logo
२०८० चैत्र १६ शुक्रवार



श्रम गरेर खानेलाई हातमुख जोर्न समस्या

खुला |


श्रम गरेर खानेलाई हातमुख जोर्न समस्या


शिवा तामाङ

काठमाडौँ, भदौ २५ गते । बन्दाबन्दी कहिले खुल्छ ? हामी कहिलेदेखि काममा आउन मिल्छ ? भनेर आउने फोन उठाउँदैमा दिन बित्छ सिर्जना केसीको । विगत १४ वर्षदेखि बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिइरहेको ह्यान्डिक्राफ्टका सामान, आलु चिप्सलगायत स्न्याक्स बनाउने घरेलु उद्योग कोरोनाकै कारण बन्द भयो । त्यहाँ रोजगार पाइरहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिको नेतृत्व गर्नुहुने केसीलाई आग्रहका साथ फोन आउन थालेको धेरै भएको उहाँ बताउनुहुन्छ ।
ललितपुर महानगरपालिकाका तीन सय बौद्धिक अपाङ्गता भएका व्यक्तिका आमा सङ्गठित भएर बौद्धिक अपाङ्गता आमा समाज गठन गरिएको थियो । सोही समूहका उपाध्यक्ष रविलक्ष्मी दुवालले आफ्नै घरमा ठाउँ दिएर सञ्चालित उद्योगमा बौद्धिक अपाङ्गता भएका नौ जनाले रोजगारी पाएका थिए । सो आमा समूूहले आफ्ना सन्तानले काम गरेर खाने क्षमता विकास गरून् र रोजगारी सिर्जना होस् भन्ने लक्ष्यले स्थापना गरेको सो उद्योग बन्द हँुदा बेरोजगार बौद्धिक अपाङ्गता भएका व्यक्तिले काममा फर्कन फोन गरिरहेको समूहका सचिव केसीले बताउनुभयो ।
त्यस उद्योगमा बौद्धिक अपाङ्गता भएका व्यक्तिका साथै अन्य महिलाले पनि काम गर्दै आउनुभएको थियो । कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि उद्योगमा बनेका स्न्याक्स बजार गएका छैनन् । ह्यान्डिक्राफ्टका सामग्री पनि बिकेका छैनन् । “अन्य मानिसले त अहिलेको अवस्थाका बारेमा बुझेका छन् तर बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बुझाउन गाह्रो छ । साथै रोजगारी गुमेर हातमुख जोर्न मुस्किल परेकाले उनीहरू छिट्टै काममा फर्कन चाहन्छन्”, उहाँले भन्नुभयो । कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेर घर चलाउन समस्या भइरहेको सन्दर्भमा अपाङ्गता भएका व्यक्ति पनि त्यसबाट अछुतो छैनन् । अझै बढी पीडित भएका छन् ।
कोरोना महामारीका कारण काम नै बन्द भएर यस्ता व्यक्तिलाई झनै अप्ठ्यारो परेको नेपाल महिला अपाङ्ग सङ्घका अध्यक्ष टीका दाहालले बताउनुभयो । यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासङ्घले देशव्यापी रूपमा गरेको सर्वेक्षणले ५४.५ प्रतिशतको रोजगारी गुमेका कारण यति बेला खानाको समस्या रहेको उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिमध्ये ४० प्रतिशतको आम्दानीको कुनै स्रोत नभएको, ७८ प्रतिशतले कतैबाट पनि राहत नपाएको अर्थात् राहत बाँड्ने बारेमा जानकारी नै नभएको र ४५ प्रतिशतलाई दैनिक प्रयोग गर्ने सरसफाइका सामग्रीको आवश्यकता परेको सर्वेक्षणले देखाएको छ ।
अपाङ्ग सङ्घका अध्यक्ष दाहालका अनुसार मनोरञ्जनका क्षेत्रमा काम गर्ने होचा पुड्का, रेस्टुरेन्ट बारमा वेटर काम गर्ने, बाटोमा नाङ्गो पसल गर्ने, गीत गाएर बस्ने, माग्न बस्ने, धुपबत्ती, साबुन र मैन बत्ती पसल र घरघरमा सामान गई सामान बेच्ने अपाङ्गता भएका व्यक्ति लगायतलाई बन्दाबन्दीको असरले दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पु¥याएको जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?