• २१ वैशाख २०८१, शुक्रबार

जापान पठाउने प्रक्रिया अन्तिम चरणमा

blog

काठमाडौँ, साउन १९ गते  । जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीले छिट्टै जापान जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत उच्च सीपयुक्त श्रमिक (एसएसडब्लू) जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । 

यसअघि २०७५ चैत ११ गते एसएसडब्लू प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी नेपाल र जापान सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो प्रणालीअन्तर्गत जापान सरकारले विदेशी श्रमिकले जापानमा गर्नुपर्ने काम कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन, निर्माण, नसिङ, केयरगिभरलगायत १४ वटा क्षेत्रभित्रका काममा जान पाउनेछन् । 

संयुक्त समितिको बैठक आज

नेपालीलाई रोजगारीका लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न बनेको संयुक्त समितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । दुुई देशका सरोकारवाला व्यक्तित्व रहेको संयुक्त समिति गठन गरिएको छ । उक्त समितिमा नेपाल सरकारका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल नेतृत्वको टोली रहनेछ भने जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा प्रतिनिधि मण्डल समिति बनेको छ । 

बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारीका लागि पठाउने विषयमा समयको टुङ्गो लगाउने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । दक्षिण कोरियापछि सुरक्षित र आकर्षक आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिएकामा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको श्रम मन्त्रालयले जनाएको छ । 

सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी श्रमिक लैजाँदै आएको थियो ।