logo
२०८० चैत्र १५ बिहीवार



नयाँ श्रम स्वीकृति लिनेको भीड

राष्ट्रिय |


नयाँ श्रम स्वीकृति लिनेको भीड


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २६ गते । उपत्यकामा निषेधाज्ञा खुकुलो हुनेबित्तिकै वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयमा नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्वीकृति दिने काम अघिल्लो साता खुलाउने निर्णय गरेको थियो । यद्यपि बिहीबारबाट उपत्यकामा जनजीवन खुुकुलो भएसँगै नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको हो ।
भीड बढे पनि श्रम कार्यालयले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गरेर सेवा दिइरहेको जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम स्वीकृति दिने निर्णय गरेको दिनदेखि लागू भए पनि निषेधाज्ञा खुकुलो भएपछि सेवा लिनेको चाप बढेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ र पुरानो श्रम स्वीकृति दिने काम जारी तर महामारीको जोखिमका कारण भीड लगाएर काम गर्नु सबैका लागि जोखिम भएकाले समस्या परेकालाई प्राथमिकतामा राखेर काम भइरहेको छ । ”
वैदेशिक रोजगार विभागले नयाँ र पुरानो श्रम स्वीकृति दिने निर्णय गरेसँगै सम्बन्धित रोजगारदाता कम्पनीले नो अब्जेक्सन लेटर दिएकालाई मात्र श्रम स्वीकृति दिने सूचना भदौ १७ गते नै जारी गरेको छ । विभागको पछिल्लो निर्णयअनुसार पहिले श्रम स्वीकृति दिने नीतिसँंगै विभिन्न तीन मापदण्डलाई आधार मानेर नयाँ तथा पुरानो श्रम स्वीकृति दिने उल्लेख छ । जसअनुसार २०७६ फागुन २९ अघि मागपत्र प्रमाणीकरण भई पूर्वस्वीकृति लिएकाको हकमा सम्बन्धित श्रम गन्तव्य मुुलुकको रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित दूतावासबाट प्रमाणित गराई अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।
त्यस्तै पूर्वस्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित देशको नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य पेस गर्नुपर्ने उल्लेखित छ । नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा पनि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी गरेको एनओसी वैदेशिक रोजगार कार्यालय ताहाचलको इमेलमा प्राप्त भएपछि मात्र श्रम स्वीकृति दिइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?