कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अन्तर्राष्ट्रिय श्रम मापदण्डमा सुरक्षा र स्वास्थ्य पनि

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धिलाई नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डका रूपमा घोषणा गरेको छ । यसअघि अन्तर्राष्ट्रिय श्रम मापदण्डका रूपमा चारवटा मात्रै विषय स्वीकार गरिएको थियो ।

जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम महासभाले शुक्रबार व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई महासन्धिका रूपमा स्वीकारेको घोषणा गरेको हो । यसअघि सबै देशले पालना गर्नुपर्ने गरी बालश्रमको अन्त्य, बाँधा श्रमको अन्त्य, समानता र संगठन स्वतन्त्रता तथा सामूहिक सौदाबाजीलाई कार्यस्थलको मौलिक महासन्धि भन्दै आएको थियो । आईएलओले १९९८ देखि सबै देशले अनिवार्य पालना गर्नुपर्ने गरी महासन्धि जारी गर्दै आएको छ । २९, ८७, ९८, १००, १०५, १११, १३८ र १८२ नम्बरलाई मुख्य महासन्धि मानिएको थियो । अब १५५ र १८७ लाई पनि समावेश गरिएको छ ।

नेपालले व्यवसायजन्य स्वास्थ्य र सुरक्षासम्बन्धी महासन्धि (१५५ र १८७) ले अनुमोदन नगरे पनि नयाँ श्रम ऐनमा भने यस महासन्धिका महत्त्वपूर्ण विषय समेटिएको छ । श्रम कानुन विज्ञसमेत रहेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालका अनुसार श्रमिकको कार्यस्थल सुरक्षाको प्रबन्ध गर्न यसले थप दबाब पुग्ने बताए । ‘यो महासन्धि अनुमोदन गरे वा नगरे पनि नेपाललाई अन्तर्राष्ट्रिय रूपमा उत्तरदायित्व बनाउनेछ । नेपालको सबैभन्दा कमजोर पक्ष नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको विषय हो,’ उनले भने, ‘अब यो अनुगमनभित्र पर्छ । आईएलओलगायत विश्व बैंकहरूले सहयोग गर्दा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिनेछ ।’

आईएलओका अनुसार विश्व श्रम बजारमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभावमा हरेक वर्ष ३० लाख श्रमिकको मृत्यु हुने गरेको छ भने करिब ४० करोड श्रमिक बिरामी र घाइते हुने गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?