२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मजदुरलाई जीविकाकै पिरलो

देशभर स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दो छ तर मजदुरलाई त्यो कागलाई बेल पाक्यो हर्ष न विस्मात् बनिदिएको छ

लुम्बिनी, नेपालगन्ज — चर्को घाम । दिउँसो हिँडडुल गर्न मुस्किल पर्छ । सडक सुनसान जस्तै छ । उनी सडकछेउ रूखको छहारीमा सुस्ताइरहेका थिए । झोला सिरानी हालेर पल्टिएका उनी लखतरान देखिन्थे । आँखा लाग्दा गाडीको आवाजले निद्रा खलबलिने गरेको उनले सुनाए ।

मजदुरलाई जीविकाकै पिरलो

बुटवलको कालिकानगरस्थित सडक किनारमा आइतबार दिउँसो नारायणगढका रामरूप चौहान भेटिए । उनी सुस्ताइरहेको गल्लीमा बेलाबेला विभिन्न दल घरदैलोमा आइरहेका थिए । केहीले चोकमा सभा गरेर विभिन्न आश्वासन बाँडिरहेका थिए । उनलाई यस्ता कुराले छोएको देखिएन । गरिखाने वर्गलाई फाइदा नभएकाले यस पटक भोट हाल्न घर जानेबारे नसोचेको उनले बताए । ‘तिनाउ खोलामा पुल बनाउने मिस्त्री हुँ,’ उनले भने, ‘एक वर्षदेखि यतै काममा छु, भोट हाल्न घर जान्नँ ।’

उम्मेदवारले सधैं मजदुरको समस्या समाधान गर्ने बताउँदै आएका छन् । ‘अहिलेसम्म नेताका कुरा पूरा भएका छैनन्,’ उनले भने, ‘आफूले प्रतिदिन ८ सय रुपैयाँमै चित्त बुझाउनुपरेको छ ।’ परिवार पाल्नकै लागि घरबाट टाढिएर काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । नेताले एक बोरा चामल नदिने भएकाले पछि लागेर जीवन निर्वाह नहुने उनको भनाइ छ ।

१० कक्षा पढ्दापढ्दै छाडेर विदेश जाने तयारीमा थिए, चौहान । विदेश जान नसकेपछि मिस्त्री काम सिकेको उनले बताए । उनीसँगै आएका २० वर्षीय सतीश पासवानलाई निर्वाचनबारे ज्ञान रहेनछ । मतदाता परिचयपत्र नबनाएकाले भोट हाल्नु नपर्ने उनले बताए । ‘म सानो छँदा आमा बितिन्, बा बूढा छन्,’ उनले भने, ‘काम नगरे खान नपाएर मरिन्छ । कसले पाल्छ र ?’ सतिश अहिले रामरूपको काममा सघाउँछन् । लेबर काम गरेबापत दैनिक ६ सय रुपैयाँ ज्याला पाउँछन् । पढ्ने चाहना भए पनि सानैमा आमा बितेपछि वृद्ध बुबा हेर्ने जिम्मा आफ्नो काँधमा आएको उनको भनाइ छ । त्यसपछि पढाइ छाडेर कमाउन लागेको उनले बताए । ‘चुनाव, नेता र सरकारबारे मलाई थाहा छैन,’ उनले भने, ‘मलाई काम नगरे बाँच्न गाह्रो हुन्छ भन्ने मात्र थाहा छ ।’

रिक्सामा झन्डा टाँगेबापत दलले एक हजार रुपैयाँ दिने भए पनि सुरज कुँवरले वास्ता नगरेको बताए । ‘आफ्नो आस्था भएको पार्टीको झन्डा लाएर हिँड्यो भन्ने सुन्नुपर्छ,’ उनले भने, ‘त्यही भएर पैसाको लोभ गरिनँ ।’ बिहान ६ देखि बेलुका ८ बजेसम्म मुख्य र सहायक सडकमा ग्राहक खोज्दै उनी कुद्छन् । ‘जुन सरकार आए पनि हाम्रा लागि केही गरेनन्,’ उनले भने, ‘बाउले त सम्पत्ति भागबन्डा गर्दा हेला गरे, नेताको के कुरा गर्ने !’ रिक्सा बिग्रिए घरमा चुलो नबल्ने उनले सुनाए । ‘दिनदिनै र्‍याली, प्रचारप्रसार देख्दा वाक्क लाग्छ,’ उनले भने, ‘हामीलाई यात्रुसित सरोकार हुन्छ ।’ दलले पूरा नहुने नारा लगाउने गरेको उनले बताए । रूपन्देहीको मोतीपुरका सुनील थारूले रङ लगाउने काम गर्छन् । उनलाई मजदुर दिवस हुन्छ र त्यो दिवस मनाइन्छ भन्ने विषयमा ज्ञान नै छैन । १० कक्षासम्म पढेका उनले पढाइले काम पाउने चान्स नदेखेपछि रङ लगाउन सिकेको बताए ।

