय ४ गरी ७६ वटा मुलुकका ९ हजार ९ सय २६ जना नागरिक चार्टर उडानबाट विदेश फर्केका हुन् ।

यो ७७ दिनमा मेडिकल कार्गोसहित १ सय १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । तर, लकडाउन सुरु भएयता बुधबारसम्म ८६ दिनमा १ सय ४१ वटा चार्टर उडान भइसकेका छन् । जसमा ११ हजार ४ सय ६० जना नेपालीसहित विदेशी बाहिरिएका छन् भने १८ सय ३० जना नेपाल आएका छन् । यीनमा अधिकांश नेपाली हुन् ।

अध्यागमन विभागले जेठ २६ यता ८ दिनमा भएको हवाई आवागमन तथा यात्रुको मुलुक अनुसारको तथ्यांक सार्वजनिक गरिसकेको छैन । विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले यो ८ दिनको तथ्यांक चाँडै सार्वजनिक गरिने बताएका छन् ।

प्रकाशित : असार ३, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?