Comments Add Comment

युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो

युएई । युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् ।

हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् । उक्त विमानमा २ जना बच्चा सहित २६ जना महिला र १ सय २३ जना पुरुषहरु छन् ।

नेपाल जाने तयारीसहित विमानस्थल पुगेका तीन जना नेपालीको आरडीटी टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिपछि उनीहरु यो उडानमा काठमाडौं जान पाएनन् ।

नेपाल फर्किनेहरुमा जेष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेको दूतावासले जनाएको छ ।

युएईको विभिन्न राज्यमा रहेकाहरु दुबईबाट फिस्टेल ट्राभल्सको बस सेवामार्फत आबुधाबी विमानस्थल आएका थिए । आबुधावी क्षेत्रमा रहेका यात्रु भने आफैं विमानस्थल पुगेका हुन् ।

स्वदेश फर्कने यात्रुको विदाईका लागि दुतावासका तर्फबाट श्रम काउन्सुलर निर्मला थापा, श्रमसहचारी मोतीराम भुषाल र जनसम्पर्क अधिकृत इरफान आलम विमानस्थल पुगेका थिए ।

यस्तै आबुधाबी राहत टिमका तर्फबाट कृष्ण गौतम लगायत सामाजिक संस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए । संस्थाका प्रतिनिधिहरुले यात्रुहरुको स्वास्थ्य परीक्षण र अन्य काममा सहजीकरण गरेका थिए ।

हिमालय एयरलाइन्सले आबुधाबीबाट पहिलो उडान भरेको हो । ३ वटा उडान अनुमति पाएको एयरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्ने छ । उक्त उडान आबुधाबी एयरपोर्टबाट स्थानीय समयअुसार राति १ बजे हुने एयरलाइन्सले जनाएको छ ।

यस्तै आइतबारै नेपाल एयरलाइन्सको दोस्रो उडान हुनेछ । स्थानीय समय अनुसार बिहान ११ः १० मा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत उडान हुने नेपाल एयरलाइन्सका युएई प्रमुख टिकाराम पंगेनीले अनलाइनखबरलाई बताए । आइतबार नै फ्लाइ दुवईले समेत पहिलो उडान भर्दैछ । फ्लाई दुवईको उडान ८ बजे हुनेछ ।

३ जनामा कोरोना देखियाे

स्वदेश फर्कने सबै यात्रुको विमानस्थलमा कोरोना परीक्षण गराइएको छ । युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गराएको हो । परीक्षण गराइएकामध्ये ३ जनाको रिपोर्टमा कोभिड पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरुको आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमा स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment