२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२८

विदेशबाट शनिबार एकै दिन आए ७८९ नेपाली

होम कार्की

काठमाडौँ — केही महिनायता सुनसानजस्तै रहेको त्रिभुवन विमानस्थलमा शनिबार अलि चहलपहल थियो । विदेशबाट विमान आउने–जाने क्रम बढेको थियो । तिनमा लकडाउनका कारण विदेशमै रोकिएका नेपाली फर्किंदै थिए ।

विदेशबाट शनिबार एकै दिन आए ७८९ नेपाली

विदेशमा रोजगारी गुमेका र करार अवधि सकिएका ७ सय ८९ जना शनिबार एकै दिन स्वदेश फिर्ता भए । तिनमा १ सय ८७ जना महिला छन् । यी उडानमा विदेशमा मृत्यु भएका नेपालीका १३ वटा शवसमेत ल्याइएको छ ।

मलेसिया, कोरिया, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) बाट कामदार स्वदेश फिरेका हुन् । मलेसियाबाट २ सय ४३ जना आएका छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार ४:२० बजे उडेको विमान साँझ ६:३० बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो । मलेसियाबाट ७ हजार नेपालीले स्वदेश फिर्न आवेदन दिएका छन् ।

अधिकांश यात्रुको टिकट रोजगारदाता कम्पनी आफैंले बेहोरेको छ । मलेसियामा करार अवधि समाप्त भएर स्वदेश फिरेका बख्खनसिंह गुरुङले टिकटको रकम कम्पनीले नै उपलब्ध गराएको बताए ।

उच्च रक्तचापका कारण पक्षघात भई चार महिनादेखि उपचाररत नवलपरासीका बैजनाथ चौधरीले स्वदेश फिर्न पाएकोप्रति खुसी व्यक्त गरे । काम गरिरहेकै समयमा पक्षघात भएका उनी अहिले प्रस्ट देख्न सक्दैनन् । सिधा भएर हिँड्नसमेत नसक्ने ह्विलचियरमा राखिएको छ । ‘नेपाल जान्छु भन्ने आशा थिएन । त्यहीँ मर्छु भन्ने लागेको थियो’, ६ वर्षदेखि मलेसियामा रहेका चौधरीले भने, ‘नेपालमा परिवारसँग बोल्न नपाएको चार महिना भएको थियो ।’

त्यस्तै यूएईबाट शनिबार १ सय ६८ जना नेपाली आएका छन् । जसमा एक शिशुसहित २६ जना महिला छन् । सारजहाँ विमानस्थलबाट उडेको एयर अरेबियाको विमान दिउँसो ४:३६ बजे काठमाडौं ओर्लेको थियो । तिनमा करार अवधि रद्द भएकालाई पठाइएको दूतावासले जनाएको छ ।

कुवेतबाट पनि आममाफी पाएका १ सय ५० महिला बिहान ११:३० बजे काठमाडौं आइपुगे । घरेलु कामदारका रूपमा गएका उनीहरू आममाफीपछि अस्थायी क्याम्प थिए । उनीहरूलाई कुवेतले आफ्नै खर्चमा नेपाल पठाएको हो ।

त्यसै गरी कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएर भिसा सकिएका २ सय २८ जना स्वदेश आइपुगेका छन् । उनीहरू कोरियन एयरवेजमार्फत आफ्नै खर्चमा आएका हुन् । तिनमा अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा राखिएका १४ नेपाली पनि छन् । दक्षिण कोरियाले नेपाली कामदार लिन पठाएको जहाजमा उनीहरू फर्केका हुन् । स्वास्थ्य रिपोर्टको समय नाघेको भन्दै कोरियाले ८ जनालाई भने विमानस्थलबाट फिर्ता पठाएको छ । ईपीएसमार्फत गएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ ।

दूतावासहरूले बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको जनाएका छन् ।

मलेसियाबाट शनिबार ११ नेपालीको शव पनि ल्याइएको छ । मकवानपुरका रामसिंह थिङ, सर्लाहीका रसनारायण महतो, गुल्मीका कृष्णप्रसाद ज्ञवाली, सर्लाहीका मोहम्मद जुकनियाद मिया मन्सुर, मोरङका रामलख्खन मण्डल, रोल्पाका टोपबहादुर पुन, सप्तरीका इन्दलकुमार यादव, नुवाकोटका सुजन रानामगर, पर्साका दर्शन पण्डित खुमाल र रामेछापका बुद्ध योन्जनको शव ल्याइएको हो । मलेसियामा ६१ नेपालीका शव रहेकोमा शनिबार ११ वटा.पठाइएको त्यहाँस्थित नेपाली राजदूत उदयराज पाण्डेले बताए । सात जनाको भने परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार ल्याइएका शव घरसम्मै पुर्‍याउने प्रबन्ध मिलाइएको छ । कुवेतबाट पनि लमजुङका आइतबहादुर गुरुङ र सर्लाहीका अमित कापरको शव आइपुगेको छ ।

प्रकाशित : असार ७, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?