१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काम खोज्दै तनावग्रस्त लद्दाखमा नेपाली

सडक निर्माण र भारतीय सेनाको बन्दोबस्तीका सामान बोक्दा राम्रो आम्दानी हुने भएकाले आकर्षण
‘सरकारलाई भनिदिनू हामी कामको खोजीमा भारत पस्यौं, भोकै मर्न घरमा धेरै बस्न सकेनौं’
मोहन बुढाऐर

धनगढी — भारत र चीनबीचको सीमा विवादका कारण लद्दाख तनावग्रस्त क्षेत्र मानिन्छ । पछिल्लो समय त्यहाँ दुई देशका सैनिकबीच भिडन्त भएको खबर पनि आउने गरेको छ । तर, कामको खोजीमा त्यही तनावग्रस्त क्षेत्रमा पुग्ने नेपालीहरूको संख्या भने बढिरहेको छ ।

काम खोज्दै तनावग्रस्त लद्दाखमा नेपाली

कैलालीको गौरीफन्टा नाकामा बुधबार १५/१६ जना युवाको समूह सीमा पार गर्ने क्रममा थियो । उनीहरू कामको खोजीमा लद्दाख जाँदै थिए । भारतको सीमा सडक निर्माण कम्पनीका प्रतिनिधि गाडी लिएरै सीमाक्षेत्रमा पुगेको उनीहरूले बताए । भारत–चीन सीमामा सडक निर्माण र त्यहा तैनाथ भारतीय सेनाका लागि रासनलगायतका सामान बोक्ने भरियाको काम गर्न नेपालीहरू लद्दाख जान लागेका हुन । यतिबेला भारत सरकारले लद्दाखसँग जोडिएको चीनको सीमासम्म सडक निर्माणलाई तीव्र पारेको छ । चार महिनायता चीनसँगको सीमा तनाव बढेपछि भारतले लद्दाख सीमाक्षेत्रमा ठूला संख्यामा सेना परिचालन गरेको छ । भारतीय सेना १५ हजार फिटभन्दा अग्ला पहाडी क्षेत्रमा तैनाथ गरिएका छन् ।

भारतका अन्य ठाउँभन्दा लद्दाख क्षेत्रमा सडक निर्माण वा सेनाको बन्दोबस्तीका सामान बोक्न राम्रो आम्दानी हुने भएकाले त्यतै जान लागेको कैलालीको टीकापुरका जगत चौधरीले बताए । ‘लद्दाखका अग्ला पहाडमा हिउँ पर्न सुरु भइसकेको छ,’ चौधरीले भने, ‘हिउँदमा पनि बोर्डरमा सडक निर्माणको काम चलिरहने भएकाले त्यहाॅ जति पनि मजदुर चाहिएको छ ।’ उनका अनुसार मौसमी कठिनाइ र भरियाको काम भारतीय मजदुरले नसक्ने भएकाले नेपाली कामदारको माग बढेको छ । ‘पैसा राम्रो पाएपछि नेपाली जुनसुकै कठिन काम पनि गर्न मञ्जुर हुन्छन्,’ उनले भने, ‘पाकिस्तान बोर्डर कश्मीरसँगै चीनसँगको सीमाक्षेत्र लेह र लद्दाखलगायतका ठाउँमा पहिलादेखि नैं नेपाली कामदारहरू विभिन्न खाले कामका लागि पुग्ने गरेका छन् ।’

चौधरी उताबाट मजदुर खोज्न केही दिन अघि मात्रै टीकापुरस्थित घर फर्केका हुन् । आफ्नै आग्रहमा ३५ जना नेपाली मजदुर लद्दाख पुगिसकेको उनले बताए ।

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिया नाकाबाट ठेकेदार कम्पनीले ५ सयभन्दा बढी नेपाली लद्दाख लगिसकेको छ । भदौ २६ गते रोल्पाका १२ जना नेपाली भारत पाकिस्तान सीमाको अर्को तनावग्रस्त क्षेत्र कारगिलमा गएका थिए ।

भारतका अन्य सहरमा होटल र चौकीदारीमा अहिले काम पाउन मुस्किल भएकाले जोखिम मोलेर तनावग्रस्त क्षेत्रमै जान लागेको रोल्पाकै दिलबहादुर घर्तीले बताए । ‘घरमा खाली बसेर के गर्ने ?’ उनले भने, ‘यतिबेला भारतका अन्य सहरमा होटल कलकारखाना र चौकीदार जस्तो काम पनि कमैं पाइन्छ । त्यसैले जोखिम मोलेर उतै जान लागेका हौं ।’

टीकापुरका हर्कबहादुर परियारलगायतको २५ जनाको समूह भारतको अल्मोडा चौखुट्टेमा सडक निर्माणकै कामका लागि जान लागेका थिए । हर्कबहादुरले स्वदेशमा कुनै पनि खालको रोजगारी नपाएर भारत जानुपर्ने बाध्यता रहेको बताए । ‘सरकारलाई भनिदिनु हामी कामको खोजीमा भारत पस्यौं, भोकैं मर्न घरमा धेरै बस्न सकेनौं,’ भारत उत्तराखण्डको गडवाल जान लागेका बर्दिया बबईका अर्जुन नेपालीले भने । उनले भारतको कठिन भूगोल र मौसममा काम गर्नु रहर नभएर बाध्यता भएको बताए ।

गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र कुँवरका अनुसार भदौ १० यता बिहीबार बिहानसम्म ९ हजार ६ सय १७ नेपाली कामको खोजीमा भारत पसेका छन् । हिमाचल, पन्जाब कश्मीर, पाकिस्तान बोर्डर कारगिल र उत्तरप्रदेशमा खेतीपातीका लागि जानेको सख्या धेरै रहेको उनले बताए ।

प्रकाशित : आश्विन २, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?