अनिश्चितकालका लागि बन्द भए ठूला होटल : एक लाख ५० हजारको रोजगारी गुम्यो

अनिश्चितकालका लागि बन्द भए ठूला होटल : एक लाख ५० हजारको रोजगारी गुम्यो

विराटनगर : प्रदेश राजधानी विराटनगरसहित प्रदेश १ का ठूला होटल धमाधम अनिश्चितकालका लागि भन्दै बन्द गर्न थालिएका छन्। कोरोना भाइरसको महामारीसँगै मुलुकमा सुरु भएको ‘लकडाउन’यता होटल सञ्चालन हुन सकेका थिएनन्। व्यवसायीले अहिलेसम्म खुल्ने कुनै छाँटकाँट नदेखिएको भन्दै ठूलो लगानी लगाएर सञ्चालन गरेका होटलहरु सम्बन्धित निकायसँग समन्वय गरेर धमाधम आधिकारिक रुपमै बन्द गर्न थालेका हुन्। 

प्रदेश १ मा ४० करोडमाथि लगानीका दुई हजार पाँच सय बढी होटल रहेको होटल व्यवसायी संघले जनाएको छ। संघकाअनुसार सबैजसो होटल अहिले पूर्णरुपमा बन्द गरिसकिएका छन्। करोडौं लगानीका होटल बन्द हुँदा त्यहाँ काम गर्ने कर्मचारी र मजदुर पनि मारमा परेका छन्। व्यवस्थापन पक्षले उनीहरुलाई पाउने केही सेवा सुविधासहित बिदा दिइसकेको होटल व्यवसायी संघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले बताए। 

उनकाअनुसार होटल व्यवसाय पूर्ण रुपमा बन्द गर्नु पर्ने अवस्था आएपछि एक लाख ५० हजार बढीको रोजगारी गुमेको छ। ‘कोरोना संक्रमणसँगै सुरु भएको  लकडाउनले हामी व्यवसायी मारमा पर्‍यौं,’ उनले भने, ‘होटल बन्द गर्नु पर्ने अवस्था आएपछि एक लाख ५० हजार बढीको रोजगारी गुम्यो।’ उनकाअनुसार एउटा होटलमा ४० देखि ८० जनासम्म कामदार र कर्मचारी थिए। श्रेष्ठले सबैजसो होटल अनिश्चितकालका लागि बन्द गरिएकाले भविष्यमा सञ्चालनमा अन्योलता देखिएको पनि बताए। 

‘अहिलेसम्म हामीले केही उपाय लाग्छ कि भनेर पर्खिएर बसेका थियौं। तर सरकारले होटल सञ्चालनका लागि कुनै अनुमति दिएन,’ उनले भने, ‘आफूखुसी सञ्चालन गर्न सक्ने अवस्था पनि भएन। मुल गेट नै बन्द गरेर कर्मचारी र कामदारलाई बिदा दिँदै पूर्ण रुपमा बन्द गर्नु पर्ने अवस्था आयो।’ आर्थिक संकट थपिएसँगै बैंकको ऋण तिर्न नसक्दा ठूला होटल सञ्चालन गर्ने सबैजसो व्यवसायी डुबेको उनको भनाइ छ। श्रेष्ठका अनुसार पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै व्यवसायीले बैंकबाट ऋण लिएर धमाधम ठूला होटल सञ्चालनमा ल्याएका थिए। 

बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसक्ने अवस्था आएपछि व्यवसायीमा भागाभागको अवस्था नै आएको उनले बताए। ‘स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाएर भए पनि होटल सञ्चालन गर्न दिन सरकारसँग माग गरेका थियौं। तर त्यो पनि सम्भव भएन,’ विराटनगरको इष्ट्रन स्टार होटलका सञ्चालकसमेत रहेका श्रेष्ठले भने, ‘हामी व्यवसायीबीचको छलफलबाट पनि पूर्ण रुपमा बन्द गरेर कामदार र कर्मचारीलाई बिदा दिनुको विकल्प नभएको निस्कर्ष निकाल्यौं। यदि बन्द भएका होटल खुलिहाले भने पनि कसरी चलाउन सकिन्छ भन्ने यकिन छैन।’

उनकाअनुसार भ्रमण वर्षलाई लक्षित गरेर प्रदेश १ का पर्यटकीय स्थल एवं ठूला शहरमा धमाधम करोडौं लगानी गरेर ठूला होटल सञ्चालनमा ल्याइएका थिए। कतिपय बन्ने क्रममा थिए। नयाँ निर्माण हुँदै गरेका होटलको काम पनि बन्द भएको छ। प्राय पुराना होटलले पनि संरचना थप गरेर सुविधासम्पन्न बनाएका थिए। ‘कतिपय नयाँ होटल बनेर सञ्चालनको अवस्थामा थिए,’ श्रेष्ठले थपे, ‘सबै बन्द भएकाले अबका दिनमा के हुन्छ र कसरी अगाडि बढ्न सकिन्छ भन्ने अन्योलता छाएको छ।’ 

