काम गर्छु भन्दा पनि पाउँदैनन् मजदुर

काम गर्छु भन्दा पनि पाउँदैनन् मजदुर

वीरगन्ज : ३७ डिग्री तापक्रम। उखरमाउलो तराईको गर्मी। ६५ वर्षीय सुरेन्द्र यादव छटपट गर्दै यताउति गरिरहेका छन्। घामबाट जोगिन टाउकोमा गम्छा ओढेका छन्। तर, मन बेचैन छ। नयाँ मान्छे देख्यो कि पछि कुदिहाल्छन्। उनको यो छटपटी कामको खोजीका लागि हो। तर, पनि काम दिने ‘साहुजी’ फेला पर्दैनन्। भन्छन्, ‘साहुजी खोज्दैमा दिन जान्छ। काम छैन। साँझ रित्तो हात घर फर्कनुको विकल्प छैन।’

सम्पत्तिका नाममा सुरेन्द्रको परिवारसँग विन्दावासिनी – ३ झावामा चार धुरको घडेरीमात्रै छ। त्यहीँ ठाउँमा फुसको सानो छाप्रो छ। ६ जनाको परिवार सुरेन्द्रको कमाइमै निर्भर छ। तर, आजभोलि काम पाउन कठिन छ। कमाइ नहुँदा परिवारका सदस्यलाई साँझ बिहान मुखमा माड लगाउनै समस्या भइरहेको सुरेन्द्र दुःखेसो पोख्छन्। 

कामको खोजीमा एकाबिहानै घरबाट निस्कने गरेको सुरेन्द्र बताउँछन्। रामगढस्थित सिर्सिया पुल क्षेत्रमा ‘काम दिने कोही आइहाल्छ कि’ भनेर कुर्दैमा उनको दिन बित्छ। काम नपाएकै कारण साँझ परिवारको मुखमा कसरी माड लगाउने चिन्ता हुन्छ। ‘परिवारमा कमाउने भनेको म मात्रै हुँ,’ सुरेन्द्र भन्छन्, ‘तै पनि काम पाइन्न र परिवार कसरी पाल्ने भन्ने चिन्ता हुन्छ।’ प्रायजसो दिन काम नपाएर साँझ निन्याउरो मुख लगाई घर फर्किनु परिरहेको उनको दुःखेसो छ। ‘दुईचार पैसा कमाएर घरपरिवार र बालबच्चालाई खुसी पार्न सकिन्छ कि भन्यो, कामै पाइँदैन,’ सुरेन्द्रले अन्नपूर्णसँग दुःखेसो पोखे, ‘साँझ रित्तै घर फर्किनुपर्दा साह्रै नरमाइलो लाग्छ।’

गाँउमा ज्याला गर्ने सुरेन्द्र जस्ता मजदुरले १० केजी धान र बढीमा तीन सय रुपैयाँ पारिश्रमिक पाउँछन्। वीरगन्जमा काम पाए दिनको सात सय रुपैयाँ ज्याला पाउँछन्। ज्याला बढी पाइने भएपछि गाउँभन्दा मजदुरहरू वीरगन्ज धाउने गरेका छन्। 

पछिल्ला दिनमा आफूजस्ता मजदुरको पसिना बिक्न छोेडेको सुरेन्द्रको भनाइ छ। ‘हामीजस्ता बूढापाकाले खाडी जान मिल्दैन,’ उनले भने, ‘यता कामै पाइँदैन। पसिना बेच्छुभन्दा पनि किनिदिने कोही हुँदैन।’ गाउँमा पाइने तीन सय रुपैयाँ ज्यालाले परिवार पाल्न कठिन हुने उनको भनाइ छ। ‘अहिलेको महँगीका कारण तीन सय रुपैयाँले त साँझ बिहानको छाक टार्न पनि पुग्दैन,’ सुरेन्द्र भन्छन्, ‘त्यसैले काम खोज्दै दिनहुँ सहर पस्नुपर्ने बाध्यता छ। सहरमा पनि काम पाउन छोड्यो।’ खेतीपातीको काम ट्याक्टर र मेसिनले गर्न थालेपछि गाउँमा पनि मजदुरले काम पाउन छोडेको सुरेन्द्र बताउँछन्।

