आँट गरेर भाग्दा बेचिनबाट जोगिइन्

गिरोहको योजना असफल, तीन जना पक्राउ
जितेन्द्र साह

विराटनगर — आफूलाई बेच्न लगेको थाहा पाएपछि आँट गरेर एक १७ वर्षीया किशोरीले गुडिरहेको अटोरिक्साबाट हाम फालेर ज्यान जोगाएकी छन् । पूजामा सहभागी भएबापत ५ हजार रुपैयाँ दक्षिणा र नयाँ मोबाइल पाउने प्रलोभन देखाई उनलाई भारत लगेर बेच्न खोजिएको प्रहरीले जनाएको छ । सो योजनामा संलग्न एक युवतीसहित तीन जना पक्राउ परेका छन् ।

आँट गरेर भाग्दा बेचिनबाट जोगिइन्

बलि दिन, मानव अंगको तस्करी वा देह व्यापारका सञ्जाललाई बेच्न लगेको कोणबाट उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–५ शान्ति टोलमा डेरा गरी बस्दै आएकी मोरङको लेटाङ नगरपालिका–३ ऐश्वर्य टोलकी २२ वर्षीया मनिका ढकाल, सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझाउका २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तोपाका २० वर्षीय प्रदीपकुमार मण्डल छन् । तीनै जनाविरुद्ध मंगलबार मोरङ जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुरूप म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पीडितको जाहेरीअनुसार भारतसम्म संलग्नको खोजी जारी रहेको एसपी खड्काले बताए ।

नेपाल–भारत सीमास्थित विराटनगर–१७ इस्लामपुरबाट एक गैरसरकारी संस्था ‘साना हातहरू’ नेपालको सहयोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाको मुख्य योजनाकार सुमित भएको तथा उनैले साथी प्रदीपकुमार र फेसबुकमार्फत मित्र बनेकी मनिकालाई प्रयोग गरेको एसपी खड्काले बताए । सुमितले प्रहरीमा दिएको बयानअनुसार मानव बेचबिखनको यो अपराधमा भारत विहारको सहरसा जिल्लास्थित झिटकैयामा निर्माण ठेक्का व्यवसाय गर्ने उनका भिनाजु रन्धीर मण्डल र भिनाजुकै भाइ वीरेन्द्रको समेत संलग्नता रहेको छ । फारबिसगन्ज पुर्‍याएर ती किशोरीलाई भिनाजु र उनका भाइको जिम्मा लगाउने योजना रहे पनि बीचमै उनीहरूबीच मोबाइल सम्पर्क विच्छेद भएको सुमितले बयानमा भनेका छन् ।

फारबिसगन्ज पुगेपछि आफूलाई बेच्न लागेको पक्कापक्की भएपछि ती किशोरी रुँदै उक्त अटोबाट ओर्लेर नेपालतर्फ फर्कन लाग्दा सुमित र मनिका पनि सम्झाउँदै पछिपछि आएको प्रहरीले जनाएको छ । आमासँग सोधेर दुई घण्टाका लागि विराटनगर आए पनि साँझ भइसकेको हुनाले आफू त्यतिबेला निकै डर र चिन्तामा रहेको किशोरीले प्रहरीलाई बताएकी छन् । एक दिन विराटनगरमा बस्ने र अर्को दिन पुन: फारबिसगन्ज पुर्‍याउने योजनासहित सुमित र मनिकाले जबर्जस्ती एउटा टेम्पोमा ती किशोरीलाई चढाएका थिए । आफूहरूलाई लिन उनीहरूले विराटनगरमै रहेका सहयोगी प्रदीपकुमारलाई सीमामा बोलाएका थिए । तर, विराटनगर–जोगवनी सीमा नजिक आउने क्रममा नेपाल प्रहरीलाई देखेपछि घर पुगिन्छ भन्ने आफूमा आँट आएको र अटोरिक्साबाट हाम फालेर प्रहरी र साना हातहरू संस्थाको सम्पर्कमा पुगेको किशोरीले प्रहरीसँगको बयानमा भनेकी छन् ।


प्रकाशित : आश्विन ७, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?