२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

‘स्वदेशमै सन्तान जन्माउन पाउने भयौं’

उतैको एयरपोर्टमा १२ घण्टा भोकै बस्नुपरेको, गर्भवतीका लागि व्यवस्था नभएको गुनासो
लीला श्रेष्ठ

काठमाडौँ — यूएईको आबुधाबीमा तीन महिनादेखि रोजगारविहीन बनेकी झापा दमककी कृष्णा आचार्य घर फर्कन पाएकामा खुसी छिन् । भक्तपुरको सूर्यविनायकस्थित होल्डिङ सेन्टरमा रहेकी उनले भनिन्, ‘ढिलै भए पनि आउन पायौं । आबुधाबीमा महँगो पर्ने हुनाले सुत्केरी गराउन सक्ने अवस्था थिएन । बल्ल ढुक्क भएँ ।’ उनको छ महिनाको गर्भ छ ।

‘स्वदेशमै सन्तान जन्माउन पाउने भयौं’

आचार्य दुई वर्षीया छोरी छाडेर १० महिनाअघि आबुधाबी पुगेकी थिइन् । उनले झन्डै ७ महिना एउटा कम्पनीमा काम गरिन् । कोभिड–१९ संक्रमण फैलिएपछि उनी कार्यरत कम्पनी बन्द भयो । तीन महिना ‘सेल्फ क्वारेन्टाइन’ मा बसिन् । कृष्णाका श्रीमान् आबुधाबीकै एक होटलका म्यानेजर हुन् । होटलमा नियमित काम भए पनि तलब ६० प्रतिशत कटौती भएको छ । ‘म गर्भवती भएँ, कम्पनी बन्द भयो,’ उनले भनिन्, ‘बिहानसाँझ हातमुख जोड्ने जोहो मात्र भयो ।’ कृष्णा श्रीमान्लाई उतै छाडेर शुक्रबार नेपाल आइपुगेकी हुन् ।

पतिसँगै स्वदेश आइपुगेकी झापाकै रोजिना तिम्सिना पनि दंग छिन् । होल्डिङ सेन्टर आइपुगेपछि एयरपोर्टमा १२ घण्टा झेलेको कष्ट नेपाल टेकेपछि भुलेको उनले बताइन् । ‘उता एयरपोर्टमा साह्रै दु:ख पाएँ, आफ्नो मुलुकमा पाइला टेक्न पाउँदा खुसी छु,’ उनले भनिन् । रोजिनाको ७ महिनाको गर्भ छ ।

रोजिना पति बुद्ध बोहोरासँग चार वर्षअघि दुबई पुगेकी थिइन् । उनीहरू एक कफी सपमा काम गर्थे । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै ३ महिनाअघि कफी सप बन्द गरिएपछि दुवै कामविहीन भए । बचत गरेको रकम पनि सकियो । ‘दुईपल्टको उडान रद्दपछि बल्ल आउन पायौं तर निकै कष्ट व्यहोर्नुपर्‍यो । १२ घण्टा एयरपोर्टमा भोकै राखियो,’ रोजिनाले सुनाइन्, ‘महिला, गर्भवतीका लागि सहज व्यवस्था थिएन ।’ सरकारले उद्धार गरेको भनिए पनि आफूहरूले टिकट भाडा दोब्बर तिर्नुपरेको उनले बताइन् ।

कृष्णाले रोजगार गुमेर समस्यामा परेकाहरूलाई सरकारले जतिसक्दो छिटो उद्धार गर्नुपर्ने बताइन् । ‘कम्पनी बन्द भएर धेरै नेपालीले भोकभोकै दिन कटाइरहेका छन् । उनीहरूको उद्धारमा ढिला गर्नु हुँदैन,’ उनले भनिन् । सरकारले महिला, गर्भवतीलाई प्राथमिकतामा राखेर उद्धार गरिरहँदा परीक्षणलाई भने महत्त्व नदिएको उनले गुनासो गरिन् । ‘पीसीआर परीक्षण गरेर आउँछौं भन्दा नेपाल एयर लाइन्सले एयरपोर्टमै आएपछि मात्र गर्न पाउने भन्यो तर, आरडीटी मात्र गरियो,’ उनले भनिन्, ‘हामी शुल्क तिरेरै पीसीआर परीक्षण गर्ने तयारीमा थियौं ।’

कृष्णा र रोजिनासहित ९४ गर्भवती शुक्रबार यूएईबाट आइपुगेका छन् । नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ मा उनीहरूसहित १ सय ४८ जना नेपाली थिए । शुक्रबारै साउदी अरबबाट चार जना गर्भवती आइपुगेका छन् ।

शुक्रबार आइपुगेकाहरूलाई त्रिभुवन विमानस्थलबाट साझा बसमा राखी नेपाली सेना, नेपाल प्रहरीको एस्कटिङमा सूर्यविनायकस्थित होल्डिङ सेन्टर पुर्‍याइएको थियो । उनीहरूको व्यक्तिगत विवरण र स्वास्थ्य रिपोर्ट संकलन गरिएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी र यातायात व्यवसायीको समन्वयमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाइने छ ।

प्रकाशित : असार ६, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?