वीरगन्जको घण्टाघरस्थित सडकपेटीमा बसेका मजदुर सिकेन्द्र कुमार र उनको पछाडि कामको खोजीमा भौंतारिरहेका मजदुरहरू। सिकेन्द्र गाउँबाट दैनिक दुई घण्टा हिँडेर कामको खोजीमा यहाँ आउँछन्। तर, काम पाउँदैनन् । तस्बिर : क्रान्ति शाह 

गाउँबाट दुई घण्टा हिँडेर कामको खोजीमा वीरगन्ज सहर आइपुगेका सिकेन्द्र कुमारको अवस्था पनि उस्तै छ। घण्टाघर चोकमा दिनभर कुर्छन्। काम दिने कोही साहु आइहाल्छ कि भन्ने पर्खाइमा बस्छन्। तर, प्रायजसो दिन काम नपाई रित्तै घर फर्किने गर्छन्। ‘पाँच दिनमा मुस्किलले एक दिन काम पाइन्छ,’ उनले भने,‘ काम पाइने आसमा बिहानै घरबाट निस्क्यो। तर, प्रायजसो दिन रित्तै घर फर्किनुपर्छ।’ 
काम नपाएका दिन छिमेकको पसलबाट उधारोमा रासन लिएर गर्जो टार्ने गरेको उनी बताउँछन्। ‘एक–दुई दिन त पसलेले उधारो पैसा माग्दैनन्’ उनले भने, ‘पुरानो पैसा नतिरेको तीन, चार दिन कटेपछि भने रासन उधारोमा दिन किचकिच गर्न थाल्छन्। कहिलेकाहीँ त चुल्हो पनि बल्दैन।’ 

मुलुकको प्रमुख व्यापारिक सहर वीरगन्जमा स्वदेशी मात्र होइन, भारतबाट समेत कामको खोजीमा मजदुर आउने गर्छन्। भारतको भेलाहीबाट बिहान ५ बजे नै वीरगन्ज आइपुग्छन्, बाबुलाल प्रसाद। ‘केही केहीले मात्रै काम पाउँछन्,’ उनले भने, ‘धेरैले खाली हात फर्किनुपर्छ।’ सुरेन्द्र, सिकेन्द्र, बाबुलालको मात्रै होइन, पवन रामको पीडा पनि उस्तै छ। पवन राम भन्छन्, ‘मजदुरी गर्छौं। काम दिनुस्भन्दा पनि पाइँदैन। चाडवाडका बेला काम नपाउँदा त झन् खल्लो हुने गरेको छ।’

सिकेन्द्र, बाबुलाल, पवनजस्ता हजारौं मजदुर दुई छाक टार्न र चाडवाडमा मीठो, मसिनो खान कामको खोजीमा वीरगन्ज आउने गर्छन्। बालबच्चालाई नयाँ लुगाकपडा किन्नेदेखि घर व्यवहार चलाउनका लागि मजदुरी गर्नु उनीहरूको एकमात्रै विकल्प हो। गाउँघरमा खेतीपातीको काम गर्दा ज्याला थोरै पाइने भएपछि बढी ज्यालाको आशामा उनीहरू वीरगन्ज धाउने गरेको बताउँछन्। वीरगन्जमा दैनिक दुई हजारभन्दा बढी मजदुर कामको खोजीमा भौंतारिने गरेका छन्। सीमा नजिकै रहेकाले भारतका विभिन्न सहर र बारा–पर्साका गाउँबाट स्थानीयहरू थोत्रा साइकल गुडाउँदै मजदुरीका लागि वीरगन्ज झर्ने गर्छन्। बिहानैदेखि घण्टाघर र माईस्थान चोकमा  मजदुरको भीड लाग्छ। साहुहरूसँग काम दिन आग्रह गरिरहेका दृश्य सधैं उस्तै हुन्छन्। 

