प्रवासमा दसैं : कोरोनाले खल्लो

प्रवासमा दसैं : कोरोनाले खल्लो

दसैं नेपालीको महान चाड हो। नेपालमा मात्र होइन नेपालबाहिर पनि दसैं मनाउने चलन बढ्दै गएको छ। नेपालबाहिर ८० लाखभन्दा बढी नेपाली कार्यरत छन्। प्रवासमा पनि नेपाली आपसमा भेटघाट गर्ने, मान्यजनबाट टीकाजमरा लगाउने, खसी काट्ने, नयाँ लुगा लगाउने र साथीभाइसँग रमाइलो गर्ने चलन छ। 

विदेशमा नेपाली समुदायले सञ्चालन गरेको संघसंस्था टन्नै छन्। संघसंस्थाले नेपाली चाडपर्व दसैंतिहार, तीजको अवसर पारी विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्छन्। जसले नेपाली समुदायलाई यस्ता चाडपर्व र चाडपर्व लक्षित कार्यक्रमले संगठित र एकीकृत हुन सघाउ पुर्‍याउँछ। विदेशका कुनाकाप्चामा वैदेशिक रोजगार, व्यापार÷व्यवसाय, अध्ययन अध्यापनलगायत विविध क्षेत्रमा नेपाली काम गर्दै आएका छन्। गैरआवासीय नेपालीले अन्य पर्वको तुलनामा दसैंलाई विशेष रूपमा सम्झिने गरेका छन्। 

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ५४ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिइसकेका छन्। भारत रोजगारीमा जान श्रम स्वीकृति लिनु पर्दैन। अधिकांंश नेपालीको जनघनत्व भारतसहित मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा बढी छ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत जीके दंगाली एक दशक अघिदेखि वैदेशिक रोजगारीमा छन्। ‘प्रवासमा दसैंलाई महŒवका साथ हेर्ने चलन छ,’ उनले भने, ‘आफन्त, इष्टमित्रबाट आशीर्वाद लिने, खसी काट्ने, टीकाजमरा लगाउने चलन स्थापित भएको छ।’ नेपाली धेरै भएका कम्पनीमा दसैंका बेला बिदा दिने चलन पनि छ। कम्पनी दैनिकजसो चले पनि नेपाली समुदाय टीकाको दिन बिदा लिएर दसैंं मनाउने गरेको दंगालीले बताए। 

‘प्रवासमा हुँदा पनि कम्पनीमै कार्यरत अग्रज पुस्ताबाट टीकाजमरा लगाउने चलन’, उनले भने। तर यो वर्ष विश्वव्यापी रूपमा फैलिएको कोभिड—१९ ले प्रवासमा पनि दसैंको बेला खल्लो महसुस गराएको छ। नेपालीको घरआँगनमा दसैं भित्रिँदै गर्दा नेपाललगायत नेपाली रहेका अधिकांश म्ुलुकमा कोभिडको जोखिम उत्तिकै छ। दाङ देउखुरी समाजले तीज, दसैंमा सांस्कृतिक कार्यक्रम गरे पनि यसपालि केही गर्न सकिने अवस्था नरहेको उनले सुनाए। 

तर, रुमनजिकै भएका १०÷१२ जना साथी जम्मा भएर खसी काटेर दसैं मनाउने योजना रहेको उनको कथन छ। एउटा सहरबाट अर्को सहर जान यो पटक कठिन भएकाले सामान्य रूपमा दसैं मनाउने उनले बताए।  मलेसियामा पनि नेपालीले सामूहिक रूपमा दसैं मनाउने गर्छन्।  दसैंका बेला मलेसियामा कार्यरत नेपालीले तीन दिनसम्म बिदा लिन पाउँछन्। दसैंका बेला साथीभाइसँग भेटघाट गरी दसैं मनाउन र रमाइलो गर्ने गरेको मलेसियामा कार्यरत दाङका दीपेन्द्र डाँगी सुनाउँछन्। तर, नेपालमा जस्तो दसैंतिहार रमाइलो नहुने उनले बताए। ‘नेपालजस्तो यहाँ चाडपर्वको मतलव हुँदैन, साथीहरू मिलेर रमाइलो भने गरिन्छ’, उनले भने, ‘अरू बेलाभन्दा नेपाली संघसंस्थाले चाडपर्वको समयमा कार्यक्रम आयोजना गरी मनाउने गर्छन्, त्यही कार्यक्रममा सहभागी भएर दसैं मनाउँदै आएका छौं’, उनले भने। 

