१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

भारत लैजाँदै गरिएका दुई युवतीको उद्धार

प्रदीप मेन्याङ्बो

सुनसरी — ‘बाबा’ को दर्शन गराउने भन्दै ‘बलि दिन’ युवतीहरूलाई फकाएर भारत लैजाँदै गरेको भन्दै प्रहरीले बुधबार दुई जनालाई सुनसरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको लहान नगरपालिका–१९ का ३२ वर्षीय विवशकुमार साह र सप्तरीकै कृष्णश्रवण गाउँपालिका–४ का २९ वर्षीय मोहमद साहिल अन्सारी छन् ।

भारत लैजाँदै गरेको अवस्थामा सप्तरी दौलतपुरकी १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ की २२ वर्षीया सूचीकला चौधरीको उद्धार गरिएको भन्टाबारीस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) का प्रहरी निरीक्षक भुवन खड्काले बताए । ‘भारतको एक मन्दिरमा बाबाले गर्ने पूजामा बलि दिन लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको हो,’ खड्काले भने, ‘फकाएर लैजाँदै गरेका दुई जना युवकलाई पक्राउ गरिएको छ ।’

युवतीहरूलाई लिएर सुनसरीको कोसी गाउँपालिका–८ पूर्वीटोल हुँदै भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ तर्फ जान लागेको अवस्थामा दुवै देशका सुरक्षाकर्मीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको खड्काले बताए । योजनाकारसमेत रहेका उक्त गिरोहका नाइके मन्सुरी रहेको प्रहरीले जनाएको छ । सीमामा दुवै देशका सुरक्षाकर्मीले सोधपुछ गर्दा साह र मन्सुरीले भारतको एक मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउन युवतीलाई लैजान लागेको बयान दिएका छन् ।

शंका लागेपछि प्रारम्भिक अनुसन्धान गर्दा दुवै युवतीलाई विभिन्न प्रलोभन देखाएर बलि दिन लैजाँदै गरेको रहस्य खुलेको खड्काले दाबी गरे । धार्मिक अन्धविश्वासका कारण भारतमा मानव बलि दिने प्रचलन अझै कायम छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?