२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छुः मन्त्री अर्याल

फाइल तस्बिर।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन्।

आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन्।

‘म्यानपावरहरु र व्यवसायीहरुलाई सुध्रिनको लागि समय दिन्छौं। दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ’, उनले भने, ‘कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं।’

उनले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरुलाई सुध्रनको लागि समय दिएको पनि बताए। सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानूनी कारबाही गर्ने उनको भनाइ थियो। उनले मन्त्रालय ठगी गर्ने म्यानपावरहरुलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताए।

अर्यालले भने, ‘वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकहरुलाई ठगी गर्ने म्यानपावर र व्यवसायीहरुलाई कारबाही गर्न सकैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन। म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन। भयो भने प्रमाण समेत ल्याएर आउँदा हुन्छ।’

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताए। मुलुकमा पछिल्लो वैदेशिक रोजगारका समय बढ्दै गएको उनले बताए।

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर ३ करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताए। उनले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्रालयमा मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: २२ माघ २०७९ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App