• २३ वैशाख २०८१, आइतबार

विदेशी मजदुरको लागत सङ्कलन गर्न समितिको निर्देशन

blog

काठमाडौं, साउन १६ गते । संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत सङ्कलन गर्न निर्देशन दिएको छ ।

सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा श्रम मन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लागत सङ्कलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिनुभयो ।

यसैगरी, कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई सभापति श्रीवास्तवले निर्देशन दिनुभयो ।

त्यस्तै, समितिले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरुलाई पनि सहभागी गराउन निर्देशन दिएको छ ।

समितिले सम्बन्धित मन्त्रालयहरु उद्योग, श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरुसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरेर उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।