देशमा निर्वाचन, एयरपोर्टमा विदेश जानेको भीड

देशमा निर्वाचन, एयरपोर्टमा विदेश जानेको भीड

काठमाडौं : पाँच वर्षका लागि घरदैलोको सरकार छान्ने दिन हो, शुक्रबार। तर, मुखको चुनाव छोडेर हजारौं युवा बुधबार विदेश उडे। अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विदेश जाने युवाले भरिभराउ थियो। भोट हाल्ने मन हुँदाहुँदै पनि देश छोड्नुपर्दा उनीहरू खिन्न देखिन्थे। ‘देशमै रोजगारी भइदिएको भए मतदानको अधिकारबाट वञ्चित हुनु पर्दैनथ्यो’ पीडा र आक्रोशको एउटै स्वर सुनिन्थ्यो। बिदाइमा पुगेका आफन्तलाई समेत चुनावको रन्कोले खासै छोएको देखिन्नथ्यो। 

बुधबार दिउँसो ३ बजे दोलखाका रामेश्वर थापा विदेसिनेहरूको भीडमा मिसिँदै थिए। रामेश्वरलाई बिदाइ गर्न पुगेकी थिइन्, जीवनसंगिनी मनिता शिवाकोटी। काखमा १६ महिनाकी छोरी मयुरा खेल्दै थिइन्। अनि, मनिताबाट छोरीलाई काखमा लिएर रामेश्वरले जीवनसंगिनीसँग सेल्फी खिचे। मोबाइलमा सेभ गरे। छोरीलाई उचाले। गालामा चुप्पा गरे। उनका आँखामा टिल्पिल आँसु देखिन्थ्यो। छोरीलाई अँगाल्दै भने, ‘बाबा छिट्टै आउँछ, हस् छोरी’।’ हात हल्लाउँदै टर्मिनल भवनतिर लागे। उनी कोरिया जान लागेका रहेछन्। मुखैको स्थानीय निर्वाचनले उनको यात्रालाई रोक्न सकेन। ‘देशमै रोजगारी पाएको भए किन कोही विदेसिनु पथ्र्यो,’ मनिताले अन्नपूर्णसँग भनिन्, नेताहरू गाउँमा भोट माग्दैछन्। तर, गरिबका सन्तानहरू रोजीरोटी खोज्दै विदेश जानु परेको छ।’

कोरिया जान बुधबार दिउँसो विमानस्थल पुगेका दोलखाका रामेश्वर थापा, श्रीमती र १६ महिने छोरीको साथमा

रामेश्वर मात्रै होइन् चुनावकै मुखमा धनुषाको क्षिरेश्वर नगरपालिका–९ इच्छापुरका रञ्जयकुमार दास पनि साउदी उडे। १७ वर्षकै उमेरमा उनी पैसा कमाउन खाडी भाँसिएका थिए। केही महिना अघि मात्रै उनी स्वदेश फर्केका थिए। तर, स्वदेशमा केही नदेखेपछि उनी चुनावलाई बिर्सेर विदेशको बाटो तताउन बाध्य भए। ‘चुनावमा नेतालाई भोट दिएर केही हुनेवाला छैन,’ उनले भने, ‘बरु विदेश गएर परिवार पाल्न सकिन्छ। यत्रा युवाहरू किन परदेश जान्छन् ? सबैलाई थाहा छ।’ गाउँमा उनको दुई बिघा जमिन छ। तर, सिँचाइको अभाव छ। समयमा मलखाद पाइँदैन। ‘अनि, कसरी अन्न उब्जिन्छ ? उनको प्रश्न छ, ‘यसो भएपछि कसरी परिवार पाल्ने ? सरकारले किसानको समस्या सुन्दैन।’ उनको १२ जनाको परिवार छ। खेतीपातीबाट छाक टार्न मुस्किल हुने गरेको उनले बताए। अध्यागमन विभागका अनुसार एक महिनाको अवधिमा १ लाख ७ हजार ६ सय ६७ जना विदेसिएका छन्।

