२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

गाउँमै रोजगारी नारामै सीमित

वीरेन्द्र केसी

अर्घाखाँची — २०७४ को आमनिर्वाचनमा टोपबहादुर रायमाझीले मतदातालाई आश्वासन दिँदै अर्घाखाँचीका ५० हजार युवालाई जिल्लामै रोजगारीको सपना देखाए । एमाले, माओवादी र राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धनको बलमा कांग्रेसका रामबहादुर बीसीलाई १८ हजार ४ सय ४४ मतान्तरले पराजित गरेका रायमाझीले ५० हजार ३ सय ८५ मत ल्याएका थिए । माओवादी पृष्ठभूमिका रायमाझी तत्कालीन नेकपा विभाजनपछि एमालेमै बसेपछि उनको सांसद पद गुम्यो । केही समय अर्घाखाँची सांसदविहीन बन्यो ।

गाउँमै रोजगारी नारामै सीमित

तीन पटक लगातार चुनाव जितेका एमाले केन्द्रीय सचिव रायमाझी अहिले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ पुष्पा भुसाल गौतमसँग प्रतिस्पर्धा गर्दै छन् । रायमाझी एक वर्षदेखि गाउँमै छन् । उम्मेदवार चुनिएपछि भुसाल पनि मत माग्दै घरदैलो, भेटघाट गरिरहेकी छन् । रायमाझीले अहिले पनि संख्या त तोकेका छैनन् तर युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने नारालाई जोडतोडले उठाइरहेका छन् ।

तर, गत निर्वाचनमा रायमाझीले गरेको रोजगारी प्रतिबद्धताको भिडियो र समाचार सामाजिक सञ्जालमा राखेर युवाहरूले प्रश्न गर्न थालेका छन्, ‘खोइ ५० हजारले रोजगारी पाएको ?’ रायमाझीले भने पछिल्ला ५ वर्षमा कृषि, पर्यटन, पूर्वाधारसहित समग्र विकासबाट स्वरोजगारका आधार सिर्जना गरेको दाबी गरे । ‘टोलैपिच्छे व्यवस्थित सडक निर्माण गरें । अहिले ३ सय ट्याक्सी चलेका छन्, यही व्यवसायबाट पनि युवाले रोजगारी पाएका छन्,’ उनले भने । सुपादेउराली मन्दिरलाई आधुनिक बनाउन पहल, पर्यटकीय भोलुंगे पुल निर्माण, मन्दिरछेउमा फूल, तरकारी, फलफूल, फोटो स्टुडियो, पूजा सामग्रीलगायतमा २ सय युवाले व्यवसाय गरेको उनले सुनाए ।

कृषि उद्यम गर्न टोलैपिच्छे कृषि फार्म सञ्चालन छन् । ‘२०६४ सालमा चुनाव जितेपछि २०६६ सालबाट सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण सुरु गरें, पोखरा–सुर्खेत सडक, मदन भण्डारी लोकमार्ग, रामपुर–कपुरकोट सडक, अर्घाभगवती विमानस्थल धमाधम निर्माण भइरहेको छ,’ उनले भने, ‘यी सडक निर्माण सम्पन्न भएर गाडी चलेपछि अर्घाखाँची पहाडी जिल्लाको संगमस्थल र पर्यटकीय गन्तव्य बन्छ । त्यसपछि पर्यटन व्यवसाय, कृषि उद्यम फस्टाउँछ र सयौं युवा स्वरोजगार हुन्छन् ।’ जिल्लामा अन्य पूर्वाधार विकाससहितको स्वरोजगारमूलक कामहरू भइरहेको उनको भनाइ छ ।

‘हामीले युवालाई स्वदेशमै रोक्न स्वरोजगारका आधार निर्माण गरिदिने हो र त्यहाँ व्यवसाय गर्ने अवसर गराइदिने हो,’ उनले भने, ‘त्यसका लागि पर्यटकीय, कृषि उद्यम, पूर्वाधार विकासका काम भइरहेका छन् । मेरो लक्ष्य अर्घाखाँचीलाई देशकै नमुना जिल्ला बनाउने भन्ने छ ।’ राजनीतिक क्रान्ति सकिएकाले अब मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको र अर्घाखाँचीमा युवाले रोजगारी पाउने थुप्रै आधार निर्माणका लागि काम भइरहेको उनको तर्क छ ।

सत्ता गठबन्धन उम्मेदवार भुसालले पनि युवा रोजगारीलाई प्राथमिकतामा राखेको बताइन् । उनले आफ्ना पिता काशीनाथ गौतमको सपना पूरा गर्ने र नयाँ ढंगबाट जिल्लाको विकासका काम गर्ने मतदातासँग आश्वासन बाँडिरहेकी छन् । ‘युवालाई स्वदेशमै उत्पादनमा जोड्ने मेरो लक्ष्य छ,’ उनले भनिन्, ‘धार्मिकस्थलहरूमा पर्यटकीय संरचना निर्माण गर्छु र युवालाई पर्यटन व्यवसायमा जोडेर स्वरोजगार बनाउँछु ।’

प्रकाशित : कार्तिक २५, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?