कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

विश्वकपपछि कतार : फुर्सदिला कामदार

कम्पनीहरुले कामदार कटौती गर्न थाल्दा प्रत्यक्ष मारमा नेपाली, कतारको आर्थिक अवस्था कमजोर नभए पनि निर्माणका नयाँ आयोजना घोषणा नहुँदा बाहिरबाट ल्याइएका श्रमिक कामविहीन
होम कार्की

काठमाडौँ — कतारको ठूलो कन्स्ट्रक्सन कम्पनी ‘नासिर अल अली’ मा केही समय अगाडिसम्म झन्डै आठ हजार कामदार थिए । अहिले कामदार संख्या ३५ सय हाराहारीमा झरेको छ । उनीहरूमध्ये पनि सबैले काम पाएका छैनन् । फुर्सदिला बनेकामा नेपाली मात्रै करिब तीन सय छन् ।

विश्वकपपछि कतार : फुर्सदिला कामदार

उनीहरू ड्युटी पाइने दिन पर्खेर बस्ने कि घर फर्किने दोधारमा छन् । ‘जनवरीदेखि नै हामीले काम पाएका छैनौं । बेसिक तलब पनि दिइएको छैन । कोठामा सुतेरै दिन बितिरहेको छ,’ इलामका मिलन खतिवडाले भने ।

खतिवडा म्यानपावर कम्पनीलाई १ लाख ७० हजार रुपैयाँ तिरेर १४ महिनाअगाडि मात्र कतार पुगेका थिए । उनी लेबनानी कम्पनीमा मार्बल लगाउने काम गर्थे । त्यो कम्पनीले आफूसँग काम नभएको भन्दै घर फर्काउने सूचीमा खतिवडाको नाम राख्यो । उनले घर फर्किनुको सट्टा २१ सय रियाल (६७ हजार रुपैयाँ) खर्चेर कम्पनी परिवर्तन गरे । नयाँ कम्पनीले पनि ‘स्वदेश जाऊ’ भन्न थालेपछि उनी तनावमा छन् । ‘पुरानो कम्पनीमा ९० जना काम गर्थे । २० जनालाई राखेर सबैलाई घर पठाए । अहिले म यता न उताको भएँ’, उनले भने ।

अल सेल कम्पनीसँग पनि आठ हजार कामदार थिए । उसले २५ प्रतिशत मात्रै कामदार राखेर बाँकीलाई चारमहिने बिदामा घर पठाइसकेको छ । ‘हाम्रो कम्पनीले आफूसँग भएकोबाहेक अन्य कम्पनी (सप्लाई) बाट चार हजारभन्दा बढी कामदार लिन्थ्यो । अहिले सप्लाई कम्पनीबाट ल्याइएको एक जना कामदार भेटिँदैन,’ उक्त कम्पनीमा रहेका मोरङका खड्ग पौडेलले भने, ‘कम्पनीसँग नयाँ आयोजना नभएपछि कामदारले काम गर्ने ठाउँ भएन ।’ नयाँ परियोजना आउँछ कि भनेर कम्पनीले केही कामदारलाई जगेडाका रूपमा राखिरहेको उनले सुनाए । ‘घर गएर पनि काम छैन । कम्पनीको अवस्थामा सुधार होला कि भनेर बाध्यताले बसिरहेका छौं,’ पौडेलले भने ।

३५ सय कामदारलाई रोजगारी दिएको अल अवा ट्रेडिङ कम्पनी पनि संकटमा छ । उसले कामदारलाई घर पठाइरहेको छ । ‘अहिले हाम्रो क्याम्पमा ४ सय जति बाँकी होलान् । कसैको काम छैन,’ त्यही कम्पनीमा रहेका चितवनका देवराज पाठकले भने, ‘कम्पनीले लेबरहरूलाई तलब दिने गरे पनि माथिल्लो तहका कर्मचारीले तलब पाएका छैनन् । मेरो ६ महिनादेखिको तलब बाँकी छ ।’

