कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मजदुरी गर्नेलाई लकडाउनमा धानिनै मुस्किल

लीला श्रेष्ठ

भक्तपुर — सिन्धुली, रामपुरका ४० वर्षीय प्रेमबहादुर श्रेष्ठको काँधमा ४ जनाको पेट पाल्ने जिम्मेवारी छ । खेतबारीको उब्जाउले ६ महिना पनि खान पुगेन । त्यसैले ज्यालामजदुरी गर्न राजधानी उपत्यकातिर हानिए । तर, दुई महिनादेखि कामविहीन भएपछि उनलाई आफ्नै पेट पाल्न मुस्किल छ ।

मजदुरी गर्नेलाई लकडाउनमा धानिनै मुस्किल

‘भक्तपुरमा ज्यालामजदुरी गर्न थालेको १५ वर्ष भयो, यस्तो विपद् कहिल्यै भोग्नुपरेको थिएन,’ उनले भने, ‘ज्यालामजदुरीबाटै परिवार धानेको थिएँ, बालबच्चा पढाएको थिएँ । तर लकडाउनपछि आफैं सडकमा बाँडेको खानाको भरमा दिन काटिरहेको छु ।’ लकडाउनले काम ठप्प भएपछि उनले कोठाभाडासमेत तिर्न सकेका छैनन् । खाना मानवसेवा आश्रमले जोहो गरिदिएको छ । ‘लकडाउन सुरु भएको १५ दिनमा घरको खाद्यान्न सिद्धियो,’ उनले भने, ‘यसरी कतिन्जेल चल्ने हो पत्तो छैन, कसरी घर खर्च चलाउनु अन्योलमा छु ।’

सिन्धुपाल्चोक खाडीचउरका साइला तामाङको दिनचर्या पनि उसै गरी बितेको छ । ‘कोरोनाले मार्छ कि मार्दैन थाहा छैन, हामीलाई भोकले पक्कै मार्छ,’ उनले भने, ‘धन्न गरिबको भोक मेटाइदिने मान्छे भेटेका छौं ।’ ६१ वर्षीय उनी वर्षौंदेखि भारी बोकेर गुजारा चलाउँदै आएका थिए । तर, त्यो कमाइले क्यान्सरपीडित पत्नीलाई बचाउन सकेनन् । ‘भारी बोकेको कमाइले ३ वर्ष श्रीमतीको उपचार गरें, पैसा र मान्छे एकैपल्ट सिद्धियो,’ उनले भने, ‘सूर्यविनायक चोकमा बसेर भारी कुर्दै ज्यान पालेको थिएँ, त्यो पनि रोकियो ।’

जिल्लाका चारवटै स्थानीय तहले ज्यालामजदुरीबाट वञ्चित निम्नवर्गीय नागरिकलाई राहत बाँडेको बताए पनि उनीहरूका हातमा पुगेको छैन । ‘नगरपालिकाले आफ्नो नगरको स्थायी बासिन्दा नभएको भन्दै राहत दिएन,’ तामाङले भने, ‘भुइँमान्छेको कोही हुन्न रैछ ।’

लकडाउनले अलपत्र परेकाहरूलाई मानव सेवा आश्रमले ६५ दिनदेखि खाना खुवाउँदै आएको छ । मध्यपुर थिमि, शंखधर चोक, भक्तपुर क्यान्सर अस्पताल र सूर्यविनायक चोकमा बिहान–साँझ मजदुर, बालबालिका, सडक मानवलगायतलाई खाना खुवाउने गरिएको छ ।

दैनिक ३ सयजतिलाई खाना खुवाइने गरेको संस्थाका सचिव सुमन बर्तौलाले बताए । ‘हामीले अभियान थालेपछि सहयोगी हातहरूले पनि साथ दिए,’ उनले भने । लकडाउनमा उपत्यकाका सडकमा बेवारिस बनेका ६६ जनालाई उद्धार गरी आश्रयसमेत दिइएको संस्थाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?