कक्षा ९ मा पढाइ छोडेर रञ्जय विदेश गएका थिए। ३२ वर्षको उमेरका भए। तर, खाडीमा पसिना बगाउने बाध्यता टरेको छैन। घर बनाउँदा लागेको ९ लाख ऋण तिर्न उनी बुधबार फेरि खाडीतिर लागे। ‘पढेलेखेका युवाहरू त गाडी चलाउन खाडीतिर गइरहेका छन्,’ उनले भने, ‘पढेर पनि गाडी नै चलाउनु पर्ने भए किन पढ्ने ? म नपढेको मान्छे पनि विदेशमा गाडी नै चलाउने गरेको छु।’ गाउँमा चुनावी चहलपहल भए पनि आफू विदेसिनु बाध्यता रहेको उनले बताए।

‘देशमा उद्योगधन्दा खुलेको भए, रोजगारीका अवसर भएको भए युवाले विदेश जानु पर्दैनथ्यो,’ उनले भने, ‘यही काम पाइन्छ भने युवाहरू दुःख गर्न किन विदेश जान्छन् ?’ देशमा जग्गाजमिन बाँझो राखेर युवाशक्ति सबै विदेश गइरहेको उनी बताउँछन्। ‘देशमा उत्पादन नहुँदा विदेशबाट कमाएर ल्याएको पैसा चामल, दाल, तरकारी, मरमसला किन्दा विदेशमै गइरहेको छ,’ उनले भने। 
मतदानबाट आफू वञ्चित भए पनि अरूलाई भने सचेत भएर मतदान गर्न उनले आग्रह गरे। ‘हामीले त भोट हाल्न पाएनौं,’ उनले भने,‘ भोट हालेर राम्रो नेता चुन्नुहोला। जसले गाउँमा रोजगारी दिन सकून। गाउँको विकास गरून्।’ 

भोजभतेरकै भरमा भोट नबेच्न उनले अनुरोध पनि गरे। ‘गरिबहरू लोभमा पर्छन्, नेताहरूले भोट किनेर चुनाव जित्छन्,’ उनले भने, ‘त्यसैले हामी जस्ताको भविष्य अन्धकार भयो। खाडी जानु परेको छ।’ मनाङका ३९ वर्षीय डम्बरबहादुर गुरुङ दुबई जाँदै थिए। दोस्रो पटक विदेश उड्न लागेका थिए उनी। डेढ लाख ऋण काढेर दुबई भासिनु परेको पीडा सुनाए। ‘गाउँमा नेताहरू झूटो बोलेर झुक्याउँछन्,’ उनले भने, ‘विदेश जाँदा एजेन्टले छक्काउँछ, परदेश पुग्दा अर्काको सेवा गर्नुपर्छ। गरिबको कर्म नै फुटेको हुन्छ।’

भोट हाल्न नपाई विदेसिनु परेकोमा गुरुङ खुसी थिएनन्। ‘भोट खसाल्ने मन त छ तर, के गर्ने ?’ उनले भने, ‘हामीलाई आफ्नै परिस्थितिले घेरेको छ।’ चुनावताका नेताहरू घामझै गाउँमा झुल्किने गरे पनि जितेपछि जनतालाई मान्छे नै होइन जस्तो व्यवहार गर्ने गरेको उनले दुःखेसो पोखे। ‘भोट माग्न आउँदा यो गर्छु, त्यो गर्छु भन्छन्,’ उनले भने, ‘जितेपछि केही गर्दैनन्। गाउँमा पाँच रोपनी पाखोबारी छ। पानी लाग्दैन। बाली हुँदैन। के खाने ? त्यसैले परदेश हिँडेको।’

सोलुखुम्बुका फणीन्द्र गिरी देशले राजनेता नपाउँदा युवाहरूले देश छोड्नु परिरहेको बताउँछन्। ४० वर्षीय फणीन्द्र गिरी भोट हाल्न छोडेर बहराइन उडेका छन्। ‘सरकार चलाउने नेता नै हामीले गतिलो पाएनौं,’ उनले भने, ‘गठबन्धन भनेको छ, देश खाँको छ। बाँडीचुँडी खाएको छ। जनताको अवस्था कस्तो छ ?’ 

