फुत्किएर टर्‍यो सम्भावित ‘बलि’

फुत्किएर टर्‍यो सम्भावित ‘बलि’

विराटनगर : लेटाङ —३ मोरङकी मनिका ढकाल सुनसरी रामधुनी–५ झुम्कामा डेरा गरेर बस्छिन्। त्यहीँ नजिक घर भएकी १७ वर्षे एक किशोरीलाई आइतबार बिहान उनले विराटनगर पूजामा जान फकाइन्। उनकी आमासँग अनुमति लिइन्। पूजामा कन्या चाहिने र टीका लगाएर ५ हजार रुपैयाँसमेत दिन्छन् भनेपछि आमाले आनाकानी गरिनन्। 

विराटनगरमा सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल थपिए। उनीहरूले इस्लामपुर नाका हुँदै भारत छिराएको उनले पत्तै पाइनन्। इस्लामपुर–जोगबनी हुँदै ट्याम्पोमा २० किलोमिटर टाढा फारबिसगन्ज पुर्‍याए। 

त्यहाँबाट बसमा राखेर ४८ किलोमिटर दूरीको सिम्राहीसम्म लगे। त्यहाँ उत्रिएपछि ‘हाम्रा मान्छे आएनन्’ भन्ने गफ गरेको उनले सुनिन्। साइनबोर्डहरू हेर्दा भारत रहेको पनि पत्तो पाइन्। र, किशोरीले नयाँ जुक्ति फुराइन्। 

उनीहरूको आँखा छलेर फारबिसगन्ज आउने बस चढिन्। कुद्दै गरेको बस रोकेर ती तीनै जना त्यसमै चढे। बाटाभरि केही हुँदैन, जानुपर्छ भन्दै फकाए। उनले मानिनन्। जब फारबिसगन्ज बस आइपुग्यो, हतार–हतार हाम्फालिन्। रिजर्भको टेम्पो चढेर तुरुन्तै जोगबनीतिर फर्किइन्। अर्को टेम्पोमा उनीहरूले पछ्याए। साँझ जोगबनी आइपुगेकी उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले सोधीखोजी गरे र संरक्षणमा राखे। सँगै आइपुगेकी मनिकालाई पनि राखे। बाँकी दुई जना भने भाग्न सफल भए। प्रहरीले दुवै युवतीलाई भने पीडित ठानेको थियो। 

भोलिपल्ट किशोरीको बयानबाट मनिका पनि मतियार रहेको खुल्यो। र, प्रहरीले मनिकालाई सुमित र प्रदीपलाई फोन गरेर ‘उता जान प्रहरीले दिने भयो, उनी पनि राजी भइन्’ भन्न लगायो। दुवै जना मक्ख परेर त्यहाँ आइपुगे र प्रहरीले पक्राउ गर्‍यो। मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सुमित घटनाका मुख्य योजनाकार र प्रदीप उनका सहयोगी रहेको खुलेको छ। उनीहरूले तीन–चार लाख दिने भन्दै मनिकालाई किशोरी ल्याउन खेताला बनाएका थिए। 

१२ लाखमा ‘डिल’

प्रहरीका अनुसार सुमितका भिनाजु रनधीर मण्डल भारतको सहरसामा बस्छन्। रणधीर र उनका भाइ वीरेन्द्र मण्डलले आफूलाई किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएको सुमितले प्रहरीलाई बयान दिएका छन्। ‘सिम्राही पुर्‍याएपछि भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘तर किशोरी भागेपछि उनीहरू आफ्नो योजनाबाट असफल भएको देखिन्छ।’ सुमितले तीन÷चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले बताएकी छन्। 

एसपी खड्काले ठूलो रकमको ‘डिल’ भएर किशोरीलाई भारत पुर्‍याउन खोजिएको सूचना आएपछि घटनालाई गम्भीर रूपमा लिइएको बताए। प्रहरी स्रोतले यति ठूलो रकम र पूजाको विवरण विश्लेषण गर्दा ‘बलि’ दिन लगिएको हुन सक्ने अनुमान गरेको छ। भारतमा यस्तो अन्धविश्वास व्याप्त छ। 

आइतबार बिहान ७ बजे घरबाट लगिएकी छोरी साँझसम्म नआएपछि परिवारले खोजी सुरु गरेको थियो। ‘विराटनगर ल्याएको भन्दै मलाई भारत पुर्‍याएको थाहा पाएपछि गाडीबाट 
हाम्फालेर भागें,’ ती किशोरीले अन्नपूर्णसँग भनिन्, ‘त्यस क्रममा धेरै फकाउने काम गरे पनि मैले नमानेपछि उनीहरू पछिपछि आए।’ बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरू व्यक्तिसँग फोनमा कुरा गरेको थाहा पाएपछि आफू गाडीबाट हाम्फालेको किशोरीले बताएकी छन्। मनिकाले बाटामा नाप्ने टेप किनेर किशोरीले उचाइसमेत नापेकी थिइन्। ‘पूजामा बस्न ५.२ फिट उचाइ भएकी केटी चाहिन्छ भन्दै नापेकी थिइन्,’ उनले भनिन्, ‘रजस्वला भए÷नभएबारे पनि सोधिखोजी गरिन्।’ बिहारका कतिपय गाउँमा यस्तो अन्धविश्वास छ, निश्चित 
उचाइ र हुलिया भएकी किशोरी खोजेर बलि दिइन्छ। धनाढ्यले त्यसका लागि ठूलो मात्रामा खर्च गर्छन्। त्यही आधारमा प्रहरीले सम्भावित ‘बलि’ को अनुमान गरेको हो। 

मनिकाले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्ने र डराउन नहुने भन्दै सिकाएको पनि उनले बताइन्। एसपी खड्काले घटनामा संलग्नहरूको अरू ‘कनेक्सन’ खोतल्न थालिएको बताए। ‘घटनाको प्रकृति हेर्दा यसमा अरूको पनि संलग्नता हुन सक्छ,’ उनले भने। उनले पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.