logo
२०८१ बैशाख २० बिहीवार



नेपाल र इजरायलबीच कृषि केन्द्र स्थापनाबारे सम्झौता, इजरायली श्रम बजार नेपालीका लागि खुला

राष्ट्रिय |
विदेश |


नेपाल र इजरायलबीच कृषि केन्द्र स्थापनाबारे सम्झौता, इजरायली श्रम बजार नेपालीका लागि खुला


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १५ गते । नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हिजो हस्ताक्षर सम्पन्न भएको छ । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तिब्रता पाउने अपेक्षा गरिएको छ । भने पूर्वाधार निर्माणका सिलसिलामा कृषिक्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास लिइएको छ ।

यो समझदारी भएसंगै कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ । विगत केही समयदेखिको छलफललाई निश्कर्षमा पु¥याउँदा नेपाल र ईजरायलबीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर सम्पन्न भएको हो ।

सो सम्झौतामा समेत नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र ईजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर भएसँगै इरायली श्रम बजार नेपालीका लागि खुला भएको छ ।

यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल र रेष्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीले रोजगारीको अवसर पाउने छन् । यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुनेछ ।

यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति भइसकेकोले पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुन लागेको दूतावासले बताएको छ ।

नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो विषयमा मा काठमाडौंमा हस्ताक्षर हुने बताइएको छ । साथै उक्त सम्झौतापछि केही महिनाभित्रै पहिलो चरणमा पाँच नेपाली ईजरायल जान पाउनेछन् ।
राजदूत डा.शाक्य र ईजरायली परराष्ट्र मन्त्रीबीच द्विपक्षीय भेटघाट भई दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा छलफल भएको छ ।

भेटघाटका क्रममा मन्त्रीले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै यो महामारीपछि छिटै नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको इजरायल भ्रमण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको सौन्दर्यको चर्चा गर्दै नेपालीहरुको कोमलपन र सहनशीलतालाई इजरायलीहरुले मन पराउने गरेको साथै सधैं नेपाल जान प्रेरित गर्ने गरेको बताउनुभयो ।

यसै सन्दर्भमा राजदूत डा. शाक्यले नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमण तथा सिधा हवाई उडानको आवश्यकता औंल्याउनुभयो । इजरायल नेपालको पुरानो मित्र रहेको स्मरण गर्दै राजदूत डा. शाक्यले आगामी दिनमा दुई देशबीच थप सघन सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभयो ।

राजदूत डा. शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरुका लागि इजरायलको कृषि, निर्माण लगायतका रोजगारीका क्षेत्र पनि खुला गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । साथै राजदूत डा. शाक्यले विभिन्न विधामा विधार्थीहरुका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, ऊर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिनुभयो। इजरायली परराष्ट्रमन्त्री नेपालसँग सहकार्य गर्न अत्यन्तै ईच्छुक रहनुभएको दूतावासले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?