लेबनानबाट एक लाखसम्म जरिवाना तिरेर फर्कंदै श्रमिक

साउन दोस्रो साताको विस्फोट घटनापछि आर्थिक र राजनीतिक संकटले गाँजिएको लेबनान बाहिरका कामदारलाई रोजगारी दिन नसक्ने अवस्थामा पुगेको छ । सरकारले श्रमस्वीकृति नदिए पनि गैरकानुनी हैसियतमा रोकिएका नेपाली अब त्यहाँबाट बाहिर निस्कँदै छन् ।
होम कार्की

काठमाडौँ — झापाकी कुमारी भुजेललाई सदाका लागि लेबनान छाड्न मन थिएन । बुधबार बेरुत–रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पार गरेपछि त्यहाँ १० वर्षसम्म बिताएका पलहरूले उनलाई निकै बेर पछ्याइरहे ।

लेबनानबाट एक लाखसम्म जरिवाना तिरेर फर्कंदै श्रमिक

सन् २००९ मा उनी घरेलु श्रमिकका रूपमा लेबनान पुगेकी थिइन् । ‘दुई वर्षका लागि भनेर लेबनान आएकी थिएँ । २ सय ५० डलर तलब पाएँ । नेपालमा एक रुपैयाँ कमाउन सकेको थिइनँ । यहाँ आएपछि हरेक महिनाजसो २९ हजार रुपैयाँ पठाउन सक्ने भएँ । यसैले मेरो परिवार चलेको थियो,’ कतार एयरवेज चढ्नुअघि विमानस्थलबाट उनले फोनमा भनिन्, ‘स्वदेश फिर्ता मेरो रहर नभएर बाध्यता बन्यो ।’

काम र भाषा सिक्दै गएपछि उनले महिनाको ६ सय डलर (झन्डै ७१ हजार) रुपैयाँसम्म आम्दानी गर्न थालेकी थिइन् । ‘मैले लेबनानमा दुःख पनि पाएँ । दुःखसँगै आफ्नै खुट्टामा उभिन सकें । यति भईकन पनि परिवारसँग १० वर्षसम्म बिछोड भइराख्नुपर्ने सानो कुरा थिएन,’ उनले भनिन्, ‘सरकारले घरमा काम गर्नेलाई हेरेन । समस्या छ भनेर बन्द मात्रै गरिदियो । जसले मेरो आउजाउ नै रोकिदियो ।’

उनी जाने बेलासम्म सरकारले श्रमस्वीकृति नै दिइरहेको थियो । त्यसपछिका वर्षहरूमा भने श्रमस्वीकृतिमा प्रतिबन्ध लगाइदियो । जसले नेपाल आएर फेरि लेबनान फर्किने बाटो बन्द भइदियो ।

लेबनानमा पुरानो रोजगारदातासँग कुरा मिलेन । नयाँ रोजगारदाता फेर्न नेपालमै आएपछि मात्रै सम्भव हुन्थ्यो । जुन असम्भव भइदियो । पुरानो रोजगारदातालाई उनले छाडिन् । त्यसपछि गैरकानुनी हैसियतमा ९ वर्ष बिताइन् । ‘लेबनानमा डलर संकट नभइदिएको भए म स्वदेश फिर्नेवाला थिइनँ,’ उनले भनिन् ।

पछिल्लो वर्ष आर्थिक संकटमा फसेको लेबनानमा कोभिड महामारीले झन् आर्थिक संकट गहिरिँदै गयो । धेरै रोजगारीका ढोका बन्द भए । बाहिरबाट काम गर्न पुगेकाहरू फर्किए । रोजगारी नपाएर कोठामा सुतेर बसेका ३९ जना नेपाली घरेलु श्रमिकलाई बुधबार लेवनानबाट नेपाल उडेका छन् । उनीहरू बिहीबार काठमाडौंमा आइपुग्नेछन् ।

लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले अनाभिलेखबद्ध श्रमिकलाई जरिवाना तिरेर कतार एयरमार्फत स्वदेश पठाउन सुरु गरेको जनाएको छ । ‘कोभिड महामारीभन्दा अगाडि नै आउन इच्छुक भई अनुमति प्राप्त गरेकालाई अधिकतमसम्म जरिवानामा छुट दिने व्यवस्था मिलाइएको छ । कोभिडपछि भने कसैले जरिवाना तिर्नुपरेन,’ नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीले भने, ‘पहिला नै जरिवाना तिरिसकेर स्वदेश आउने प्रक्रियामा रहेकाहरू विमान बन्द भएपछि रोकिएका थिए । कोभिडपछि स्वदेश फिर्ने पेपर बनाउँदा लेवनानको सरकारले मिनाहा गरिदियो ।’