कतारमा १० हजारभन्दा बढी कामदार राख्ने त्रिसिसी, युसिसी, अरब बिल्डरजस्ता ठूला कम्पनीले पनि ५० प्रतिशतभन्दा बढी कामदार कटौती गरेका छन् । नेपाली प्रवासी श्रमिक संघ कतारका अध्यक्ष शेषराज तिमल्सिनाले बिनातलब बस्नुपर्ने श्रमिकको संख्या बढ्दै गएको बताए । ‘कम्पनीमा काम खोज्दै हिँड्नेहरू धेरै छन् । कम्पनीको क्याम्पबाहिर साथीहरूको शरणमा बस्नेहरूको अवस्था नाजुक छ,’ उनले भने, ‘बजार पनि सुनसान छ । कतै राम्रो व्यापार देखिँदैन ।’

कतारमा ड्राइभिङको काम गरिरहेका दीपेन्द्र कार्कीले कम्पनीको अवस्था बिगि्रँदै गएको बताए । ‘६०/६५ जना बोक्ने गाडीमा १०/१५ जना लिएर जानुपर्छ । म काम गर्ने कम्पनीले ६ सयलाई घर पठाएर अहिले दुई सय मात्रै राखेको छ,’ उनले भने, ‘जनवरीको तलब अहिलेसम्म पाइएको छैन ।’

कतार सरकारले २०२२ को नोभेम्बर–डिसेम्बरमा भएको विश्वकप फुटबललाई लक्ष्य गरी गत सेप्टेम्बरभित्र सीमित कामदार राखेर अरूलाई बिदामा पठाउन आदेश दिएको थियो । त्यसपछि सबै कम्पनीले सीमित कामदार राखेर अरूलाई बिदामा पठाएका थिए । बिदाका कामदार फर्किन थालेका बेला कम्पनीले आफूसँग राखिएका कामदार पनि पठाउन थालेका हुन् ।

कतारका ठूला सरकारी आयोजना निर्माणको जिम्मेवारी बोकेको द पब्लिक वर्क्स अथोरिटी (असघल) ले दुई वर्षयता बृहत् आयोजनाको टेन्डर गरेको छैन । असघलले १९ अक्टोबर २०२० यता सडक, भवन, खानेपानी, सहरी पार्कसँग सम्बन्धित १ हजार ८ सय ८३ आयोजना बनाउन ठेक्का दिएको थियो, तीमध्ये झन्डै एक दर्जन आयोजना मात्रै निर्माणधीन छन् र ती पनि अन्तिम चरणमा छन् ।

कोरोना महामारीअघिसम्म कतार नेपालको प्रमुख रोजगार गन्तव्य मुलुक थियो । सन् २०१९/२० मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएकामध्ये ३१.८ प्रतिशत नेपाली कतार गएका थिए । त्यस वर्ष नेपालमा कुल रेमिट्यान्सको १७.६ प्रतिशत अर्थात् ५३.९३ बिलियन अमेरिकी डलर कतारबाट भित्रिएको थियो । विश्वकपपछि नेपाली कामदारको संख्या घट्दै गएपछि रेमिट्यान्समा समेत असर पर्ने देखिएको छ । कतार सरकारले विश्वकप अगाडिसम्म ३ लाख ६४ हजार ३ सय ८९ नेपाली कार्यरत रहेको विवरण नेपाली दूतावासलाई दिएको थियो । तीमध्ये १५ हजार ५ सय ५५ जना महिला थिए । अहिले यो संख्यामा निकै कमी आइसकेको छ । कतार जानेभन्दा फर्किनेको संख्या बढी छ ।

गत साउनदेखि पुस मसान्तसम्म १९ हजार ५४ जना नयाँ कामदार कतार गएका हुन् । यसमध्ये अधिकांश विश्वकप आयोजनासँग सम्बन्धित तीनमहिने अस्थायी प्रकृतिका कामदार थिए । बिदामा आएर फर्किएका भने ३४ हजार ८ सय ४२ जना छन् । ‘कतारमा निर्माण कार्य उच्च बिन्दुमा पुगेको बेला नेपालबाट प्रतिमहिना ३० हजार जना जान्थे । विश्वकपपछाडि २ हजार जना गइरहेका छन्,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने, ‘अहिले कतारको रोजगारी एकदमै सुस्त देखिन्छ ।’

