१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

क्यानडा पठाउने भन्दै अवैध कम्पनी खोल्ने भारतीय एजेन्ट पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४६:oo

क्यानडा लैजाने भन्दै नेपाली युवाहरूबाट रकम असुल्ने चार भारतीय नागरिकलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा विभागको टोलीले सोमबार बेलुका टोखास्थित गणपति ह्याप्पी नेपाल नामक कम्पनीमा छापा मारेको थियो ।

नेपाली म्यानपावरसँगको मिलेमतोमा नक्कली कम्पनी खडा गरी रकम असुल्दै गरेको अवस्थामा उनीहरूलाई विभागले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय अवतार सिंह, ४१ वर्षीय पुनित शर्मा, २३ वर्षीय काजल रानी र १९ वर्षीय दलवीर करलाई रहेका छन् । विभागका अनुसार उनीहरूले सञ्चालन गरेको सो कम्पनीलाई नेपाली ट्रिपल स्टार इम्प्लोइमेन्ट म्यानपावर कम्पनीले सहयोग गर्दै आएको छ ।

सोही म्यानपावरको भवनमा भारतीय नागरिकले गणपति ह्याप्पी लाइफ नेपाल सञ्चालन गर्दै आएको विभागले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकले आफू भारतस्थित गणपति ह्याप्पी लाइफ इन्डिया नामक कम्पनीको प्रतिनिधि भएको बताएको विभागका अनुसन्धान अधिकृत कुशल बरालले जानकारी दिए । ‘तर, भारतमा त्यो कम्पनी छ–छैन । उनीहरू त्यो कम्पनीका प्रतिनिधि हुन् या होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने । 

आवेदन खर्च प्रतिव्यक्ति आठ हजार 
क्यानडा लैजाने भन्दै उनीहरूले प्रतिव्यक्ति ८ हजार रुपैयाँ आवेदनका लागि संकलन गरिरहेको विभागको अनुगमन टोलीले फेला पारेको छ । नेपालमा दर्ता नै नभएको कम्पनीको नाममा रसिद काटेर उनीहरूले रकम असुल्दै आएको विभागले जनाएको छ । विभागका अनुसार टोखास्थित कार्यालयबाट मात्रै ५० जनाभन्दा बढीबाट रकम असुलेको भेटिएको छ ।

उनीहरूले क्यानडाको अफर लेटर आएपछि प्रतिव्यक्ति १ लाख बुझाउने सर्तमा आवेदन लिइरहेका थिए । अनुगमनका क्रममा सो कम्पनी यसअघि नयाँ बसपार्कमा रहेको फेला परेको छ । सो स्थानबाट कतिलाई ठगेको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको विभागका अनुसन्धान अधिकृत बरालले बताए । भारतीय गिरोहले फेसबुक र ह्वाट्स एप प्रयोग गरी नेपाली युवामाझ क्यानडाको विज्ञापन गर्दै आएको भेटिएको छ । 

विभागले छापा मार्ने क्रममा अवैध कार्यालय प्रयोजनका ल्यापटप २ थान, बिलप्याड २ थान, एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपीहरू १० थान, क्यानडाको अफर अफ इम्प्लोइमेन्ट २ थान, राहदानीका फोटोकपीसहितको बायोडाटा र कागजातहरू ६ थान, ठूलो सम्झौतापत्र १ थान, सर्टिफिकेट अफ रजिस्ट्रेसन ६ थान र प्लास्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ । 

ad
ad