logo
२०८० चैत्र १६ शुक्रवार



मलेसियामा कार्यस्थलमा मृत्यु भए हकदारलाई तलब

नेपालसँग समझदारीको तयारी

खुला |


मलेसियामा कार्यस्थलमा मृत्यु भए हकदारलाई तलब


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ८ गते । मलेसियामा काम गर्ने विदेशी श्रमिक काम गरेकै बेला कार्य समयमै ज्यान गुमाए मृतकका परिवार वा आफन्तले आजीवन तलब पाउने भएका छन् । श्रमिकको सामाजिक सुरक्षाका लागि भएको यो व्यवस्थाअनुसार ‘ड्युटी आवर’मा श्रमिकले ज्यान गुमाए परिवारजन (आमा, बुवा, श्रीमती र २१ वर्ष नपुगेका छोराछोरी मात्र)ले मासिक तलबको ९० प्रतिशत रकम मासिक आजीवन पाउने भएका हुन् ।
मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गत स्थापना भएको एसओसीएसओले रोजगारदाताले मासिक रूपमा गर्ने योगदानमा आधारमा विदेशी श्रमिकलाई सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको छ । मलेसियाले सन् २०२० जनवरीदेखि यो सम्पूर्ण विदेशी श्रमिकका लागि लागू हुनेगरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । मलेसियाले अगस्ट २०१९ सम्म एक लाख २५ हजार श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको जानकारी दिइएको छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले काम गर्ने क्रममा घाइते र अङ्गभङ्ग भएमा पनि एसओसीएसओले सामाजिक सुरक्षाको व्यवस्था गरेको जानकारी दिनुभयो । कोषमा आबद्ध भएका श्रमिकको हकमा करार अवधिभित्र श्रमिक बिरामी भएमा उसको उपचारबापतको खर्च एसओसीएसओले बेहोर्ने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो । यो सुविधाका लागि रोजगारदाता कम्पनीले विदेशी श्रमिकलाई दिने गरेको मासिक तलबको १.२५ प्रतिशत एसओसीएसओमा जम्मा गर्नुपर्नेछ ।
उहाँका अनुसार दुर्घटनामा परी केही समयका लागि काम गर्न नसक्ने (टेम्पोररी डिजाबेलमेन्ट) भएमा आर्थिक सहायता (टेम्पोररी डिजाबेलमेन्ट बेनिफिट) र आजीवन काम गर्न नसक्ने भएमा आजीवन पर्मानेन्ट डिजाबेलमेन्ट बेनिफिट प्राप्त गर्ने पनि व्यवस्था छ ।
मृतकको दाहसंस्कार मलेसियामै हुनेका हकमा आफन्तले दुई हजार मलेसियन रिङ्गिटसम्म खर्च पाउने र नेपाल ल्याउनु परे छ हजार पाँच सय मलेसियन रिङ्गिटसम्म उद्धार खर्च पाउने व्यवस्था छ । सामाजिक सुरक्षाको यो व्यवस्था कार्यान्वयनको सहजीकरणका लागि एसओसीएसओले समझदारी पत्रमा हस्ताक्षर गर्न नेपाललाई प्रस्ताव गरेको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले मलेसिया आफैँले प्रस्ताव गर्नु नेपाल र नेपाली श्रमिकको हितमा हुने भएकाले राम्रो भएको बताउनुभयो ।

हस्ताक्षर गर्न नीतिगत तयारी
बोर्डको सचिवालयले समझदारी पत्रमा हस्ताक्षर गर्न नीतिगत निर्णय गरेर मन्त्रालयसँग अनुमति मागेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मलेसियाले पाकिस्तान र इन्डोनेसियासँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । ”
श्रेष्ठका अनुसार पीडित श्रमिक परिवारको विवरण प्रमाणीकरण सम्पर्क र समन्वय गरी सीधै क्षतिपूर्ति उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर आवश्यक हुने र त्यहीअनुसार मलेसिया सरकारले विभिन्न देशसँग सम्झौता गरिरहेको छ ।
मलेसियाका तीनवटा कम्पनी टप ग्लोब, हार्टालेगा र कोसानले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई कुनै पनि प्रकारको शोषणमा पर्न नदिन आफूहरू सजग रहेको र सोहीअनुरूपको पूर्वसतर्कता अपनाइएको बताएका छन् । पछिल्लो समयमा यी तीनवटै कम्पनीले आप्रवासी श्रमिकको भर्नामा शून्य लागतको नीति अवलम्बन गरिएको बताउँदै आएका छन् ।
मलेसिया सरकारले पछिल्लोपटक नेपाल र बङ्गलादेशसँग एमओसीका लागि प्रस्ताव गरेको छ । यसअघि सन् २०१९ मा मलेसियाले इन्डोनेसिया र पाकिस्तानसँग समझदारी (एमओसी) गरिसकेको छ । प्रस्तावित एमओसीउपर मलेसियाली दूतावासबाट सकारात्मक राय प्राप्त हुन आएको जनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा झन्डै पाँच लाख नेपाली श्रमिक कार्यरत छन् । श्रमिक सङ्ख्या धेरै भएको देश मलेसियामा औसतमा दैनिक एक जनाको मृत्यु हुने गरेको छ । यो योजनामा आबद्ध भएका श्रमिकको यदि कुनै दुर्घटनाबाट मृत्यु भएको खण्डमा आर्थिक रूपमा धेरै राहत हुने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?