मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ भदौ २४ बुधबार ०८:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशबाट दैनिक १४ सय यात्रु ल्याउन प्रस्ताव, ८ उडान हुने

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ भदौ २४ बुधबार ०८:२८:००

विदेशबाट आउने यात्रुको संख्या ८ सयबाट १४ सय बनाउन मन्त्रिपरिषद्मा सिफारिस भएको छ । कोभिड–१९ नियन्त्रण गर्न सरकारले बनाएको उच्चस्तरीय समन्वय समिति (सिसिएमसी)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सुझाबअनुसार यस्तो प्रस्ताव गरिएको छ । यता परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले भने २ हजार पुर्‍याउन प्रस्ताव गरेका थिए । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पनि पिसिआर रिपोर्ट लिएर आउन दिनुपर्ने तथा विदेशी पर्यटकलाई खुला गर्नुपर्ने भन्दै पर्यटन मन्त्रालयले सिसिएमसीमा प्रस्ताव गरेको थियो । तर, तत्काल १४ सय ल्याउने र बिस्तारै कोटा थप्दै व्यवस्थापन गर्ने निर्णय सिसिएमसीले गरेको पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गरेका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।  

सरकारले गत १७ भदौदेखि अन्तर्राष्ट्रियतर्फको नियमित उडान खुला गरेको थियो । अहिले ८ सय कोटा तोकिएको भए पनि सेड्युलमा ५ सयकै संख्या मात्रै राखिएको छ । जसका कारण आउन चाहने हजारौँ नेपालीहरू विदेशमा अड्किएका छन् । अहिले दैनिक ४ वटा मात्रै उडान भइरहेको छ । १४ सय कोटा हुँदा दैनिक नियमिततर्फ ५ र उद्धारतर्फ ३ उडान गर्ने पर्यटन मन्त्रालयले सेड्युल तयार पारेको छ । नेपाल पर्यटन बोर्डले पनि दैनिक २५ सयभन्दा बढीलाई आउन दिनुपर्ने, पर्यटकलाई पनि खुला गर्नुपर्ने तथा एनआरएनएलाई पनि खुलाएर जानुपर्ने पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

 इत्तेहादलाई निःशुल्क टिकटमा नेपाली ल्याउन अझै अनुमति दिइएन

इत्तेहाद एयरलाइन्सले ११ सय नेपालीलाई निःशुल्क उडानमार्फत ल्याउने अनुमति अझै पाएको छैन । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो । सेप्टेम्बर ४ देखि १८ सम्म ८ वटा उडान गरेर १ हजार १ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको छ । गत भदौ १४ गते मन्त्रालयमा दूतावासले निवेदन दिएको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन । 

इत्तेहादको प्रस्तावमा अनुमति दिनका लागि अहिले कोटाले गर्दा रोकिएको सहसचिव सुरेश आचार्यले बताए । पर्यटनले १४ सयजनालाई अनुमति दिनुपर्ने गरी प्रस्ताव गरेको, तर मन्त्रिपरिषद्बाट निर्णय नआएसम्म उडान संख्या थप्न समस्या हुने भएकाले इत्तेहादको प्रस्ताव अगाडि नबढेको आचार्यले बताए । 

सिसिएमसीले जारी गरेको नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणको रिपोर्टसमेत निःशुल्क गराएर  ल्याउने प्रस्ताव गरेको छ । एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म यी चार्टर उडान गर्ने प्रस्ताव गरेको छ । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने उल्लेख गरेको छ ।

युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउने उसले बताएको छ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली ल्याउने र उक्त उडानमा कामदारबाहेक अरू कुनै पनि यात्रुलाई नल्याउने प्रस्तावमा उल्लेख गरेको छ ।