यसअघि निर्वाचित स्थानीय तहका पदाधिकारीले समेत जनताका दुःख पीडा नबुझेको उनको आरोप छ। ‘गाउँमा देशको राजधानी गयो भनेको छ, त्यही लुटेर खाएको छ,’ उनले आक्रोश पोखे, ‘पाँच वर्षमा गाउँमा के विकास हुनु ? छोटे राजाहरूको धाकधम्की छ। हामी जस्तालाई सास्ती नै सास्ती छ। घुस नदिए केही काम बन्दैन।’

भोट नहाल्ने अवस्थाको सिर्जना नेताहरूले नै गरिरहेको उनको आरोप छ। ‘भोट हाल्ने मन छ तर, के गर्ने ?’ उनको प्रश्न छ, ‘हामी गरिबलाई हेर्ने सरकार भएन। देशमै रोजगारी भएको भए चुनावमा भोट हाल्न पाइन्थ्यो नि।’ कैलालीका २५ वर्षीय दीपेन्द्र चौधरी पढाइ छोडेर बुधबार कोरिया उडे। कामको खोजीमा विदेश जाँदा उनको पढाइ कक्षा १२ मै रोकिन पुगेको छ। पाँच लाख ऋण काढेर कोरिया जान लागेको उनले बताए। ‘हाम्रो देश बेरोजगारीको कारखाना भयो,’ चौधरीले अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भने, ‘यहाँ रोजगारी पाउनै मुस्किल छ। भोकै बस्नुभन्दा त विदेश गएकै राम्रो नि।’ 

 विदेश जान विमानस्थलमा लाइनमा बालबालिकासहित बसेका युवा

दोलखा कालिञ्चोकका कुबेर पाण्डे श्रम बेच्न कोरिया उडेका छन्। ‘चुनावले खान दिँदैन,’ उनले भने, ‘हामीले भविष्य बनाउनै पर्छ। देशमा गरिखाने बाटो सबै बन्द छ।’ नेताहरूका कारण देशमा युवाहरू बस्ने वातावरण नबनेको दुःखेको पोख्दै उनी विदेसिए। ‘यो पार्टी भन्यो। त्यो पार्टी भन्यो। जनता लडायो। डिग्री पढेर पनि सर्टिफिकेट सिरानीमा छ,’ उनले आक्रोश पोखे, ‘यहाँ, के गरेर बस्ने ?’ उम्मेदवार मन नपरेका कारण आफूलाई भोट हाल्न मन नलागेको उनको भनाइ छ। आफूले चाहेको जस्तो उम्मेदवार नपाएको उनले बताए। ‘कहिल्यै राजनीति नगरेकाहरू सोर्सफोर्स र पैसामा टिकट किन्छन्,’ उनले भने, ‘राम्रा नेताले टिकट पाउँदैनन्। पैसामा चुनाव जित्नेहरू भ्रष्टाचार गर्छन्। अनि त्यस्तालाई किन भोट हाल्ने ?’

नेताहरू परिवारवादमा फसेको उनको गुनासो छ। ‘पहिला राजाको छोरो राजा नै हुने चलन थियो,’ उनले भने, ‘अहिले नेताका छोराछोरीले नै चुनाव जित्नुपर्छ भन्ने विकृति गाउँमा हावी भएको छ।’ पार्टी नेताहरूको पेवा बने। आम नेता तथा कार्यकर्ता निराश छन्।’ 

उनका अनुसार असारको बेलामा जताततै रोड खनिदिन्छ। बर्खामा पहिरो जन्छ। गाउँबस्ती सबै पहिरोमा पर्छ। डोजरे विकासमा सबै बजेट चट भइरहेको छ। ‘कहाँ कमिसन आउँछ त्यतै नेताको ध्यान छ। उद्यमशीलतामा लगानी छैन’, कुबेर भन्छन्, ‘गाउँमा सरकार त आयो तर, जनताको सरकार अझै आएन।’

छोरालाई बिदाइ गर्न विमानस्थल पुगेका अभिभावक।

मतदाताहरू देशप्रेमी नेता खोजिरहेको बताउँदै उनी भन्छन्, ‘जसले भ्रष्टाचार नगरोस्, युवाहरूलाई स्वदेशमै राख्ने योजना ल्याओस्।’ जवसम्म युवाहरूको शरीरमा शक्ति र नाडीमा रगत हुन्छ तबसम्म मात्रै विदेशले पत्याउने हो। बुढेसकाल लागेपछि फेरि देशमै फर्किनु पर्ने बाध्यता रहने उनी बताउँछन्। ‘त्यसैले देश बनाउन युवा शक्तिलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्नु पर्छ’, उनी भन्छन्, ‘विदेश भनेको पसिना बेचेर पैसा 
कमाउने ठाउँ हो।’