यो वर्ष कोभिडका कारण जमघट गरी हर्षोल्लासका साथ भने मनाउन नपाइने तिक्तता उनले व्यक्त गरे। दसैंको बेला घरपरिवारको यादले बढी सताउने कुबेतमा कार्यरत शोभाराम उपाध्याय बताउँछन्। ‘दसैंको समयमा नेपालमा रहेका प्रायः सबै आफन्तसँग कुराकानी गरी दसैंको सम्झना गरिन्छ’, उनले भने। कुबेतमा पनि खसी काट्ने, टीका लगाउने चलन सुरु भइसकेको उनले सुनाए।

यूएई र मलेसियाजस्तो साउदी अरबमा काम गर्ने नेपाली कामदारलाई भने सहज छैन। मुस्लिम तथा कटरपन्थी मुलुक भएकाले साउदी अरबमा नेपालीले दसैंतिहारको रौनकता लिन पाउँदैनन्। साउदीमा कार्यरत रोल्पाका ओमबहादुर डाँगी दसैंको समयमा सधैं पीडामय वातावरणमा बस्न बाध्य हुन्छन्। 

‘साउदीमा दसैं मनाउन समस्या छ, साथीभाइ बिदा लिएर रुममै बसेर खानपिन गरी मनाइन्छ’, उनले भने, ‘जतिसुकै रमाइलो गरे पनि घरको यादले सताउँछ।’ साउदीमा नेपाली संघसंस्था पनि खासै नभएकाले आफन्त र गाउँघरका साथीभाइसँग मात्र भेट हुने उनले सुनाए। 

कतारमा कार्यरत रेगबहादुर केसीले परदेशमा दसैं खल्लो लाग्ने बताए। ‘दसैंको समयमा यहाँ खासै रमाइलो हुँदैन’, उनले भने, ‘चाडपर्वका बेला नेपालकै याद आउँछ।’ वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्षदेखि यूएईमा कार्यरत रोल्पाका कुमार केसी चाडवाडको बेला विदेश बस्नुपर्दा खल्लो महसुस गर्छन्।  यस अवधिमा एकपटक पनि दसैंमा नेपाल आएर टीका लगाउन पाएका छैनन्। दसैंतिहारका बेला विदेश बस्दा परिवारको याद आउने उनले बताए। रोल्पा जिल्लाको माडी गाउँपालिका—५ भावाङ घर भएका केसीले विदेशमा साथीभाइ जम्मा भएर दसैं मनाउने गरेको बताए। यो वर्ष कोभिड—१९ का कारण भएका साथीभाइ पनि मिलेर खुसीयाली मनाउन कठिन रहेको केसीले बताए।  केसी भन्छन्, ‘यूएईमा भएका मान्यजनको हातबाट टीका थापेर आशीर्वाद लिने गरेको छु, यहाँ पनि नेपाली संस्कृतिअनुसार नै टीका लगाइन्छ।’ नेपालमा जस्तै यूएईमा पनि खसी काट्ने, शुभकामना साटासाट र नाचगान गरी मनाउने चलन सुरु भएको छ। 

यूएईमा ७० भन्दा बढी नेपाली संघसंस्था छन्। यी संस्थाले नेपाली चाडपर्वमा विविध कार्यक्रमको आयोजना गर्छन्। चाडपर्वका अवसरमा आयोजना हुने कार्यक्रममा धेरैजसो नेपालीको उपस्थिति हुने गरेको केसी सुनाउँछन्।  यूएईलगायत खाडी तथा मलेसियामा दसैंलाई लक्ष्य गरी मनी एक्सचेन्ज र केही सुपरमार्केट तथा सपिङ मलले समेत अफर र उपहार योजना ल्याउँछन्। कतिपय नेपालीहरू दसंैतिहारको अवसरमा नेपाल आउँछन्। कतिपय अवस्थामा चाडपर्वमा नेपाल आउन चाहे पनि टिकट नपाउने समस्या हुने गरेको विदेशमा कार्यरत श्रमिक सुनाउँछन्। कोरोनापछि ५९ देशबाट एक लाखभन्दा बढी श्रमिक स्वदेश फर्किसकेका छन्। अझै लाखौं श्रमिक फर्किन चाहे पनि अझै स्वदेश फर्कन पाएका छैनन्। खाडी र मलेसियामा मात्र होइन, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत विभिन्न देशमा कार्यरत नेपालीले पनि दसैंतिहार मनाउँछन्।

अमेरिकामा कार्यरत रुकुमका दुर्गापति रिजालले आफन्तसँग भेटघाट गरेर दसैं मनाउने गरेको सुनाए।  लन्डनमा कार्यरत गैरआवासीय नेपाली संघ कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले यो वर्ष कोभिडका कारण प्रवासमा दसैंतिहार खल्लो हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.