साताको एक दिन बिदा लिएर घर जाने गरेका उनी मतदान गर्न घर जाने सुरमा छन् । ‘मैले कसलाई भोट दिन्छु भन्ने म आफैंलाई थाहा छैन,’ उनले भने, ‘बुबाले सिकाउलान् ।’ नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेबी गुरुङ कुनै पनि नेताले प्रतिबद्धतापत्रमा श्रमिकका हकमा आफूले गर्ने कामको बुँदा नखुलाएको बताउँछन् । सामाजिक सुरक्षा मजदुरको अत्यावश्यक माग भएकाले जबसम्म उक्त सुविधा पाउँदैनन्, तबसम्म मजदुरले सरकार, स्थानीय तह र प्रदेशको अनुभूति गर्न नसक्ने उनको भनाइ छ ।

‘जहाँ जहाँ मजदुर काममै छन्, उक्त स्थानबाटै मत दिने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसले मजदुरमा विश्वासको जगेर्ना पनि गर्छ । मत दिन खर्च गरेर घरसम्म जाने स्थितिमा नरहेको मजदुरले न अधिकार प्रयोग गर्छ, न त कुनै सुविधा उसले पाउँछ ।’

गुरुङ मजदुर दिवस नारामा सीमित भएकाले सुविधा पाएका औपचारिक क्षेत्रका मजदुर फाइदामा रहेको र लक्षित वर्ग पिसिएको गुनासो गरे । सरकार, स्थानीय तहले मजदुरका पीडा बुझेर सम्बोधन नगरे कुनै नेताले आदर्शवादी भाषण गरेर हिँड्नु नपर्ने उनको भनाइ छ ।

पानी न शौचालय

नेपालगन्ज उपमहानगरस्थित त्रिभुवन चोकमा प्रत्येक बिहान सर्वसाधारण जम्मा हुन्छन् । यसरी भेला हुने अधिकांशको उद्देश्य कामको खोजी हो । उनीहरूलाई छाक जुटाउने चिन्ता हुन्छ । गुजाराका लागि केही व्यक्ति तरकारीको भारी बोकेर टोलटोल डुल्छन् । कोही रिक्सा चलाएर गाउँगाउँ पुग्छन् । कोही ‘साहू’ को खोजीमा भौंतारिन्छन् । यस्ता व्यक्तिका लागि उपमहानगरमा खानेपानीको व्यवस्था छैन । सार्वजनिक शौचालय नहुँदा पीडित छन् । अहिले सहरमा चुनावी चहलपहल छ । मजदुरका रिक्सामा पार्टीका झन्डा बाँधिएका छन् । उनीहरूको सामुन्नेबाट दैनिक जुलुस पार हुन्छन् । यिनका समस्याबारे कसैलाई चासो छैन ।

बाँकेको बैजनाथ–८, झगौराकी साहदैया थारू दैनिक तरकारी बिक्री गर्न यहाँ आउँछिन् । नगरका विभिन्न टोल डुल्छिन् । यसरी घरघर धाउँदा दिसा–पिसाबले च्याप्दा समस्या पर्ने उनले सुनाइन् । बिहान घरबाट खाजा खाएर आउँछिन् । दिनभरि बजार डुलेर तरकारी बिक्री गर्दै आएको उनले बताइन् ।

‘पानी माग्दा कसैले दिन्छन्, कसैले दिँदैनन्,’ उनले भनिन्, ‘शौचालय जान दिँदैनन् ।’ अति नै च्यापे पैसा तिरेर होटलमा पस्नुपर्ने उनको भनाइ छ । बजारमा होटल भए पनि सबैले शौचालय जान नदिने उनले बताइन् । ‘पिसाब च्यापेर बस्नुपर्ने बाध्यता हुन्छ,’ बैजनाथ–८ की प्रेमा थारूले भनिन्, ‘पैसा तिरेर शौचालयकति जानू ?’ चुनावका बेला नेताले व्यवस्थित सहर बनाउने आश्वासन दिन्छन् । दुःखीका लागि सहरमा सार्वजनिक शौचालय बनाउने भन्छन् । ‘अहिलेसम्म काम गरेर खानेलाई पानी र शौचालयको व्यवस्था गर्न सकेनन्,’ उनले भनिन् । नेपालगन्ज–१२ की बैजन्ती चौधरीले गर्मीका बेला सडक किनारका धारा सुकेको बताइन् । ‘नेताले ठूला कुरा नगरे हुन्छ,’ उनले भनिन्, ‘खानेपानी छैन ।’ दैनिक ३० रुपैयाँ तिरेर पानी किनेर खानु परेको उनले गुनासो गरिन् ।

अटो व्यवसायलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा अटो चालकले एकदमै दुःख पाइरहेको अटो रिक्सा मजदुर संगठनका अध्यक्ष विनोद थापाले बताए । ‘अटो रिक्सालाई कुनै पनि कागजात नचाहिने भनेर धमाधम सञ्चालनमा ल्याइयो,’ उनले भने, ‘अहिले अटो रिक्सा चालकलाई सवारी अनुमतिपत्रलगायत अन्य विभिन्न सिफारिस चाहिने हुँदा सिफारिस लिन जाँदा पालिकाका कर्मचारीले दुःख दिन्छन् ।’

प्रकाशित : वैशाख १९, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?