बैंकबाट ऋण लिएर खोलिएको होटलहरु धमाधम बन्द भएपछि आर्थिक भारले व्यवसायी थलिएको जानकारी उनले दिए। ‘सबै सावधानी अपनाएर सरकारले खोल्न दियो भने केही राहत हुन्थ्यो कि भन्ने अपेक्षा थियो,’ श्रेष्ठले भने, ‘बैंकको किस्ता कसरी तिर्ने भन्ने समस्या झन् जटिल बनेपछि तनावमाथि तनाव थपिएको छ।’  

विराटनगरको पहिलो ठूलो लगानीमा सञ्चालन भएको होटल जेनियल आधिकारिक रुपमा बन्दको घोषणा गरिएको छ। २२ वर्षदेखि सञ्चालनमा रहेको तीन तारे होटल कोरोना महामारीसँगै आर्थिक भार थेग्न नसकेर बन्द गर्ने निर्णय सञ्चालक टिमले गरेको हो। केही सुरक्षा गार्ड र सरसफाई कर्मचारी बाहेक ४३ जना कामदार र कर्मचारीलाई नियमअनुसार विदा दिएर सम्बन्धित निकायसँगको समन्वयमा अनिश्चितकालका लागि होटल बन्द गरिएको सञ्चालक हरिभक्त सिटौलाले बताए। होटलमा सबै गरेर ६५ जना कर्मचारी थिए। 

सिटौलाले श्रम कार्यालय र ट्रेड युनियनका प्रतिनिधि राखेर नियमअनुसार पाउने उपदान, सुविधा दिएरै कामदार र कर्मचारीलाई बिदा गर्दै असार ११ बाट होटल पूर्ण रुपमा बन्द गरिएको बताए। ‘चीनमा कोरोना संक्रमण देखिएसँगै होटलमा मन्दी सुरु भएको थियो,’ उनले भने, ‘नेपालमा पनि सरकारले ‘लकडाउन’ गरेपछि होटल ठप्पै भयो।’ 

सिटौलाले होटल चल्छ कि भनेर केही समय पर्खिएर बसे पनि दिन प्रतिदिन अवस्था नाजुक बन्दै गएपछि आधिकारिक रुपमै बन्द गरिएको बताए। अब पुनः होटल सञ्चालन गर्न सक्ने सम्भावना कम रहेको उनको भनाइ छ। २०५५ साल पुस ५ बाट होटल सञ्चालन गरिएको थियो। एउटा स्वीमिङपुलसहितको होटल जेनियलमा ४८ वटा कोठा, तीनवटा कार्यक्रम हल, दुईवटा मिटिङ हल र दुईवटा रेस्टुरेन्ट थिए। 

‘होटल नचले पनि कर्मचारीको तलब भत्ता र आन्तरिक व्यवस्थापनमा गरेर मासिक २० लाख बढी खर्च भइरहेको थियो,’ सिटौलाले भने, ‘त्यत्तिकै कर्मचारी र कामदारलाई राखेर खर्च धान्न सक्ने अवस्था नै भएन।’होटल व्यवसायी संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले कोरोना महामारीले होटल व्यवसायमा ठूलो धक्का लागेको बताए। उनका अनुसार विराटनगरका ठूला भनिएका स्वागतम, रत्ना, विग, इष्टर्न स्टार, नमस्कार, जेनियल, भिन्तुना लगायतका सबै होटलहरु बन्द गरिसकिएका छन्। ‘पछिल्लो समस्याले पर्यटन र होटल व्यवसायमा ठूलो क्षति पुग्यो,’ श्रेष्ठले भने, ‘व्यवसायदेखि लिएर रोजगारीसम्म चौपट बन्यो।’ 

उनकाअनुसार विराटनगरमा मात्रै ३० वटा ठूला होटल छन्। साना र ठूला गरेर तीन सय हाराहारीमा रहेका सबै होटल कोरोना महामारीसँगै गरिएको ‘लकडाउन’ले बन्द भएको जानकारी श्रेष्ठले दिए। उनका अनुसार विराटनगरमा मात्रै ३० अर्ब रुपैयाँ भन्दा बढी होटल व्यवसायमा लागानी थियो। सार्वजनिक यातायात, सीमा नाका र एयरलाइन्स खुले भने बन्द भएका मध्ये केही होटल सञ्चालनमा आउन सक्ने जानकारी श्रेष्ठले दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.