+
+

‘अधिकांश विवाद सम्बन्धविच्छेदमै टुंगिन्छन्’

वैदेशिक रोजगारले गाउँको आर्थिक हैसियत उकास्न भूमिका खेलेर सकारात्मक काम त गरेको छ, तर सँगै सामाजिक र पारिवारिक रूपमा चाहिं विकराल समस्या पनि ल्याइरहेको छ ।

मञ्जु प्रसाईं, पूर्वउपमेयर मञ्जु प्रसाईं, पूर्वउपमेयर
२०७९ जेठ ३० गते १९:४६

गाउँघरका लागि वैदेशिक रोजगारी समस्या मात्र होइन, त्यसको समाधान पनि हो । पहिलेको तुलनामा अहिले गाउँघर फेरिनुको कारण वैदेशिक रोजगारीले आर्थिक स्थिति उकासिनु पनि हो । गाउँ–गाउँमा अहिले पक्की घर बनेका छन् ।

सामान्य परिवारका छोराछोरी बोर्डिङ स्कुल पढेका छन् । शहर बसेका छन्, उनीहरूको जीवनस्तर उकासिएको छ । यो सबै वैदेशिक रोजगारीका कारण सम्भव भएको हो । भनिन्छ, हरेक कुरामा सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छ । यही भनाइ जस्तै वैदेशिक रोजगारले गाउँको आर्थिक हैसियत उकास्न भूमिका खेलेर सकारात्मक काम त गरेको छ, तर सँगै सामाजिक रूपमा चाहिं विकराल समस्या पनि ल्याइरहेको छ ।

विवाह गर्ने वित्तिकै श्रीमानहरू विदेशिने गरेका छन् । परिवारमा पनि राम्रोसँग घुलमिल हुन नपाई विदेश जाँदा श्रीमतीले एक्लो महसुस गर्छिन् । आफ्नो मनको भावना पोख्ने ठाउँ समेत महिलाले पाउँदैनन् । श्रीमानले पनि राम्रै सोचेर कमाएजति श्रीमतीलाई पठाइदिएका हुन्छन् । तर पछि आएपछि विवाद भएर सम्बन्धविच्छेदसम्म पुगेका घटना प्रशस्तै छन् ।

न्यायिक समितिमा आउने उजुरीमध्ये जग्गा–जमिनका विवादपछि वैदेशिक रोजगारीका कारण सृजना भएका समस्या नै धेरै हुने गरेका छन् । म त सधैं के भन्छु भने विवाह गर्नुहुन्छ, तर माया मोह प्रगाढ नभइकन किन विदेश जानुहुन्छ ? विदेश नै जाने भए विवाह गर्न किन हतारिनुहुन्छ ? किन महिलालाई गाउँमा एक्लै छाड्नुहुन्छ ?

विवाह गर्ने वित्तिकै श्रीमान्ले राम्रै सोचेर पनि कतिपय अवस्थामा श्रीमतीलाई दुःख नहोस् भनेर शहर बस्न पठाउँछन् । छोराछोरी छन् भने त झन् पढाउन भनेर उनीहरूलाई शहरमा राखिन्छ । तर श्रीमान् विदेशमा भएको र एकल महिला भन्ने वित्तिकै समाजले राम्रो नजरले हेर्दैन ।

श्रीमान्ले माया गरेर सन्तानको भविष्य सोचेर शहरमा राखेको हुन्छ । तर, समाजले त्यसलाई राम्रो नजरले हेर्दैन । हरेक पटक प्रभावमा पार्न खोजिरहन्छ । यसले समाजमा गम्भीर विचलन ल्याइरहेको छ । श्रीमान् दुई चार वर्षपछि आउँदा उनी पनि एकोहोरिएका हुन्छन्, त्यसपछि विवाद छताछुल्ल हुन्छ । श्रीमान्ले बाहिरबाट पठाएको रकम यहाँ सकिसकेको हुन्छ, उनले आएर हिसाबकिताब खोज्दा सिर्जना भएका घटना न्यायिक समितिसम्म पुगेका छन् ।

अहिले वैदेशिक रोजगारीले समस्या ल्याउनुको पछाडि बढ्दो इन्टरनेट पहुँचको दुरुपयोगले पनि काम गरेको छ । पहिले गाउँगाउँमा मानिसहरूलाई सम्पर्क गर्न गाह्रो थियो । अहिले मोबाइलका कारण कुराकानी गर्न सहज छ । को कहाँ छन् थाहा पाउन सहज छ । सामाजिक सञ्जालहरूका कारण कुरा गर्न सहज छ । भेट वा फोनमा नखुल्ने मानिसहरू सामाजिक सञ्जालमा घन्टौं कुरा गरिरहेका हुन्छन् । एकातिर विदेशमा हुनेले समय दिन नसक्ने तर यहाँ बस्नेले त्यसमै झुम्मिएर दुरुपयोग गरिरहेका घटना पनि छन् ।

