३१० नेपाली दुबईमा २५ दिनदेखि भोकभोकै

३१० नेपाली दुबईमा २५ दिनदेखि भोकभोकै

धादिङ : संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा रोजगारी गुमाएका नेपाली भोकभोकै पर्न थालेका छन्। दुबई इन्भेस्टमेन्ट पार्क (डीआईपी)को २ नम्बर क्याम्पमा रहेका ३ सय १० नेपाली तीन महिनादेखि बेरोजगार भएर बसिरहेको सिद्धलेक गाउँपालिका-७ अमिलीछापका गणेश अर्यालले बताए।

‘हामीलाई कम्पनीले बेतलबी बिदा दिएको तीन महिना भयो’, उनले भिडियो सम्पर्कमा भने, ‘सुरुका दुई महिना खानबस्न दियो। २५ दिनयता कम्पनीले खाना बन्द गराइदिएको छ। बचत पनि सकिँदै गएकाले कामदार भोकभोकै पर्ने अवस्था आइसकेको छ।’

कम्पनीले खाना रोकेको विषयमा दुबईको ‘लेभर कोर्ट’मा उजुरी गरेपछि नगरपालिकाले खाना उपलब्ध गराएको थियो। तर, खानै नसकिने उपलब्ध गराएकाले घर फर्किन साँचेको रकम खानामा खर्च भइरहेको उनले सुनाए।

कम्पनीले बिमा कार्ड पनि फिर्ता लिएकाले बिरामी भएको अवस्थामा तत्काल उपचार पनि पाउने अवस्था नरहेको नेपालगन्जका तारा भण्डारीले बताए। ‘हामी बसिरहेको क्याम्पमा ३ सय १० जना रोजगारविहीन भएका छौं। कम्पनीले बिमा कार्ड पनि फिर्ता लगिसक्यो। कतिपयको भिसा सकिएको छ’, उनले भने, ‘कोरोना मात्रै होइन, अरू जुनसुकै बिरामी भइहाल्यो भने पनि तत्काल उपचार पाउने अवस्था छैन।’

नेपाली दूतावासले घर फर्किन चाहनेको तथ्यांक संकलन गरेका बेला नियमित खाना पाइरहेको भनेर नाम टिपाएको बुटवलका फत्तेसिंह नेपालीले बताए। खाना बन्द भएपछि दूतावासमा खबर गर्दा सम्पर्क हुन नसकेको उनको गुनासो छ। ‘नेपाली दूतावासमा फोन नै उठ्दैन। इमेलको उत्तर आउँदैन। हामीले अब कहाँ सम्पर्क गर्ने ? ’, उनले भने, ‘पहिले ढाट्न हुँदैन भनेर खाना खान पाएको भनेर नाम टिपायौं। अहिले कम्पनीले खाना बन्द गरिदियो।’

दूतावासले पनि नाम संकलनबाहेक केही गरेको छैन। नेपालीका गुनासो नसुनेको, दूतावास गेटबाटै नाम टिपाएर फर्किनुपरेका गुनासो उनीहरूले गरेका छन्। कतिपयले घर फर्किन भनेर राखेको पैसाले छाक टारिरहेका छन्। आफ्नै खर्चमा नेपाल फर्किन नसक्ने अर्यालले बताए। विदेशमा अलपत्र नेपालीलाई ल्याउन सरकारले तोकेको भाडादरले मानसिक तनाव थपेको उनीहरूको भनाइ छ।

‘नेपालमा लकडाउन हुनुभन्दा अघिल्लो दिन स्वदेश फर्किन ६ सय ५० दिराममा नेपाल एयरलाइन्सको टिकट काटेका व्यक्ति हामीसँगै छन्’, उनले भने, ‘अहिले १९ सय ८० दिराम तोकिएको रहेछ। यसले कतिपयको सातो लिएको छ।’

कम्पनीले फिर्ता पठाउने कामदारलाई कुन मितिको हवाई टिकट दिऊँ भनेर ताकेता गरिरहे पनि नेपालीले उत्तर दिन सकेका छैनन्। कतिपयलाई कम्पनीले खर्च दिएर पठाउन लागेको छ। ‘जान्छु भनेकालाई पनि नियमित उडान नहुँदा समस्या भएको छ’, अर्यालले भने। कुनै पनि निकायले एक साताभित्र उद्धार नगरे भोकले नै मर्ने अवस्था आउने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.