नेपालमा तीव्र, विदेशमा मत्थर

नेपालमा तीव्र, विदेशमा मत्थर

काठमाडौं : अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए।

सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने,

‘लगभग नियन्त्रणमा आएको छ।’

उनले विदेशमा नेपाली पहिलाको तुलनामा धेरै सुरक्षित रहेको सुनाए। ‘हाम्रो समुदायमा मात्र कम भएको हो’, उनले भने, ‘हामी बढी सजग भएर स्वास्थ्य मापदण्ड पालना गरेका कारण संक्रमण कम देखिएको हो।’

९४ प्रतिशत संक्रमित निको

संघका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। विदेशमा ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ। यीमध्ये ३२ हजार ९ सय ८९ जना संक्रमणमुक्त भइसकेको संघले जनाएको छ। यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो।

कतारमा २३ हजार ८ सय ६४, संयुक्त अरब इमिरेट्स (यूएई) मा २ हजार ४ सय, साउदी अरबमा १ हजार ९ सय ७५, अमेरिकामा १ हजार ७ सय २७, कुवेतमा १ हजार ६ सय ३५, बेलायतमा १ हजार ५ सय १७ जना संक्रमित भएका छन्। भारतमा ५ सय ८०, बहराइनमा ४ सय ५१, अस्ट्रेलियामा १ सय ८१ जना संक्रमित छन्। मलेसिया, पोर्चुगल, आयरल्यान्ड, स्पेन, क्यानडा, अस्टे«लिया, जापान, माल्दिभ्स, बेल्जियम, स्विट्जरल्यान्ड जर्मनी, फिनल्यान्ड, साइप्रस, न्युजिल्यान्ड, माल्टा, हङकङ, पोल्यान्ड, म्यानमार र फ्रान्समा पनि नेपाली संक्रमित छन्।

मुख्य श्रम गन्तव्यमा जोखिम

खाडी मुुलुकमा रहेका नेपाली कोरोना महामारीका कारण आक्रान्त बन्दै गएका छन्। भारतसहित यूएई, साउदी र कतारमा रहेका नेपाली अझै जोखिममा देखिएका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया र खाडी मुलुकमा १८ लाख नेपाली कामदार कार्यरत रहेको जनाइएको छ। भारतबाट ३ लाखभन्दा बढी नेपाली फर्किए पनि अझै ठूलो संख्यामा उतै बसेका छन्। कतिपय नेपाली रोजगारी गर्न भारत नै जान थालेका छन्।

संघका अनुसार यूएईमा संक्रमित र मृतकको संख्या बढ्दो छ। दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक यो साता कोरोना संक्रमण देखिएको छ। जापान, अस्ट्रेलिया, कतारलगायत देशमा यो साता कोरोना संक्रमणदर बढेको संघले जनाएको छ। मध्यपूर्वमा कोरोना महामारीका रूपमा फैलिएको छ। युरोप र अफ्रिकामा भने कोरोनाको असर कम हुँदै गएको छ।

मध्यपूर्वी मुलुकमा कोरोना संक्रमण बढेसँगै नेपालीमा त्रास बढेको छ। त्यहाँ नेपालीको संख्या अधिक छ। वैदेशिक रोजगारीका क्रममा लाखौं युवा मध्यपूर्वी देशमा काम गर्दै आएका छन्। अस्ट्रेलिया र युरोपमा कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाली समुदायमा चिन्ता बढेको छ।

संघका प्रवक्ता डीबी क्षेत्रीले मध्यपूर्वमा आक्रामक ढंगले संक्रमण नभए पनि नियन्त्रणमा आइनसकेको बताए। ‘मध्यपूर्वमा त्यस्तो जोखिम पनि छैन’, प्रवक्ता क्षेत्रीले भने, ‘निमिट्यान्ट पनि भएको छैन।’ संक्रमण तीव्र नभएकाले त्यस्तो जोखिम पनि नभएको उनले बताए। ‘विदेशी भूमिमा कार्यरत नेपालीमा बिस्तारै जोखिम कम हुँदै गएको छ’, उनले भने।

विदेशमा २ सयको मृत्यु

पछिल्लो समय विदेशमा २ सय नेपालीको मृत्यु भएको छ। १५ मुलुकमा रहेका नेपालीले कोरोना कहरका बेला ज्यान गुमाएको संघले जनाएको छ। सबैभन्दा बढी बेलायतमा ६९, त्यसपछि यूएईमा ३७, भारतमा ३२, अमेरिकामा १७, कतारमा १६, साउदीमा ११, कुवेतमा ७, बहराइनमा ३ जनाको मृत्यु भएको छ। अफ्रिका, ओमन, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना नेपालीको मृत्यु भएको छ।

असर कम, जोखिम उत्तिकै

स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले केही देशमा कोरोनाको दोस्रो लहर सुरु भएकाले सजग हुन आवश्यक भएको बताए। नेपाली समुदायमा कोरोना असर कम हुँदै गए पनि जोखिम उत्तिकै रहेको उनको भनाइ छ। ‘खतरा अझै टरेको छैन’, उनले भने, ‘सावधानी अपनाउन नसके संक्रमण बढ्न सक्छ।’ उनले विदेशमा रहेका नेपालीलाई मास्क लगाउन, मुख छुनुअघि हात साबुनपानीले धुन, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्न, भीडभाड नगर्न सल्लाह दिए।

विश्वभर संक्रमितको संख्या सोमबार साँझसम्म २ करोड ७३ लाख नाघेको छ। मृतकको संख्या ८ लाख ९४ हजार ४ सय ९ पुगेको छ। निको हुनेको संख्या १ करोड ९४ लाख नाघेको वल्र्डोमिटर्सले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.