२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

उद्योगमा स्थानीय कामदारलाई अवसर

उत्तरप्रदेश र बिहारबाट ठूलो संख्यामा आउने भारतीयको साटो रुपन्देहीका उद्योगले नेपाली कामदार राख्न थाले
माधव ढुंगाना

भैरहवा — प्राविधिक सीप नभएका कामदारका लागि पनि यहाँका सिमेन्ट, स्टिललगायत उद्योग भारतीय कामदारमाथि निर्भर थिए । आफ्नै गाउँघरनजिकै सञ्चालित उद्योगमा काम गर्नुभन्दा ज्यान जोखिममा राखेर भए पनि यहाँका सर्वसाधारण रोजगारीका लागि विदेशतर्फ पलायन हुने गरेका थिए । रूपन्देहीमा औद्योगिक रोजगारीको ठूलो हिस्सा भारतीय कामदारले ओगटेका थिए ।

उद्योगमा स्थानीय कामदारलाई अवसर

कोभिड–१९ महामारी सुरु भएपछि यहाँको रोजगारीको अवस्था फेरिन थालेको छ । अहिले भारतीय कामदारको स्थान स्थानीयले लिन थालेका छन् । भारतको उत्तरप्रदेश, बिहारलगायत राज्यबाट ठूलो संख्यामा आउने भारतीयको साटो नेपाली कामदारले काम पाउन थालेका छन् । कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएर ठूलो संख्यामा नेपाली घर फर्कन बाध्य भएपछि यस क्षेत्रको रोजगारीको अवस्थामा परिवर्तन आउन थालेको हो । ‘पहिला बढी शारीरिक श्रम गर्नुपर्ने अदक्ष कामदारका लागि पनि हामी ठूलो धनराशि खर्चेर भारतीय मजदुरमाथि निर्भर हुन बाध्य थियौं,’ पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुंगानाले भने, ‘यस खालको कामका लागि अहिले स्थानीय र टाढाटाढादेखि नेपाली कामदार आउन थालेका छन् ।’

उद्योग सञ्चालनका लागि मेकानिकल एवं प्राविधिक जनशक्ति भने भारतीय नागरिकमाथि नै निर्भर हुनुपरेको उनले बताए । उनका अनुसार प्राविधिक सीप नभएका स्थानीय अदक्ष कामदार आफ्नो गाउँघर नजिकको उद्योगमा काम गर्न पहिला हिचकिचाउँथे । आफूले मजदुरी गर्ने गरेको गाउँछिमेकमा थाहा हुने र आफ्नो मानप्रतिष्ठा कम हुने भन्दै यस खालको काम गर्न तयार हुँदैनथे । बरु विदेश गए, समाजले थाहा नपाउने भन्दै ज्यान जोखिममा राखेर खाडी मुलुक र मलेसियामा पसिना बगाउन पुग्थे ।

उद्योगका लागि अनुकूल वातावरण भएकाले रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लामा औद्योगिकीकरण बढ्दो छ । विशेषगरी यस क्षेत्रमा सिमेन्ट, स्टिल, खाद्यान्न, इँटा उद्योगमा ठूलो संख्यामा अदक्ष कामदार छन् । अदक्ष कामदारसमेत नेपालमा नपाइने भएकाले व्यवसायीले अग्रिम पेस्की तिरेर ठेकेदारमार्फत भारतीय कामदार ल्याउँथे । कोरोनाका कारण चैत ११ गतेदेखि पहिलोपटक मुलुकमा लकडाउन सुरु भएपछि सम्पूर्ण उद्योग २ महिनाका लागि पूर्णरूपमा बन्द भए । यस अवधिमा अधिकांश भारतीय कामदार घर फर्केकाले उद्योग कामदारविहीन थिए ।

दुई महिनापछि सुरक्षा सतर्कता अपनाएर उद्योग सञ्चालन गर्न पाइने प्रावधान ल्याएर सरकारले उद्योग सञ्चालनमा सहजीकरण गरेको थियो । यस्तै अवस्थामा भारतीय कामदारको स्थान विदेशबाट घर फर्केका र घरमै बेरोजगार रहेका नेपालीले लिन थालेका हुन् । ‘उद्योग सञ्चालनका लागि मेकानिकललगायत प्राविधिक कामदारबाहेक अन्य कामदार सबै स्थानीय नै राखेका छौं,’ ढुंगानाले भने, ‘अब नेपाली कामदारबाट नै उद्योगधन्दा सञ्चालन गर्न सकिने संकेत देखिएको छ ।’ ११ वटा सिमेन्टसहित डेढ दर्जनभन्दा बढी उद्योग रहेको लुम्बिनी करिडोरमा मात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी झन्डै ५ हजार कामदार कार्यरत रहेको उनले बताए ।

