१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कतारको स्वीकारोक्ति : विश्वकप तयारीका क्रममा ४००-५०० श्रमिकको मृत्यु भएको छ

गार्डियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालसहित ५ मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको छ ।

काठमाडौँ — यतिबेला कतारमा विश्वकप फुटबल-२०२२ आयोजना भइरहेको छ । समूह चरणको अन्तिम खेल सुरु भइसकेका छन् विश्वकपको रौनक हेर्नका लागि संसारभरबाट दर्शक कतार पुगेका छन् ।

कतारको स्वीकारोक्ति : विश्वकप तयारीका क्रममा ४००-५०० श्रमिकको मृत्यु भएको छ

तर यसैबीच विश्वकप आयोजनाका लागि पूर्वाधार निर्माणमा श्रमिकको शोषण गरेको र तयारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै कतारी सरकारको कडा आलोचना पनि हुँदै आएको छ ।

कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब दिइरहेका छन् । यसैबीच विश्वकप आयोजनासम्बन्धी उच्च समितिका महासचिव हसन अल थवादीले पूर्वाधार निर्माण वा आयोजना तयारीका क्रममा ४ सयदेखि ५ सय श्रमिकको मृत्यु भएको स्वीकार गरेका छन् ।

पियर्स मोर्गनसँगको कुराकानीमा हसन अल थवादी । तस्बिर : पियर्स मोर्गन अनसेन्सर्डको युट्युबबाट स्क्रिनग्र्याब गरिएको हो ।

'पियर्स मोगर्न अनसेन्सर्ड' टेलिभिजन सोमा अन्तर्वार्ताका क्रममा थवादीले भनेका छन्, 'अनुमान त्यस्तै ४ सयजति हो । ४ सयदेखि ५ सयकै बीचमा होला । मसँग ठ्याक्कै संख्या त छैन ।' उनले त्यसमध्ये पनि काम गर्ने क्रममा ३ जनाको मृत्यु भएको ३७ जनाको अन्य अवस्थामा मृत्यु भएको बताएका छन् । उनले आप्रवासी कामदारको मृत्युबारे कतार सरकार पारदर्शी भएको दाबी समेत गरेका छन् । 'एउटै मृत्यु पनि दु:खको कुरा हो । हामीले हरेक वर्ष कार्यक्षेत्रको अवस्थामा सुधार गर्दै लगेका थियौँ । कम्तीमा विश्वकप आयोजनास्थलचाहिँ सुधार गरेका थियौँ ।'

अल थवादीको अन्तर्वार्ता प्रसारण भएपछि अधिकारवादी समूह फेयर स्क्वायरले कतार जिम्मेवार र उत्तरदायी रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ । फेयर स्क्वायरलाई उद्धृत गर्दै गार्डियन लेख्छ, 'श्रमिकको मृत्युको मुद्दामा कतारले अक्षम्य पारदर्शिता देखाइरहेको छ भन्ने यो पछिल्लो उदाहरण हो । हामीलाई वास्तविक तथ्यांक र सूक्ष्म अनुसन्धान चाहिन्छ । अस्पष्ट तथ्यांक र सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता पर्याप्त हुँदैन । फिपा र कतारले अझै थुप्रै प्रश्नको उत्तर दिनुपर्नेछ । यी श्रमिकको कसरी र कहाँ मृत्यु भयो भन्नेबारे र आश्रित परिवारले क्षतिपूर्ति पायो/पाएन भन्ने स्पष्ट जवाफ आउनुपर्छ ।'

कतारको विश्वकप आयोजनासम्बन्धी उच्च समितिले सन् २०१४ मा रंगशाला निर्माण सुरु भएयता मात्र ३ जनाको कामको सिलसिलामा मृत्यु भएको दाबी गरेको छ । तर गार्डियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालसहित ५ मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको छ । कतारले सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएको थियो । कतारले सन् २०११ देखि पूर्वाधार निर्माण सुरु गरेको थियो ।

गार्डियनका अनुसार सन् २०११ देखि २०२० सम्म १ हजार ६ सय ४१ नेपाली श्रमिकको मृत्यु भएको छ । तर यो तथ्यांकबारे नेपाल सरकारले आधिकारिक रूपमा भने केही जानकारी गराएको छैन । त्यस्तै सबैभन्दा बढी २ हजार ७ सय ११ भारतीय श्रमिकको मृत्यु भएको छ । त्यस्तैगरी बांग्लादेशका १ हजार १८, पाकिस्तानका ८ सय २४ र श्रीलंकाका ५ सय ५७ श्रमिकको मृत्यु भएको गार्डियनको दाबी छ ।

प्रकाशित : मंसिर १४, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?