मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७७ भदौ २४ बुधबार ०४:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साउदीमा अलपत्र नेपालीको बिजोग : आक्रोशित श्रमिक नेपाल सरकारविरुद्ध नाराबारीमा उत्रिए

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ भदौ २४ बुधबार ०४:००:००

साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीमा कार्यरत कैलालीका २९ वर्षीय राम कार्की (नाम परिवर्तन) तीन महिनादेखि बेरोजगार छन् । काठमाडौंको अञ्जुलीमा म्यानपावरबाट वेटरका लागि गए पनि लेबरको काम गर्न बाध्य भएका उनलाई कोभिड– १९ का कारण लकडाउन भएदेखि कम्पनीले पारिश्रमिक दिएको छैन । अहिले भिसा अवधि पनि सकिएको कारण नेपाल फर्कन नपाउने हो कि भन्ने चिन्ताले उनलाई सताएको छ । चार वर्षदेखि साउदीमै रहेका सप्तरीका २८ वर्षीय मुन्ना यादव (नाम परिवर्तन) पनि चार महिनादेखि बेरोजगार छन् । गत मेमा उनको पनि करार अवधि सकिएको छ । त्यस्तै चार वर्षअघि नै साउदी गएका बर्दियाका ३० वर्षीय रवि ढकाल (नाम परिवर्तन) बेरोजगार भएको पनि ६ महिना बितिसकेको छ ।

अहिले कम्पनीले खान–बस्न दिए पनि नेपाल फर्कन नपाउँदा उच्च जोखिमा बस्नुपरेको उनीहरूको गुनासो छ । कार्की, यादव र ढकालजस्तै साउदीका करिब एक हजार नेपाली श्रमिक करार अवधि सकेर स्वदेश फर्कन पाउने आसमा रहेको पीडित कार्कीले फोनमार्फत बताए । उनका अनुसार करार अवधि सकिएका र विगत सात महिनादेखि बेरोजगार श्रमिकलाई कम्पनीले आफ्नै आवासगृहमा राखेको छ । तर, कम्पनीले भारत, फिलिपिन्सलगायत अन्य मुलुकका श्रमिकलाई भने स्वदेश फर्काइसक्यो । नेपाली श्रमिक भने एउटै हलमा डेढ सयजनासम्म राखिएका छन् । 

कोभिड– ९ का कारण साउदी अरेबियामा बेरोजगार भएका नेपाली स्वदेश फर्कन नपाएको भन्दै नाराबाजीमा उत्रिएका छन् । पटकपटक स्वदेश फर्कनका लागि निवेदन दिँदा पनि रियादस्थित दूतावासले बेवास्ता गरेको भन्दै नाराबाजीमा उत्रिन बाध्य भएको पीडित श्रमिक कार्कीले बताए । उनले भने, ‘हामीले दूतावासमा धेरैपटक निवेदन गर्‍यौँ । तर, दूतावासले कम्पनीले नै प्रक्रिया अगाडि नबढाएको भन्छ । कम्पनीमा कुरा गर्‍यौ भने तिम्रो दूतावासले काम गर्दैन भन्छ ।’

विपत् पर्दा सहयोग नगरेपछि दूतावासको विरुद्धमा नाराबाजी गर्न बाध्य भएको उनीहरू बताउँछन् । गत आइतबार उनीहरूले आवासगृहमा नै नाराबाजी गरे भने सोमबार दूतावास गएर वार्ता गरे । दूतावासले आगामी १८ तारिखमा दुई सय ७० श्रमिकलाई नेपाल फर्काउने प्रतिबद्धता जनाएको उनले बताए । फर्कँदा टिकटका लागि कम्पनीले १२ सय र श्रमिकले ६ सय रियाल जहाज भाडा व्यहोर्ने निर्णय भएको उनले बताए । तर, १८ तारिख नआएसम्म के हुन्छ अझै भन्न नसकिने उनले दुखेसो गरे । 

हजार श्रमिक बेरोजगार, एकजनाले गरे आत्महत्या

सेमास्को सप्लाई कम्पनीबाट बेरोजगार भएका हजार श्रमिकमध्ये तीन सयजना नेपाली महिला रहेको उनीहरूको भनाइ छ । बेरोजगारीकै कारण काभ्रेका कृष्ण विश्वकर्माले डेढ महिनाअघि आवासगृहमा आत्महत्या गरेका थिए । ‘हामीले कम्पनी र दूतावासलाई खबर गर्‍यौँ, तर दिनभरि पनि कसैले उनको लासलाई उठाएनन् । बिहान ४ बजे आत्महत्या गरेको उनको शव बेलुका मात्रै निकालियो ।’ 

तोकेकै मितिमा फर्कन नपाउँदा आक्रोश पोखेका हुन् : महेन्द्रप्रसाद सिंह, राजदूत, साउदी अरब 

कम्पनीले ८ तारिख (मंगलबार) श्रमिकलाई नेपाल फर्काउने कुरा गरेको थियो, तर पैसा पठाउन ढिलो भयो । साउदीबाट काठमाडौंमा पैसा आइपुग्न तीन दिन लाग्छ । त्यसैले हिजोको आज नै फ्लाइट तय गर्न नसकिएको हो । आगामी १८ तारिखमा दुई सय ७० जना श्रमिक फर्कनेछन् । उनीहरू आफूले तोकेको मितिमा फर्कन नपाउँदा रिस पोखेका हुन् । कोरोनाका कारण पूरै विश्वमा लकडाउन छ । त्यसैले बेरोजगार हुनु स्वाभाविक नै हो । यस्तो वेला आजको भोलि नै सबै कुरा सम्भव छैन । आक्रोशित हुनु हुँदैनथ्यो ।