• १४ वैशाख २०८१, शुक्रबार

वैदेशिक रोजगार बचतपत्र बिक्री गरिँदै

blog

काठमाडौँ, फागुन १४ गते ।  वैदेशिक रोजगारीमा रहेका नेपालीको बचत गर्ने बानी बसाल्न नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । आगामी पाँच वर्षका लागि खुला गरिएको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’को ब्याजदर १२ दशमलव ५० प्रतिशत तोकिएको छ ।

राष्ट्र बैङ्कले फागुन १४ गते आइतबारदेखि चैत ३ गतेसम्म बिक्री खुला गरेको ऋणपत्र चैत १० गते बाँडफाँट गरिने जनाएको छ । आगामी २०८४ चैत १० गते साँवा भुक्तानी गरिने बचतपत्रमा घटीमा १० हजार रुपियाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपियाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्नका लागि आवेदन दिन सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका अथवा विदेशमा रोजगारी गरेर फर्केर छ महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफ्नो परिवारको नाममा खरिद गर्न सक्नेछन् । यसको ब्याज छ­/छ महिनामा भुक्तानी हुनेछ ।

प्रचारप्रसार कम

विदेशी मुद्रा भित्र्याउने र बचतमा बानी बसाल्ने मुख्य उद्देश्य लिइएको वैदेशिक रोजगार बचतपत्रप्रति यसकै सरोकारवालाको आकर्षण कमै रहेको छ । वैदेशिक रोजगारीमार्फत भित्रिने रकम धेरै मात्रामा उपभोगमै खर्च हुने गरेकाले बढ्दो आयात घटाउनुका साथै तरलता बढाउन यो बचतपत्र ल्याइए पनि धेरैले यसको महत्त्व बुझ्न नसकेको नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताउनुभयो । 

वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेका विदेशी मुद्रा वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त गर्नु यसको उद्देश्य रहेको छ । 

नेपाल सरकारले निश्चित ब्याजदर तोकी नेपाली रुपियाँमा जारी हुने मध्यमकालीन अवधिको सरकारी ऋणपत्रका रूपमा वैदेशिक रोजगार बचतपत्र निकाल्ने गरिएको छ तर लक्षित वर्गसम्म यसको महत्त्वबारे जानकारी पुग्न नसक्दा यसप्रति आकर्षण धेरै कम छ । 

वैदेशिक रोजगार बचतपत्र झट्ट हेर्दा नेपाल सरकारको आन्तरिक ऋण उठाउने माध्यमका रूपमा रहेको एक प्रकारको ऋणपत्र भए पनि यसको मुख्य उद्देश्य विदेशमा काम गर्न गएका नेपालीको देश विकासमा योगदान पुगोस्, उनीहरूले कमाएको रकमले नेपालको अर्थतन्त्र उकालो लागोस् भन्ने नै रहेको उहाँले बताउनुभयो । 

अनुत्पादक क्षेत्रमा खर्च नहोस्, ससानो बचत परिचालन प्रभावकारी रूपमा होस्, लगानीकर्ताले यसमा राम्रो प्रतिफल र सुरक्षा प्राप्त गर्न सकून् भन्ने यो बचतपत्रको उद्देश्य रहे पनि यसको प्रचारप्रसार तीव्र रूपमा हुन नसकेको डेपुटी गभर्नर मिश्रको अनुभव छ । वैदेशिक रोजगारीमा जाने सम्पूर्ण नेपाली र तिनका परिवारले यो बचतपत्र र यसको महत्त्व जान्ने हो भने अर्थतन्त्रमा यसको योगदान बढ्न सक्ने उहाँको भनाइ छ ।