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले काम नपाएर स्वदेश फर्कनेको संख्या बढ्दै जाने देखिएको बताए । ‘कतारमा ठूलो जनशक्ति निर्माणसँग जोडिएको छ । सप्लाई कम्पनीले काम दिने सम्भावना न्यून बन्दै गएको छ,’ उनले भने, ‘हालै विश्वकप सकिएको हिसाबले कतार सरकारले केही समय विगतको समीक्षा गरिरहेको देखिन्छ । कतारले १५/१६ वटा ठूला आयोजना ल्याउने योजना बनाएको छ । तर, त्यो कहिलेदेखि कार्यान्वयनमा आँउछ भन्ने यकिन छैन ।’

नयाँ टेन्डर आह्वान भइहाले पनि प्रक्रियामा जान समय लाग्ने भएकाले कम्पनीलाई धेरै समयसम्म कामदार क्याम्पम राखिराख्न कठिन छ । ‘अहिले बजारमा कामदार छन् तर काम छैन । पहिला हामीले कामदार पठाउँदा घण्टाको १४ रियालसम्म पाएका थियौं । अहिले घण्टाको ७ रियालमा झर्दा पनि काम पाउन सकिएको छैन,’ एक सप्लाई कम्पनीका व्यवसायीले कान्तिपुरलाई भने, ‘कामदारलाई त्यतिकै क्याम्प राख्न कठिन छ । धेरैलाई जाने भए टिकट दिन्छौं भनेका छौं ।’

एउटै कम्पनीमा लामो समय काम गरेका कामदारलाई कतारको श्रम कानुनअनुसार उपदानसहितको सेवासुविधा दिनुपर्ने हुन्छ । तत्काल सबै सुविधा दिएर बिदाई गर्न सकिने अवस्थामा नभएको भन्दै केही सप्लाई कम्पनी न्यूनतम तलबसमेत नदिई खाना मात्रै खुवाएर राख्ने पक्षमा देखिएका छन् । बैंकबाट ऋण लिन सक्ने कम्पनीहरूले मात्रै बिनाकाम तलब र खाना दिइरहेका छन् । ‘हाम्रो कम्पनीले बैंकबाट ऋण लिएर कामदारलाई तलब दिइरहेको छ । कामदारको समस्या पनि बाहिर जान दिइएको छैन,’ एक कम्पनीको मानव संसाधन विभाग प्रमुख रहेका एक नेपालीले भने ।

विश्व बजारमा तेल र ग्यासको मूल्य बढ्ने विश्वासमा आउँदो वर्ष कतारको आर्थिक वृद्धि ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री अली विन अहमद अल कुवारीले गत डिसेम्बरमा सन् २०२३ मा राजस्व संकलन २२८ बिलियन रियाल हुने भन्दै बजेट प्रस्तुत गरेका थिए, जुन अघिल्लो वर्षभन्दा १६ प्रतिशतले बढी हो । खर्च भने १ सय ९९ बिलियन रियाल हुने अनुमान छ । कतारको आर्थिक अवस्था कमजोर नभए पनि निर्माणका नयाँ आयोजनाहरू तत्काल घोषणा नहुँदा बाहिरबाट ल्याइएका श्रमिक कामविहीन हुनुपरेको हो । ‘नेपाल फर्के भने विदेश आउन फेरि अर्को प्रक्रिया चल्नुपर्छ । म्यानपावर खोज्ने झन्झट हुन्छ । कस्तो कम्पनीमा पर्छ थाहा हुँदैन । २ लाखभन्दा बढी खर्च हुन्छ । त्यसैले काम नभए पनि केही महिना यही बस्ने योजनामा छु,’ ड्राइभिङ गरिरहेका कार्कीले भने ।

प्रकाशित : फाल्गुन ९, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?