कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

संसदीय समितिलाई राजदूतहरूको आग्रह- नेपाल फर्किने हजारौं छन्, उडान थपिदिनुपर्‍यो

काठमाडौँ — वैदेशिक रोजगारी र अन्य कामले विदेश गएर कोरोना भाइरसको संक्रमण (कोभिड- १९) का कारण अन्तर्राष्ट्रिय हवाइ उडान नहुँदा उतै रोकिएका नेपालीलाई स्वदेश फर्काउन नियमित उडान संख्या थप्‍नुपर्ने सम्बन्धित देशका लागि नेपाली राजदूतहरुले बताएका छन् ।

संसदीय समितिलाई राजदूतहरूको आग्रह- नेपाल फर्किने हजारौं छन्, उडान थपिदिनुपर्‍यो

केही मुलुकमा उद्धार उडान पनि गर्नुपर्ने अवस्था रहेको राजदूतहरूको भनाइ छ ।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौं नेपाली स्वदेश फर्किन तयार रहेकाले उडानको संख्या बढाउनका लागि पहल गरिदिन राजदूतहरूले संसदीय समितिलाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसँगको भर्चुअल बैठकमा मलेसिया, खाडी लगायत श्रम गन्तव्य मुलुकका राजदूतहरूले उक्त आग्रह गरेका हुन् ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजारले फर्किनका लागि दूतावासमा नाम दर्ता गराएको बताए । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरूको भिसा अवधि सकिने गरेकाले पनि त्यो संख्या थपिँदै आएको उनले जानकारी दिए । दसैं र तिहारको समय नजिकिँदै गर्दा पनि त्यो संख्या बढ्ने भएकाले प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाइ थियो ।

परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उक्त कुराको जानकारी गराएको बताउँदै राजदूत पाण्डेले समितिलाई पनि उक्त विषयमा मन्त्रालयसँग छलफल गरिदिन आग्रह गरेका थिए ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले राजदूतावासमा स्वदेश फर्किनका लागि भनेर नाम दर्ता गराउनेको संख्या ९ हजार २ सय भन्दा बढी रहेको बताए । कतारमा भने त्यसरी स्वदेश फर्किन चाहनेको संख्या २० हजारभन्दा बढी रहेको राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए ।

कोरोनाका कारण रोजगारी गुमाएकालाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुने उनको भनाइ थियो । '२० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका छन्,' उनले भने, 'अझै प्रतिदिन १ सय ५० भन्दा बढीले नाम दर्ता गराइरहनुभएको छ ।' कतारका लागि दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार भन्दा बढी र दसैं-तिहारमा घर फर्किन चाहनेहरू समस्यामा पर्ने उनको भनाइ थियो ।

साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजारलाई मात्रै पठाउन सकिएको बताए । उडान थपिदिन सरकारका सम्बन्धित निकायसँग कुरा गरेपनि समन्वय हुन नसक्दा समस्या थपिएको उनको भनाइ थियो ।

मलेसियाका लागि नेपाली राजदूत पाण्डेले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको भन्दै परिमार्जन गर्न संसदीय समितिलाई आग्रह गरेका थिए । उनले अव्यवहारिक निर्देशिकाका कारण विदेशी भूमिमा समस्यामा परेका नागरिक घर फर्कन नपाएको बताए ।

प्रकाशित : आश्विन ५, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?