झापाको कनकाई नगरपालिकामा उपमेयरका रूपमा मेरो पाँच वर्षे कार्यकालको अनुभव हेर्दा अधिकांश वैदेशिक रोजगारीबाट सिर्जित घटना सम्बन्धविच्छेदमै पुगेर टुंगिएका छन् । कतिपय लेनदेनमा समस्या छन् । श्रीमान् फर्किएर आइसकेपछि श्रीमतीले छाडेर गइन् भन्ने उजुरी थुप्रै छन् । श्रीमतीले अब मलाई खोज्नुपर्दैन भनेर हिंडेको एउटा घटना थियो । हामीले फोन गरेर दुवै पक्षलाई बोलाउने प्रयास गर्‍यौं । तर, माग के हो भनेर सोध्दा दुवैको कुरा सम्बन्धविच्छेद पनि नगर्ने र मिल्ने कुरा पनि आएन । पछि छुट्टिने बाहेक विकल्प नै रहेन ।

मैले हेरेकामध्ये एउटा मात्र घटनामा चाहिं महिलाले धेरै रकम खर्च गरेको घटना थियो, श्रीमान्ले आएर धेरै दुःख दिएछन् । भागेर गएर श्रीमतीले सबै ऋण तिरेर आएर झोला लिएर श्रीमान् भए ठाउँमा जाँदा कुटपिट पनि भएको थियो ।

तर, श्रीमतीले म अझै यही श्रीमान् र बच्चाहरूसँग बसेको भनेका कारणले मिलेको घटना थियो । त्यसबाहेक मलाई वैदेशिक रोजगारीका कारण भएको समस्यामा सम्बन्धविच्छेद नभएको घटना याद छैन । यो घटना पनि पटक–पटक छलफल गराएपछि मात्रै साथै बस्न सक्ने अवस्था बनाउन सकिएको थियो ।

वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान् हिंडिसक्दा यहाँ घरमा श्रीमतीको बिजोग हुने गरेको छ । विवाह गर्नेवित्तिकै छाडेर जाने चलन छ । उहाँहरू नजिक भइसक्नुभएको हुँदैन । यस्तो अवस्थामा छाडेर गएपछि नकारात्मक समस्या आउने गरेका छन् । श्रीमान्ले बाहिरबाट नियमित रूपमा मोटो रकम पठाइदिने र त्यसको श्रीमतीले दुरुपयोग गर्ने गरेको पनि देखिएको छ । वैदेशिक रोजगारीले समाज र परिवारमा विरक्तै लाग्दो अवस्था बनाएको छ ।

वैदेशिक रोजगारीमा गएपछि परिवारमा विग्रह आउनुका पछाडि महिला र पुरुष दुवै उत्तिकै जिम्मेवार छन् । पुरुष पनि बाहिर गएपछि अर्को महिलासँग सम्बन्धमा बस्ने गरेका घटना छन् । श्रीमतीलाई चाहिं शंका गरिहाल्ने, तर आफू चाहिं नसम्हालिने प्रवृत्ति पनि छ ।

बाहिर सार्वजनिक भएका घटनाहरू झट्ट हेर्दा महिलाहरू नै बढी दोषी हुन् कि भन्ने देखिए पनि त्यो गलत हो । यसमा पुरुषहरू पनि उत्तिकै जिम्मेवार छन् । उनीहरूमा आफूले चाहिं जे गरे पनि हुने तर श्रीमतीलाई चाहिं निरन्तर प्रश्न गर्नुपर्छ भन्ने मनोविज्ञान पाइन्छ । समाजमा पनि महिलालाई मात्र प्रश्न गर्ने प्रवृत्ति छ । यसमा समग्र समाजको सोचाइ पनि परिवर्तन हुनु जरूरी छ ।

कतिपय पुरुषहरू विदेशबाटै अर्को विवाह गरेर आएका घटना पनि छन् । तर, न्यायिक समितिमा आएपछि हामीले छुट्टाछुट्टै बनाइदिएका थियौं । अहिले समाजमा देखिएको समस्याको निराकरणका लागि स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्नुपर्छ । विदेश जान्छु भन्ने सोच्ने पुरुषले पनि स्वदेशमै बसेर उद्यम गर्छु भन्ने सोच बनाउनुपर्छ । यसका लागि स्थानीय तहले पनि वातावरण बनाइदिनुपर्छ । उनीहरूलाई प्रेरित गर्ने काम गर्नुपर्छ ।

धेरैजसो स्वदेशमा काम गर्न हिच्किचाउँछन् । तर, विदेशमा गएर जे गर्न पनि तयार हुन्छन् । विदेशमा जे पनि गर्न सक्ने यहाँ नसक्ने भन्ने हुँदैन । त्यहाँ गरेको तुलनामा नेपालमा केही प्रतिशत मात्रै काम गर्ने हो भने विदेश यहीं हुन्छ ।

वैदेशिक रोजगारी भन्ने वित्तिकै मानिस टाढिन्छन्, त्यसले समस्या सिर्जना गरिरहेको हुन्छ । सम्बन्धमा दूरी आउने वित्तिकै समस्या भइहाल्छ । त्यसैले विदेश जानै परे पनि बरु श्रीमान्–श्रीमतीसँगै पो जाने हो कि भन्ने पनि सोच्छु । तर भरिसक्य म त विदेश नै नजानु भन्छु । अझ विवाह गर्ने वित्तिकै त बाहिर जानु हुँदै हुँदैन भन्छु ।

(झापाको कनकाई नगरपालिकाकी पूर्वउपप्रमुख प्रसाईंसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?