कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

खाडीबाट ८७ शव ल्याइयो, १०७ बाँकी

साउदीबाट ५९, मलेसियाबाट २३, कतारबाट ११ र यूएईबाट १४ शव ल्याउन बाँकी
होम कार्की

काठमाडौँ — अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत विदेशमा रहेका नेपालीको शव ल्याउन झन्डै तीनदेखि पाँच लाख रुपैयाँसम्म खर्च भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार शनिबारसम्म ८७ जनाको शव नेपाल ल्याइएको छ ।

खाडीबाट ८७ शव ल्याइयो, १०७ बाँकी

सम्बन्धित देशका विभिन्न अस्पतालमा राखिएका शवलाई अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउँदा भाडा महँगो भएको र त्यहाँबाट चार्टर उडान भएकाले पनि सामान्य अवस्थाको भन्दा बढी खर्च लागेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएयता मात्रै प्रमुख गन्तव्य देशमा तीन सय ३३ जनाको विभिन्न कारणले मृत्यु भएको थियो । शुक्रबार मलेसियाबाट १९ र शनिबार बिहान साउदी अरबबाट १५ जनाको शव ल्याइएको हो । मलेसियाबाट १८ शव नेपाल एयरलाइन्स र एक हिमालय एयरलाइन्सको चार्टर उडानबाट ल्याइएको छ । साउदीबाट पनि नेपाल एयरलाइन्समै शव काठमाडौं ल्याइएको बोर्डले जनाएको छ ।

मलेसियाबाट सिरहाका बलराम ठाकुर, जाजरकोटका वीरबहादुर कामी, धनुषाका विपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम विक, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहरा, इलामका पदमबहादुर सारु, बागलुङका शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दीपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दु:खीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खत्वे र रुकुमका कुवीराम ओलीको शव ल्याइएको हो । यसअघि पनि मलेसियाबाट ११ जनाको शव काठमाडौं ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।

साउदीबाट ल्याइएका शवमा बागलुङका रविन किसान, मकवानपुरका खड्गबहादुर राई, रोल्पाका ढकप्रसाद भट्ट, राजेन्द्र विक, सर्लाहीका शुक्रबहादुर थापा मगर, महोत्तरीका जयनाथ मण्डल खत्वे, धनुषाका बेच्चन मुखिया विन, मकवानपुरका जीवन नेगी र लमजुङका खिमबहादुर मजाकोटीको हो । मलेसियाबाट शव ल्याउन प्रतिव्यक्ति एक लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सबैभन्दा महँगो खाडी राष्ट्रबाट ल्याउँदा भएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार विभिन्न स्थानमा मृत्यु भएका नेपालीको शवलाई राजधानी रियादसम्म ल्याएर नेपाल पठाउनुपर्दा १६ हजार रियाल (झन्डै ५ लाख रुपैयाँ) सम्म खर्च भएको छ । कानुनी हैसियत भएका शवको खर्च रोजगारदाता आफैंले व्यहोरेका छन् भने गैरकानुनी हैसियत भएका नेपालीको शव पठाउँदाको खर्च व्यहोर्न बोर्डलाई अनुरोध गरिएको साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए ।

कतिपय रोजगारदाता भने शव पठाउने खर्च महँगो भएको भन्दै पछाडि हटेका छन् । रोजगारदाताले सहयोग नगर्दा शनिबार पठाउन तय गरिएको डडेलधुराका नवराज पाण्डेको शव आउन सकेन । ‘राजधानी रियादबाट झन्डै एक हजार किलोमिटर टाढाका अस्पतालमा शवहरू छन् । ती शवलाई रियादसम्म ल्याएर नेपाल पठाउँदा खर्च बढेको हो । धेरैजसो रोजगारदाताले दूतावाससँग प्रभावकारी समन्वय गरेका छन् । यसले गर्दा महामारीका बेला शव पठाउन कठिन भए पनि सम्भव भएको छ,’ राजदूत राजपुतले भने, ‘सामान्य अवस्थामै साउदीबाट शव पठाउन कठिन हुन्थ्यो । अहिले त झन् महामारीको समय पर्‍यो ।’

साउदीमा तीन महिनायता एक महिलासहित १०२ नेपालीको मृत्यु भएको थियो । २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकाले उनीहरूको शव साउदीमै अन्त्येष्टि गरिएको छ । साउदीबाट अझै ५९ जनाको शव आउन बाँकी छ । मलेसियामा २३, कतारमा ११ र यूएईमा १४ जनाको शव बाँकी छ । नेपाली दूतावासहरूका अनुसार नेपाल एयरलाइन्सको ‘वाइड बडी’ विमानको पालो पाउन मुस्किल भएकाले शव पठाउन समय लागेको हो । वाइड बडी विमानले एकै पटक १८ वटासम्म शव बोक्न सक्छ भने ‘न्यारो बडी’ले तीनवटा मात्रै बोक्न सक्छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जुलाई पहिलो सातासम्म सबै शव नेपाल पठाइसकिने जानकारी दिए । ‘हामीले कम भाडादरमा शवसमेत लैजाने गरी मालिन्दो एयरलाई भनेका छौं । मालिन्दोले नेपाल एयरलाइन्स र हिमालय एयरभन्दा ९० रिंगेट सस्तोमा जुलाईको पहिलो साता उडान गर्दै छ,’ उनले भने । नेपाल र हिमालय एयरलाइन्सबाट आउने यात्रुले १५ सय ९० रिंगेट भाडा तिर्नुपर्छ ।

मृत्युका कारण

दूतावासहरूका अनुसार सबैभन्दा बढी प्राकृतिक कारण, हृदयाघात, सडक दुर्घटना र आत्महत्याका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेको छ । साउदीमा प्राकृतिक कारण र सडक दुर्घटना परी तथा कतारमा हृदयाघातका कारण धेरै नेपालीको मृत्यु भएको देखिन्छ । ‘मोइस’को अनुसन्धान प्रतिवेदनअनुसार कामदारले गन्तव्य मुलुकमा प्रतिकूल कार्य वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेको पाइएको छ । शरीरमा तापक्रमको उतारचढाव, किटनाशक औषधि तथा रसायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभाव, काम गर्ने मर्यादित वातावरण (जस्तै– अधिकतम शारीरिक परिश्रम, पेशागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकारी श्रम) नहुनुले पनि मृत्युदर बढाएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २००८ यता गत जेठ मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा ८ हजार ९७ जनाको मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । उनका अनुसार मृतकका परिवारलाई २ अर्ब ४० करोड रुपैयाँ राहत रकम दिइसकिएको छ । विदेशमा नेपालीको मृत्यु हुने कारण पहिल्याई त्यसलाई न्यूनीकरण गर्न चासो नदिइएको बताउँछन् श्रम विज्ञ गणेश गुरुङ ।

‘वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यसम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न विभिन्न नीति तथा कार्यक्रमहरूमार्फत सम्बोधन गरिए पनि कामदारको मृत्यु तथा अंगभंगका कारक तत्त्वहरूको निदान र न्यूनीकरणका लागि निरोधात्मक उपाय खोजी गरिएको देखिन्न,’ गुरुङले भने, ‘गन्तव्य मुलुकको वस्तुगत स्थितिलाई आधार मानी अभिमुखीकरण तालिमलाई अझ प्रभावकारी बनाइनुपर्छ ।’

प्रकाशित : असार १४, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?