प्लटु सक्नेबितिकै युवा पुस्तामा विदेश गइहाल्ने होडबाजी छ। ‘नेपालमा उसले आफ्नो भविष्य अन्धकारमय देख्छन्। यहाँ युवाहरूलाई देशमा भविष्य देखाइदिने मान्छे पनि भएन,’ उनी भन्छन्, ‘भविष्यलाई दाउमा राखेर यसपालि भोट हाल्न सकिएन। हतार भयो। ठीकै छ अर्को चुनावमा भोट हालौंला।’

बिहीबार साउदी उड्ने तयारीमा छन् सिरहाको मिर्चैयाका २९ वर्षीय दुर्गानन्द यादव। गाउँका सरकार देखियो तर, गाउँलेको जीवन रूपान्तरण गर्ने सरकारको आभास नपाएको उनी सुनाउँछन्। ‘गाउँको विकास त भयो तर, गरिबको जीवन रूपान्तरण गर्ने विकास भएन’, उनी सुनाउँछन्, ‘एउटा सडकै विकास भएर हुँदैन। शिक्षा, स्वास्थ्य, रोजगार सबै क्षेत्रको विकास हुन जरुरी छ।’ 

उनका अनुसार विदेश जाँदा परिवार नै अभिभावकविहीन हुने गरेका छन्। विदेश जाँदा पैसा त कमाइन्छ तर, परिवारमा कलह भएर भताभुंग हुने डरलाग्दो रूप देखा परेको छ। विदेश गएपछि घरमा कस्तो समस्या आउँछ जो विदेशमा छन् उनीहरूलाई मात्रै थाहा छ। उसले खुलेर कसैलाई व्यक्त पनि गर्न सक्दैन। ‘गाउँ रोजगारी उपलब्ध भएको भए विदेश गएर दुःख गर्नु पर्दैन। चुनावको बेला गाउँमा भोट पनि हाल्न मौका भेटिन्थ्यो’, दुर्गानन्द भन्छन्, ‘असक्षम नेताहरूको धेरै झुन्ड भयो। हाम्रो देशमा राजनेता भएन। पान खाएर थुके जस्तै विकास बजेट छरेर विकासे योजना बनाउँछ।’ सरकारले देश बनाउन नसोचेको बेला कामदारले विदेशबाट कमाएर भए पनि बस्ने घर बनाइरहेकोे उनी बताउँछन्।

चुनावमा नेतालाई भोट दिएर केही हुनेवाला छैन। विदेश गएर परिवार पाल्न सकिन्छ। यत्रा युवाहरू किन परदेश जान्छन् ? सबैलाई थाहा छ। गाउँमा दुई बिघा जमिन छ। तर, सिँचाइको अभाव छ। यसो भएपछि कसरी परिवार पाल्ने ? सरकारले किसानको समस्या सुन्दैन।
रञ्जयकुमार दास, क्षिरेश्वर नगरपालिका –९, धनुषा

चुनावले खान दिँदैन। हामीले भविष्य बनाउनै पर्छ। देशमा गरिखाने बाटो सबै बन्द छ। नेताहरूका कारण देशमा युवाहरू बस्ने वातावरण छैन। यो पार्टी भन्यो। त्यो पार्टी भन्यो। जनता लडायो। डिग्री पढेर पनि सर्टिफिकेट सिरानीमा छ। यहाँ, के गरेर बस्ने ?
कुबेर पाण्डे, कालिञ्चोक, दोलखा 

गाउँमा नेताहरू झूटो बोलेर झुक्याउँछन्। विदेश जाँदा एजेन्टले छक्काउँछन्। परदेश पुग्दा अर्काको सेवा गर्नुपर्छ। गरिबको कर्म नै फुटेको हुन्छ। भोट खसाल्ने मन त छ तर, के गर्ने ? हामीलाई आफ्नै परिस्थितिले घेरेको छ।
डम्बरबहादुर गुरुङ, मनाङ

हाम्रो देश बेरोजगारीको कारखाना भयो। यहाँ रोजगारी पाउनै मुस्किल छ। भोकै बस्नुभन्दा त विदेश गएकै राम्रो। कामको खोजीमा विदेश जाँदा मैले कक्षा १२ मा नै पढाइ रोक्नु पर्‍यो। पाँच लाख ऋण काढेर कोरिया जाँदैछु। चुनावले जीवन फेर्दैन।
दीपेन्द्र चौधरी, कैलाली

 तस्बिर : दिपेन श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.