• ३ जेठ २०८१, बिहिबार

विदेशबाट फर्किएका युवालक्षित पुनः एकीकरण कार्यक्रम सुरु

blog

पहिलो चरणमा विदेशबाट फर्किएका तीन हजार जनालाई उपलब्ध गराइने

सीता शर्मा 

काठमाडौँ, फागुन ८ गते । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै चालू आर्थिक वर्षबाट कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको हो ।

बोर्डका सूचना अधिकारी मैयाँ कँडेलले पहिलो वर्ष वैदेशिक रोजगारबाट फर्किएका तीन हजार युवालाई लक्षित गरी ‘पाइलट प्रोजेक्ट’का रूपमा पुुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि तयारी गरेको जानकारी दिनुभयो । 

उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीमा बढी गएका १५६ वटा स्थानीय पालिकालाई कार्यक्रमको प्रस्ताव पठाइएकोमा अधिकांशबाट आइसकेको पनि उहाँले जानकारी दिनुुभयो । उहाँका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरिएको छ ।  

बोर्डका अनुसार पुनः एकीकरण कार्यक्रमअन्तर्गत विदेशबाट फर्केका श्रमिकका लागि विशेष गरी वित्तीय साक्षरता, मनोपरामर्श र उद्यमशीलता, आर्थिक सशक्तीकरण र सीप तालिम कार्यक्रम सञ्चालन गरिनेछ । बोर्डले सबै स्थानीय पालिकामा कार्यक्रम सञ्चालन गर्ने योजना बनाए पनि विदेशबाट फर्केका युवाको तथ्याङ्क उपलब्ध भएका १५६ स्थानीय पालिकामा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । 

पुनः एकीकरण निर्देशिकामा कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सक्ने व्यवस्था गरेको भए पनि सङ्घ, प्रदेश तथा स्थानीय पालिका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै श्रम गन्तव्यमा समस्या पर्ने, बिरामी हुने, मृत्यु हुुने र अङ्गभङ्ग हुनेको सङ्ख्या वृद्धि हुँदै गइरहेकाले मृतकका परिवार र बिरामी तथा अङ्गभङ्ग भएर फर्किएकालाई समाजमा एकीकरण गरी स्वरोजगार बनाउने कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रममार्फत वैदेशिक रोजगारबाट पूर्ण र आंशिक असफल भएर फर्किएका श्रमिक वा उनीहरूका परिवारलाई पहिलो प्राथमिकतामा राखिने कँडेलले जानकारी दिनुभयो । 

पहिलो चरणमा वैदेशिक रोजगारीबाट असफल भएर फर्केकालाई आर्थिक–मानसिक हिसाबले समाज र परिवारमा स्थापित गर्न उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको निर्देशिकामा उल्लेख छ । बोर्डका अनुसार स्वदेश फर्किएपछि आफ्नो समाज र परिवारमा स्थापित गराउन पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कोभिड–१९ सङ्क्रमणका बेला लगभग छ लाख श्रमिक अलपत्र परेर स्वदेश फर्किएपछि एक वर्षअघि देखि कार्यविधि बनाउन थालिएको थियो । 

बोर्डले कार्यक्रमको दायरा फराकिलो बनाउन आगामी वर्षमा उद्यमशीलता, सीप तालिम र वित्तीय सहयोगका लागि बैङ्क तथा वित्तीय संस्थासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । बोर्डले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको विवरण, श्रम गन्तव्य र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव, समेटेर राष्ट्रिय, प्रादेशिक र स्थानीय आप्रवासी प्रोफाइल (रिटर्नी माइग्रेन्ट प्रोफाइल) तयारी गरेको छ । 

पुनः एकीकरण कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितका लागि उपयोग गर्ने तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्नका लागि बोर्डले सामाजिकीकरण, रोजगारीमा आबद्ध हुने र उद्यमशीलता प्रवर्धन हुने गरी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।