यस्ता मजदुरहरू विशेषगरी घर निर्माणको कामका लागि योग्य मानिन्छन्। मजदुर खोज्दै कोही साहु आइपुग्यो कि उनीहरू माहुरीले रानो घेरेजस्तै साहुतिर झुमिन्छन्। अनि, हानथाप सुरु हुन्छ। ‘साहुजी हम चलेम, साहुजी हमराके नु ले चली, साहुजी हम बढियासे काम करेम (साहुजी म जान्छु, साहुजी मलाई लिएर हिँड्नुस् न, साहुजी मैले राम्रोसँग काम गर्छु,’ भन्दै मजदुरहरू अनुनय विनय गर्छन्। ‘साहुजी’ ले पनि शारीरिक रूपमा हृष्टपुष्टलाई मात्रै छान्छन् र लिएर जान्छन्। बाँकी मजदुरहरू मन अमिलो पार्दै बस्छन्, फेरि अर्को साहुजी आउने आसमा। यो क्रम बिहानदेखि दिउँसो २ बजेसम्म चल्छ। त्यतिबेलासम्म पनि काम नपाए निराश हुँदै मजदु्रहरू घरतिर लाग्छन्। 

वीरगन्जमा श्रम–पसिना बेचेर मजदुरी गर्न खोज्नेहरू खाली हात फर्किंदै गरेका दृश्य कारुणिक हुन्छन्। सरकारले यस्ता मजदुरका लागि स्वदेशमा काम दिन सकेको छैन। मेहनत गरेर खाने बाटो नै बन्द भएपछि युवा पुस्ता रोजगारीका लागि खाडी मुलुकतिर जान बाध्य छ। यसैकारण पर्साको विन्दवासिनी गाउँपालिका झौवाँका किशोरी बिन मुखियाले भाइ रामलखनलाई खाडी पठाएको बताए। मुखिया विगत सात वर्षदेखि कामको खोजीमा दिनहुँ वीरगन्ज धाउने गर्छन्। १६ किलोमिटर दूरी पार गरेर वीरगन्ज आउँदा पनि काम नपाइने गरेको दुःखेसो पोखे। ‘कान्छो भाइ रामलखन पनि मसँग काम खोज्न वीरगन्ज आउँथ्यो,’ उनले भने, ‘दुई दिनमा मुस्किलले एक दिन काम पाइन्छ। त्यसैले ऋण खोजेर भाइलाई कतार पठाइदिएँ।’ आफू घरमुली भएकाले मात्रै आजभोलि घर छोड्न नमिलेको उनले बताए। ‘काम पाउन छोड्यो। त्यसैले म पनि अब खाडी देश नै जानुपर्ला कि भन्ने सोच आइरहेको छ,’ उनले भने। 

विकास निर्माणका काममा मेसिनको प्रयोगले पनि मजदुरले काम पाउन छोडेको बताउँछन्, ‘पर्साको हरपुरका अवधकिशोर राम। आइतबार मध्याह्न १२ बजे घण्टाघर चोकको पेटीमा भेटिएका राम भन्छन्, ‘घरको छत ढलानमा कम्तीमा पनि ४०÷४५ जना मजदुरले काम पाउँथे। आजभोलि मेसिन प्रयोग गर्न थालियो। त्यसैकारण, ढलानका लागि कामदार लिन आउने साहुले आजभोलि पाँच, सात जना मात्र लिएर जान्छन्।’ सहरमा पनि पहिलेको जस्तो काम पाउन छोडेकाले मजदुरलाई बाँच्नै कठिन भइरहेको राम बताउँछन्।  

नेपाल वा भारत सरकारले विभिन्न स्वरोजगारका कार्यक्रम, रोजगारीका अवसर तथा व्यवसायका लागि आर्थिक सहयोग तथा अनुदानका प्याकेज तथा कार्यक्रमको घोषणा गरे पनि दुवै देशका मजदुरहरूले त्यसको अनुभव गर्न नपाएको गुनासो गर्छन्। शिक्षाको सूचकांकमा अरू प्रदेशभन्दा मधेस प्रदेश निकै पछि छ। त्यसकारण पनि यो प्रदेशमा निरक्षर युवा तथा पाकाहरू मजदुरीको काम गर्न विवश छन्। यो प्रदेशका अधिकांश जिल्लाका युवाहरू मजदुरी गर्न अन्यत्र जाने वा बिदेसिने क्रम पनि बढ्दो छ। आफ्नै देशमा मेहनत गर्न खोज्दा पनि काम नपाएपछि बिदेसिनु परिरहेको युवाहरूको भनाइ छ। 

