कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

युवतीलाई भारतमा बेचेको आरोपमा दाङमा दुई पक्राउ

दुर्गालाल केसी

दाङ — २० वर्षीया युवतीलाई भारतको चन्डीगढमा बेचबिखन गरी यौनजन्य कार्यमा लगाएको आरोपमा घोराहीमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ लखनपार्क निवासी ३९ वर्षीया टोपली सार्की र ५२ वर्षीय बिमुसा सार्की रहेका छन् ।

उनीहरुले युवतीलाई माघ २१ गते जागिर लगाइदिने र राम्रो तलब मिलाइदिने भन्दै बाँकेको रुपैडिहा नाका हुँदै भारतको चन्ढीगढ पुर्‍याएको प्रहरीको अनुसन्धानमा खुलेको छ । युवतीलाई चन्डीगढको यौनजन्य व्यवसाय हुने कोठीमा पुर्‍याइ कोठी मालिकबाट रकम बुझेको प्रहरीको आरोप छ ।

युवतीलाई धम्की दिई १२ दिनसम्म यौनकार्यमा लगाएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । पीडितको आमाले छोरी बेचिएको जानकारी पाएपछि माघ २२ मा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएपछि तत्काल प्रहरी परीचालन गरी, विभिन्न संघ सस्थाको समन्वयमा पीडितलाई फाल्गुन ४ मा उद्धार गरेको एसपी वलीले जानकारी दिए ।

आरोपित दुबै जनालाई फागुन ४ मा नै घोराही–१४ स्थित शेखर होटेलबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत कसुरमा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।

यस्ता प्रकारका रोजगारी वा अन्य कुनै किसिमका प्रलोभनमा परी परिचित वा अपरिचित व्यक्तिसँग कहीँ कतै नजान र जानैपर्ने भए घर परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि वा स्थानीय प्रहरीलाई जानकारी गराउन प्रहरीले सबैलाई आह्वान गरेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७९ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?