१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वार्षिक एक लाखसम्म रेमिट्यान्स पठाउनेलाई आइपिओमा आरक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३४:oo

नेपाल धितोपत्र बोर्डले विदेशबाट वार्षिक कम्तीमा एक लाख रेमिट्यान्स पठाउने नेपाली कामदारलाई नेपालमा खुल्ने कुनै पनि कम्पनीको प्राथमिक सेयर (आइपिओ)मा १० प्रतिशत आरक्षण दिने गरी कार्यविधि बनाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत  वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई आइपिओमा आरक्षण दिने घोषणा गरेका थिए ।

सोही घोषणाबमोजिम असोजको पहिलो साताबाट वैदेशिक रोजगारीमा गएका कामदारलाई आरक्षण दिने गरी कार्यविधि बनाउन धितोपत्र बोर्ड जुटेको हो । कार्यविधि समितिका एक सदस्यका अनुसार विनियमावली पास भएर आएपछि सोहीअनुसार कार्यविधि बनाउने तयारी गरिएको छ । ‘अहिले छलफलमा वार्षिक एक लाखसम्म रेमिट्यान्स पठाउनेलाई सेयर दिन सकिने गरी राख्न सकिने र पछि बिस्तारै बढाउँदै जान पनि सकिने विषयमा छालफल भइरहेको छ,’ ती सदस्यले भने ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले असोजभित्रै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा आरक्षण छुट्याउने गरी काम थालिएको बताए । उनले भने, ‘असोजभित्र आरक्षण छुट्याइसक्छ र रेमिट्यान्स पनि बढ्न थाल्नेछ । सोहीअनुसार अहिले बोर्ड कार्यविधि बनाउनेलगायत आवश्यक कानुन निर्माणमा जुटेको छ ।’ असोजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा समावेश गर्ने नीतिबमोजिम धितोपत्र बोर्डले विनियमावली बनाएर अर्थ मन्त्रालय पठाएको धितोपत्र बोर्डकी सूचना अधिकारी दीपा दाहालले जानकारी दिइन् । विनियमावलीको काम सकेर अर्थ मन्त्रालय पठाएको चार–पाँच दिन भएको र स्वीकृत हुन बाँकी रहेको उनले बताइन् । ‘पहिलो चरणको विनियमावली बनाएर स्वीकृतका लागि मन्त्रालय पुगेको छ, केही दिनमा पास भएर आएपछि समिति बनाएर थप कार्य अघि बढाइनेछ,’ उनले भनिन् । 

अर्थ मन्त्रालयले अधिकभन्दा अधिक रेमिट्यान्स भित्र्याउने र वैदेशिक रोजगारीमा रहेका नेपालीले सेयरका केही हिस्सा पनि पाऊन् भन्ने उद्देश्यले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत आरक्षणको व्यवस्था गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा आरक्षण छुट्याउने निर्णयलाई गैरआवासीय नेपाली संघले पनि स्वागत गरेको छ । संघका महासचिव गौरीराज जोशीले आरक्षण छुट्याउँदा पारदर्शी, सहज खरिद–बिक्री गर्न सक्ने वातावरणसमेत निर्माण गर्नुपर्ने बताए । ‘सरकारले आरक्षण छुट्याएर सही निर्णय गरेको छ, यसलाई बढाउँदै जानुपर्छ, रेमिट्यान्स भिœयाउनका लागि यस आरक्षण कोसेढुंगा साबित हुनेछ,’ उनले भने ।
 

ad
ad