लकडाउनका कारण माग कम भएकाले सबै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएका छैनन् । ५० देखि ६० प्रतिशत क्षमतामा मात्रै उद्योग सञ्चालनमा छन् । यसका लागि आवश्यक पर्ने करिब ३ हजार नेपाली कामदार लुम्बिनी औद्योगिक करिडोरमा मात्रै कार्यरत छन् । यसैगरी रूपन्देही, नवलपरासी र कपिलवस्तुमा गरी ११ वटा स्टिल उद्योग सञ्चालनमा छन् । सिमेन्ट उद्योगमा भन्दा स्टिल उद्योगमा अत्यधिक तापक्रम खेपेर काम गर्नुपर्ने भएकाले कामदारले कडा परिश्रम गर्नुपर्ने हुन्छ । ‘कडा मिहिनेत गर्नुपर्ने भएकाले स्टिल उद्योगमा पनि भारतीय कामदार खोज्नु पर्थ्यो,’ रूपन्देहीको मदौलियास्थित एसआर स्टिल उद्योगका सञ्चालक सुरज उप्रेतीले भने, ‘कोभिड–१९ को कारणले धेरै जना बेरोजगार र कामविहीन हुन थालेपछि अहिले कडा मिहिनेत गर्नुपर्ने कामका लागि पनि नेपाली कामदार आउन थालेका छन् ।’ एउटा स्टिल उद्योगमा ३ सयदेखि ४ सय जनासम्म कामदार आवश्यक पर्ने भए पनि अहिले भने सबै स्टिल उद्योग ५० प्रतिशत क्षमतामा चलेकाले यसका लागि कामदार पनि आधा संख्यामा मात्रै राखेको उनले बताए ।

रूपन्देहीका सिमेन्ट र स्टिल उद्योगमा यतिबेला धकधही, मर्चवार, सूर्यपुरा र लुम्बिनी क्षेत्रबाट स्थानीय कामदार आउन थालेका हुन् । यसबाहेक पाल्पा, डडेलधुरा, भोजपुर, धनगढीलगायत स्थानबाट पनि कामदार आउन थालेको व्यवसायीले बताए । ‘भारतको हिमाचल क्षेत्रमा स्याउ टिप्न जाने र कोइलाखानीमा काम गर्न जाने गरेका नेपाली कामदार यतिबेला कामको खोजीमा यता आउन थालेका छन्,’ लुम्बिनी करिडोरस्थित जगदम्बा सेन्थेटिक्स उद्योगका व्यवस्थापक रतन आचार्यले भने, ‘नेपालको पहाडी क्षेत्रका कामदार अझ मिहिनेती देखिएका छन् ।’ उनका अनुसार नेपालमा उद्योग सञ्चालनमा आउन थालेपछि पहिला काम गरेका भारतीय कामदार पनि आउन इच्छुक देखिएको तर तीव्र गतिमा भारतमा कोरोनाको संक्रमण बढेकाले नेपाली व्यवसायीले यतिबेला नेपाली कामदारलाई नै बढी प्राथमिकता दिन थालेका छन् ।

घरबाटै आउजाउ गर्ने गरेका नेपाली कामदारलाई कोरोना संक्रमणको सुरक्षा अपनाउँदै कारखानामै राखेर काम गराउन थालिएको र नेपाली कामदारले पनि मेसिन चलाउन सिक्न थालेको बृज सिमेन्टका महाप्रबन्धक रविरञ्जन गुप्ताले जानकारी दिए । यस क्षेत्रको ठूलो उद्योग अर्घाखाँची सिमेन्टले पनि उद्योग परिसर रहेको सियारी गाउँपालिका र लुम्बिनी क्षेत्रबाट स्थानीय कामदार ल्याएर उद्योग सञ्चालन गरिरहेको बताएको छ । सियारी गाउँपालिका क्षेत्रमा बेरोजगार युवालाई काममा लगाउनका लागि गाउँपालिका अध्यक्षसँग सम्पर्कर् गरी विवरण लिने काम भइरहेको उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्कीले जनाए ।

प्रकाशित : भाद्र २७, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?