जरिवानाबाहेक घर फिर्ती टिकट पनि श्रमिक आफैंले तिरेका हुन् । ‘मैले जरिवानाबापत ८ सय डलर र टिकटबापत ५ डलर गरी बुझाएँ,’ भुजेलले भनिन् । सरकारले श्रमस्वीकृतिको म्याद भएकालाई मात्रै टिकटको खर्च बेहोर्ने नीति छ । वैदेशिक रोजगार बोर्डका अनुसार श्रम स्वीकृतिको म्यादभित्र रहेकालाई रोजगारदाताले टिकट बेहोर्न नसक्ने प्रमाणित भएमा मात्रै टिकटको खर्च व्यहोरिनेछ ।

प्रवक्ता बिडारीले लामो समयसम्म अनाभिलेख (गैरकानुनी रूपमा बसेको) भएकाले टिकट उपलब्ध गराउन नसकिएको बताए ।

‘लेबनानमा आर्थिक संकट भएदेखि हामी कामविहीन भएका थियौं । चैत अगाडि नै घर आउन खोजेका थियौं । पछिल्लो ६ महिना कतै काम नै पाइएको थिएन । बेरोजगारीको अवस्थामा पनि आफैंले स्रोत जुटाएर टिकट व्यहोर्नु परेको हो,’ १० वर्षसम्म बसेकी नेपालगन्जकी इन्द्र शाहीले बताइन् ।

आर्थिक संकटले धेरै रोजगारदाताले तलब दिन नसक्ने भएपछि कोभिडपूर्व नै धेरै नेपाली महिलाहरूले लेवनान छाडिसकेका थिए । ‘म आउँदा लेबनानमा १२ हजार जति दिदीबहिनीहरू थिए । लेबनानमा श्रमस्वीकृति दिन बन्द गरेपछि नयाँ दिदीबहिनी आउन पाएनन् । पुरानाहरू पनि बिस्तारै फर्किन थाले । अहिले जति छन्, ती सबै ९/१० वर्ष अगाडिदेखि राम्रो घरमा भएकाहरू मात्रै छन्,’ इटहरीकी कुमारी लिम्बूले भनिन्, ‘अहिले मुस्किलले १२ सयभन्दा बढी भेटिँदैनन् ।’

९ वर्षपछि लेबनान छाडेकी लिम्बूले डलर सटही नहुँदा नेपालमा पैसा पठाउनसमेत नसकेको बताइन् । ‘यहाँका मालिकहरू काममा लगाएपछि हामीलाई डलरमा तलब दिन नै सक्तैनन् । आठ महिना डलरको अनुहार नै देख्न पाइएन । हामीले पहिला डलरमै तलब पाउँथ्यौं । उनीहरूले लेबनानी मुद्रा दिन्छन् । त्यो लेबनानी मुद्रा हामीलाई काम छैन । यो खोस्टो बराबरकै छ । नेपालमा पैसा पठाउन जाँदा मनि ट्रान्सफरले लेबनानी मुद्रा लिँदैनन् । हामीले सटही गर्न सक्दैनौं,’ उनले भनिन्, ‘लेबनानी पैसाले चामल, तरकारी किन्न मात्रै चल्छ । चामल र तरकारी किनेर खानका लागि यहाँ किन बस्नुपर्‍यो र ? अब लेबनानमा पहिलाजस्तो नेपालीको भविष्य नै छैन ।’

गत साउन २० मा राजधानी बेरुतमा शक्तिशाली विस्फोटको घटनापछि लेबनान आर्थिक र राजनीतिक संकटमा फसेको छ । विस्फोटमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो भने ६ हजार जना घाइते भएका थिए । ३ लाख घरविहीन हुनुका साथै झन्डै १५ विलियन डलरको नोक्सानी पुगेको थियो ।

उक्त घटनापछि बाँकी रहेका नेपालीहरू पनि स्वदेश फर्कने योजना बनाउन थालेका हुन् । सरकारले लेबनानबाट नेपाली ल्याउने प्रबन्ध नमिलाएको भन्दै घरेलु श्रमिकले बेरुतस्थित अवैतनिक महावाणिज्यदूतको कार्यालयमा धर्ना दिएका थिए । दूतावासले स्वदेश फिर्न चाहने नेपालीलाई फर्काउने प्रक्रिया सुरु भएको जनाएको छ ।


प्रकाशित : आश्विन १, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?