१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मौसमी कामदार लैजान पछि हट्यो कोरिया

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२२:oo

भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने गरेको भन्दै कोरियाले नेपाली श्रमिकलाई मौसमी कामदारका रूपमा लैजानबाट पछि हटेको छ । नेपालसँगै कम्बोडिया, भारत, बंगलादेशलगायतका मुलुकबाट लगिएका मौसमी कामदार भिसा अवधि सकिएपछि लुकेर कोरिया बस्न थालेपछि तत्कालका लागि मौसमी कामदार भर्ना प्रक्रियामा मौन रहेको हो । 

कोरियाले कृषिलगायताका क्षेत्रमा निश्चित अवधिका लागि विश्वका विभिन्न मुलुकबाट कामदार लैजाने गरेको छ । बाली थन्क्याउने तथा लगाउने समयलाई लक्षित गर्दै कोरियाले सीमित समयका लागि मात्रै कामदार भर्ना गर्छ । यस्तो कामदारको भिसा तीन महिनादेखि एक वर्षसम्मको हुन्छ । अवधि सकिएपछि कामदार आफ्नै मुलुक फर्कनुपर्छ ।

 विगतमा नेपालबाट मौसमी कामदार कोरियाले लैजाने गरे पनि अहिले कुनै पनि पहल नगरेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारसम्बन्धी निर्देशिका नै जारी गरेको छ । निर्देशिकाबमोजिम विभागले नेपालस्थित कोरियाली दूतावास र कोरियाका लागि नेपाल दूतावासमार्फत कोरियाको सम्बन्धित निकायमा समेत प्रस्ताव गरेको विभागका महानिर्देशक आचार्यले बताए । तर, कोरिया सरकारले हालसम्म यस विषयमा कुनै पनि प्रतिक्रिया नदिएको उनले बताए ।  

 हतारमा निर्देशिका जारी 
श्रम मन्त्रालयले मौसमी कामदारसम्बन्धी निर्देशिका तीव्र गतिमा पारित गरेको छ । केही स्थानीय निकायले आफूखुसी मौसमी कामदार कोरिया पठाएको सूचना बाहिरिएपछि सरकारले निर्देशिका बनाएको हो । स्थानीय निकायलाई खुसी बनाउन संघीय निर्वाचनअघि नै हतार–हतारमा सरकारले निर्देशिका पारित गरेको थियो । 

वैदेशिक रोजगार ऐनबमोजिम विभागबाट कामदार पठाउन अनुमति नपाएका कुनै पनि व्यक्ति वा निकायले कामदार पठाउन नपाउने व्यवस्था छ । तर, स्थानीय निकायले आफूखुसी कोरियास्थित स्थानीय निकायसँगको सम्झौतामा कामदार पठाएका थिए । त्यसैले सो प्रक्रियालाई वैधानिक बनाउन सरकारले निर्देशिका जारी गरेको थियो ।

निर्देशिकाअनुसार स्थानीय सरकारले मौसमी कामदार पठाउँदा शून्य लागतमा नै पठाउनुपर्नेछ । सम्बन्धित रोजगारदातासँग श्रम सम्झौता गर्दा कामदार सम्बन्धित रोजगारीमा पुगेर फर्कंदासम्मको सम्पूर्ण आर्थिक जिम्मेवारी रोजगारदाताले नै व्यहोर्ने गरी सम्झौता गरिनुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । 

मौसमी कामदार पठाउन सरकारले इच्छुक मुलुकसँग मौसमी कामदारका लागि सम्झौता गर्न सक्नेछ । सम्झौतापछि सम्बन्धित मुलुक, रोजगारदाता वा सरकारले तोकेको निकायले नेपाली नागरिकलाई मौसमी कामदारका रूपमा नियुक्त गर्न चाहेमा विभिन्न विवरणसहित सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा गई मागपत्र प्रमाणीकरण गर्नुपर्नेछ । त्यस्तै, मागपत्रप्राप्त स्थानीय तहले पनि सार्वजनिक सूचना नै जारी गरी रोजगारमा जान चाहने व्यक्तिसँग आवेदन माग गर्नुपर्नेछ । प्राप्त आवेदनबाट उम्मेदवारको छनोट गरी विभागमा पठाउनुपर्नेछ ।

 गैरकानुनी मौसमी कामदार जोखिममा
गैरकानुनी प्रक्रियामार्फत मौसमी कामदार गएको मौसमी कामदार जोखिममा परेको श्रम मन्त्रालयले बताएको छ । मन्त्रालयको कल सेन्टरमा दैनिक मौसमी कामदार गएर जोखिममा परेको कामदारको गुनासो आउने गरेको मन्त्रालयको दाबी छ । 

मन्त्रालयका अनुसार अधिकांश कामदार व्यक्तिगत श्रम स्वीकृतिमा मौसमी कामदार कोरिया, युके, क्रोसिया, माल्टालगायतका मुलुकमा गएका छन् । एजेन्टमार्फत मौसमी कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने हुँदा चर्को शुल्क भुक्तानी गर्नुपर्ने र तोकिएबमोजिम कामदारले पारिश्रमिक र अन्य सुविधा नपाउने गरेको मन्त्रालयमा गुनासो आउने गरेको छ ।

कतिपय कामदार विभिन्न मुलुक हुँदै गन्तव्य मुलुक पुग्ने हुँदा सरकारसँग उनीहरूको कुनै तथ्यांक नै नहुने गरेको मन्त्रालयको भनाइ छ ।  श्रक मन्त्रालयको नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२२ अनुसार आर्थिक वर्ष ०७४÷७५ देखि आव ०७८÷७९ सम्ममा ६० हजार नेपाली कामदारले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा गएका छन् । मौसमी कामदारका रूपमा रोजगारीमा जाने कामदारले व्यक्तिगत श्रम स्वीकृति लिएर गएको देखिन्छ । 

ad
ad