संविधानले हरेक नागरिकलाई सीप र क्षमताअनुसारको रोजगारीको ग्यारेन्टी गर्ने उल्लेख छ। त्यसैले राज्यले अरू आफ्नै देशमा श्रम बेच्न सक्ने वातावरणको सुनिश्चितता गरिदिनुपर्ने मजदुरहरूको माग छ। मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता इमनारायण श्रेष्ठ भने स्वरोजगार सिर्जनाका विभिन्न कार्यक्रममा बजेट छुट्ट्याएर काम भएको जिकिर गर्छन्। श्रम गर्न बाहिर जाने व्यक्तिका लागि शैक्षिक योग्यताअनुसारको सीपमूलक तालिमको प्रबन्ध प्रदेशका सबै जिल्लामा गरिएको उनको दाबी छ।

नागरिक समाज पर्साका पूर्वअध्यक्ष एवं अधिवक्ता पन्नालाल गुप्ता दैनिक ज्यालादारीको काम खोज्दै गाउँबाट दिनहुँ दुई हजारभन्दा बढी नै मजदुरहरू वीरगन्ज आउने गरेको बताउँछन्। बिहान ८ नबज्दै माईस्थानदेखि घण्टाघरसम्मको सडक पेटी मजदुहरूको भीडले भरिने गरेको उनी बताउँछन्। ‘कतिपयले काम नपाएर निराश हुँदै घर फर्किनुपर्छ,’ गुप्ता भन्छन्, ‘त्यस बेला उनीहरूको अनुहार हेर्दा मन नै अमिलो हुन्छ।’

स्थानीय सरकारले गाउँघरमै रोजगारी दिन नसकेका कारण उनीहरू सहर धाउने गरेको गुप्ता बताउँछन्। ‘हाम्रो संविधानमै हरेक नागरिकलाई उसकोे सीप र क्षमताअनुसारको रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उल्लेख छ,’ गुप्ता भन्छन्, ‘तीनवटै तहका सरकार यसप्र्रति गम्भीर नहुँदा मान्छेले चाहेर पनि आफ्नो पसिना बेच्न पाएका छैनन्। हाम्रा लागि विडम्बना हो।’ वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दैनिक ज्यालादारीमा काम खोज्न वीरगन्ज आउने मजदुरहरूको व्यवस्थापनका लागि महानगरपालिकाले छुट्टै योजना बनाएर कार्यान्वयनमा ल्याउने बताए। महानगरमा बेरोजगारी अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए। ‘यो सहरमा बेरोजगार कोही पनि बस्न नपरोस् भन्ने मेरो चाहना हो,’ उनले भने, ‘त्यसका लागि म काम गर्छु। असार १० गते हुने नगरपरिषद्पछि मजदुरका विषयमा सरोकारवाला निकायसँग छलफल गरेर योजना बनाउँछौं।’ 

काम खोज्दै आउने मजदुरहरू रित्तो हात फर्किएको देख्दा आफ्नो पनि चित्त दुख्ने गरेको सिंहले बताए। ‘श्रम बेच्न गाउँगाउँबाट मान्छेहरू आउँछन्। रित्तो हात फर्केको दृश्यले मनै दुख्छ,’ उनले भने। वीरगन्जमा दैनिक ज्यालादारीको काम खोज्दै आउन मजदुरहरूको संख्या संकलनको काम छिट्टै सुरु गरेर उनीहरूको रोजगारीका लागि पहल गरिने मेयर सिंहले बताए। 

परिवारमा कमाउने भनेको म मात्रै हुँ। तर, काम पाइँदैन। परिवार कसरी पाल्ने भन्ने चिन्ता छ। दुई, चार पैसा कमाएर घरपरिवार र बालबच्चालाई खुसी पार्न सकिन्छ कि भन्यो, साँझ 
रित्तै घर फर्किनुपर्दा साह्रै नरमाइलो लाग्छ।
सुरेन्द्र यादव, मजदुर

गाउँबाट दुई घण्टा हिँडेर कामको खोजीमा वीरगन्ज सहर आउँछु । दिनभरि बस्दा पनि काम पाइँदैन । पसलबाट उधारो सामान लिएर परिवार पाल्दैछु । एक–दुई दिन त पसलेले पैसा माग्दैनन् । तीन, चार दिन कटेपछि भने रासन उधारोमा पाइँदैन । कहिलेकाहीँ त चुल्हो पनि बल्दैन ।
सिकेन्द्र कुमार, मजदुर 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.