१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Monday, 10 June, 2024
मुना कुँवर काठमाडाैं
२o७९ जेठ ६ शुक्रबार o७:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अब श्रम स्वीकृति पनि अनलाइनबाट

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार o७:२४:oo

आजदेखि श्रम कार्यालयका सबै सेवा अनलाइनबाट विदेश जाने कामदारले सबै प्रक्रियाका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले सबै प्रक्रिया अनलाइनबाट नै गर्न पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै खालका श्रम स्वकृतिलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाएको हो । शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट नै लिन सकिने भएको छ । यससँगै श्रम कार्यालयको सबै सेवा पूर्ण रूपमा अनलाइनमार्फत हुने भएको हो ।

यसअघि रोजगारीका लागि विदेश जाने कामदारले सबै प्रक्रियाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता थियो,  जसले कामदारको समय खेर जाने तथा आर्थिक भार पनि थपिने गथ्र्याे । त्यस्तै, कार्यालयमा नै गएर काम गर्नुपर्दा दलाल सक्रिय हुने र कामदार सजिलै ठगिने सम्भावना बढी थियो । यस्तो विकृतिलाई हटाउँदै मन्त्रालयले सबै प्रक्रिया अनलाइनबाट नै गर्न सकिने व्यवस्था गरेको श्रम कार्यालय काठमाडौंका प्रमुख रमेश अर्यालले बताए । 

श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न आग्रह 
कार्यालयले रोजगारीका लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । केही सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको पाइएकाले यस्तो आग्रह गरिएको कार्यालय प्रमुख रमेश अर्यालले बताए । 

कार्यालयले २ माघ ०७८ देखि पुनः श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिने व्यवस्था गरिसकेको छ । त्यस्तै, २ वैशाख ०७९ देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गर्न सकिने व्यवस्था गरेको थियो । नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बिमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनमा अपलोड गर्नुपर्नेछ । 

वैदेशिक रोजगारका नाममा भिजिट भिसा एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्ति अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति बढेकाले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको छ । 

व्यक्तिगत श्रम स्वीकृति लिँदा सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण आवश्यक पर्छ । यसअघि साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सबाट प्रमाणीकरण गर्ने व्यवस्था थियो । ०७९ वैशाखदेखि सरकारले क्रोएसिया, पोल्यान्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्बानिया र स्लोभाकियालाई पनि थप गरेको छ । प्रमाणीकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपिलगायतका विवरण पेस गर्नुपर्नेछ । रोजगारदाताले सबै कागजपत्र सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्नेछ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैँले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्नेछ । 

वैदेशिक रोजगार बोर्डका सबै सेवा पनि अनलाइनबाट
श्रम मन्त्रालयले वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सबै खालका सेवालाई समेत अनलाइनमार्फत प्रदान गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा, अंगभंग र अशक्त बिरामी भएको अवस्थामा वैदेशिक रोजगार बोर्डबाट पाउने सबै खालको सुविधा अनलाइनबाट नै प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो । पीडित कामदारका नेपालमा रहेका आफन्तले मृत्यु भएकोमा पाउने रकम, शव झिकाउने, उपचार गर्नेलगायतका सुविधाका लागि अनलाइनबाट नै आवेदन दिन र सोधपुछ गर्न सकिने व्यवस्था गरेको छ । साथै, बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम लिन पीडित कामदार वा कामदारका आफन्त श्रम स्वीकृति लिएको–गएको भन्ने प्रमाणित गर्न विभाग धाइरहनुनपर्ने भएको छ । बिमा कम्पनीले बोर्डको अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत कामदारले श्रम स्वीकृति लिएर गएको वा नगएको जाँचबुझ गर्न सक्ने विभागले व्यवस्था गरेको छ । 

मन्त्रालयको आदेशअनुसार आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो–छरितो रूपमा गुनासोरहित अनलाइन सेवा सुरु गरिएको बोर्डले जनाएको छ । कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुन सक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिनसमेत कार्यालयले आग्रह गरेको छ ।

पूर्ण रूपमा अनलाइनबाट श्रम स्वीकृतिको काम गर्दा आवेदनको क्रमसंख्याअनुसार श्रम स्वीकृतिको काम हुने भएकाले पछाडिको आवेदनलाई अगाडि ल्याउन नसकिने कार्यालयका प्रमुख अर्यालले बताए । अधिकांश सेवाग्राहीको अनलाइन आवेदन गरेको दिनमा नै श्रम स्वीकृति हुने गरी काम भए तापनि केही सेवाग्राहीको कागजात अपुग र अस्पष्ट हुँदा आवेदन अस्वीकृत हुने गरेको उनले बताए । यस्ता आवेदनमा म्यासेज पठाएर विवरण प्राप्त गर्दा समय लाग्ने तथा कहिलेकाहीँ सर्भरलगायत प्राविधिक कारणले समस्या हुन सक्ने भएकाले तीन कार्य दिनअगाडि अनलाइन फाराम भर्न कार्यालय प्रमुख अर्यालले बताए । 

श्रम स्वीकृति लिँदा लाग्ने शुल्कबारे जानकारी लिन आग्रह
श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन सकभर आफैँले वा आफन्तमार्फत भर्न कार्यालयले आग्रह गरेको छ । यदि अन्यत्रबाट अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कका बारेमा पूर्ण जानकारी राख्नसमेत कार्यालयले आग्रह गरेको छ । श्रम स्वीकृति गर्दा म्यादी जीवन बिमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने कार्यालयले जनाएको छ । जीवन बिमा र कल्याणकारी कोषसमेत गरी ३५ वर्षसम्मका लागि पाँच हजार दुई सय ८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि ६ हजार चार सय ३१ रुपैयाँ र ५१ वर्षदेखि माथिका लागि १० हजार नौ सय ६३ रुपैयाँ मात्र शुल्क लाग्छ । श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको इमेलमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल प्रयोग गर्न कार्यालयले भनेको छ । 

ad
ad
ad
ad
ad
ad