logo
२०८१ जेष्ठ १ मंगलवार



कुवेतबाट फिर्ता आएकालाई विभिन्न होल्डिङ सेन्टरमा राखियो

विदेश |
फिचर |


कुवेतबाट फिर्ता आएकालाई विभिन्न होल्डिङ सेन्टरमा राखियो
तस्बिरः सागर बस्नेत


चाँदनी हमाल
काठमाडौँ, जेठ २९ गते । कुवेतबाट आज आएका २९९ जना नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा व्यवस्थित गरिएको कोभिढ–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।
कुवेत सरकारले आममाफी दिएकामध्ये २९९ जना महिला आज जजिरा एयरलायन्सको दुई वटा जहाजबाट नेपाल फर्कनुभएको हो । जसमध्ये प्रदेश १ का ९२ जनालाई भक्तपुरस्थित इम्पेरियल याङ्केट र प्रदेश २ का १० जनालाई हेरिटेज पार्टी प्यालेसमा व्यवस्थापन गरिएको छ । बाग्मती प्रदेशका १०३ जनालाई काठमाडौँको यति पार्टी प्यालेसमा र गण्डकी प्रदेशका २६ जनालाई स्काइजोन पार्टी प्यालेसमा र प्रदेश ५ का ५१ जनालाई कुण्डलिनी ब्याङ्केट होल्डिङ सेन्टरमा व्यवस्थित गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशका १५ जनालाई ललितपुरको मण्डला पार्टी प्यालेस र सुदूरपश्चिमका दुइ जनालाई सिद्धार्थ पार्टी प्यालेसस्थित होल्डिङ सेन्टरमा राखिएको समितिले जनाएको छ । त्यहाँ स्वास्थ्य परीक्षण तथा व्यक्तिगत विवरण सङ्कलनपश्चात सम्बन्धित प्रदेशमा पठाउने तयारी भइरहेको समितिले जनाएको छ ।

आज मध्यान्न जजिरा एयरलायन्सको फ्लाइट नम्बर जे९१५४१ काे पहिलो जहाजमार्फत आउनेमा प्रदेश १ का ३८ जना, प्रदेश २ का ६ जना, बाग्मती प्रदेशका ५९ जना, गण्डकी प्रदेशका १३ जना, प्रदेश ५ का २८ जना, कर्णाली प्रदेशका पाँच जना र सुदूरपश्चिम प्रदेशका एक जना गरी १५० जना रहेका छन् ।

फ्लाइट नम्बर जे९१५४३ को जहाजमार्फत दोस्रो उडानमा प्रदेश १ का ५४ जना, प्रदेश २ का चार जना, बाग्मती प्रदेशका ४४ जना, गण्डकी प्रदेशका १३ जना, प्रदेश ५ का २३ जना, कर्णाली प्रदेशका १० जना र सुदूरपश्चिम प्रदेशका एक जना गरी १४९ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको थियो ।

जेठ १२ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाल नागरिकहरूलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण एवम् स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गराई व्यवस्थित गर्न समिति सक्रिय रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?