१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विदेशबाट फर्किएका महिलालाई रोजगारीकै समस्या

स्वदेशमै काम गर्ने वातावरण नै बनेको छैन, उद्यम गर्नका लागि पनि सहजीकरण गरिदिने निकाय मौन छन्
ज्योती श्रेष्ठ

काभ्रे — आर्थिक अवस्था कमजोर भएका कारण बनेपा नगरपालिका–४ की ३६ वर्षीया बिना परियारलाई विदेशको यात्रा तय गरायो । विदेश जानु भनेकै उनको लागि पैसा कमाउनु थियो । पैसा कमाउनको लागि पनि पैसाको जोहो गर्नुपर्ने उनको बाध्यता थियो ।

विदेशबाट फर्किएका महिलालाई रोजगारीकै समस्या

परिवारको साथ नभएकै कारण आफन्तसँग सरसापटी गरेर विदेश जान १ लाख ३० हजार रुपैयाँको चाँजोपाँजो गरिन् । श्रीमान्सँगको राम्रो सम्बन्ध नभएकाले उनले १४ वर्षीया र ७ वर्षीया छोरीलाई माइतमा जिम्मा लगाएर २०७४ मा रोजगारी गर्न कतार पुगिन् ।

‘हातमा अरू कुनै सीप थिएन, आफूले जे जानेको थियो, त्यहीँ गर्नुपर्ने थियो,’ उनले भनिन्, ‘सरसफाइको काम गर्नुपर्थ्यो, त्यो पनि एकै ठाउँमा होइन, कम्पनीले कहिले कहाँ त कहिले कहाँ पुर्‍याउँथ्यो, पैसा पनि ठीकै थियो, महिनाको नेपाली २४ हजार कमाइ हुन्थ्यो ।’ विदेश जानका लागि सापटी मागेको पैसा बिस्तारै तिर्दै गइन् । सबै ऋण तिरिसकिन्, अलिअलि पैसा पनि जोगाउन थालेकी थिइन् । काम गरेको एक वर्ष नबित्दै कम्पनी बन्द भएपछि उनी नेपाल फर्किन बाध्य भइन् ।

‘दुःखीलाई जहाँ गए पनि दुःख नै, स्वदेशमा काम नपाएर विदेश गइयो, विदेशमा पनि काम नभएर नेपाल फर्कियो,’ उनले भनिन्, ‘अहिले नेपाल फर्केर पनि काम पाइएको छैन, घरको अवस्था पनि ठीक छैन, श्रीमान्सँग सम्बन्ध विच्छेद भयो, व्यवसाय गर्न लगानी गर्न सक्ने स्थिति छैन, जागिर गर्न पढे–लेखेको छैन । जीविका चलाउनै गाह्रो हुन लागिसक्यो ।’ रोजगारीका लागि विभिन्न ठाउँमा भौंतारिँदा पनि काम नपाएको उनले बताइन् । उनका अनुसार, अहिले १ सय दिनको स्वरोजगारको काम पाएको र त्यो सकिएपछि अर्को काम पाउने टुंगो नभएको बताइन् ।

बनेपा–३ की सञ्जु तामाङले रोजगारीका लागि धेरै ठाउँमा प्रयास गरिन् । कतै तलब चित्त नबुझ्ने त कतै काम नै । नेपालमा राम्रो काम र दाम दुवै नहुने भएपछि उनले विदेश जाने योजना बनाइन् । योजना बने पनि इराक जानु भनेको निकै जोखिम भएकाले श्रीमान्लाई सहमत गराउन गाह्रो भएको उनले बताइन् । उनको जिद्दीपनाको जित भयो । २०७३ सालमा रोजगारी गर्न इराक गइन् । सरकारले इराकका लागि श्रम स्वीकृति नदिएकाले एजेन्टमार्फत जानुपर्दा धेरै दुःख भोग्नुपरेको उनले बताइन् । ‘श्रम स्वीकृति नभएकाले सिधै इराक पुग्ने स्थिति थिएन,’ उनले भनिन्, ‘भारत, दुवै, इरान हुँदै मात्र इराक पुर्‍याएको थियो, यताबाट जाने बेलामा तोकिएको पारिश्रमिक पनि पाइएन, सुरुको ६ महिना तलब पाइएन, त्यसपछि पाएको पैसा राम्रो थियो, ठाउँ जोखिम भएकाले पनि धेरै काम गर्न सकिएन, साढे दुई वर्षमै नेपाल फर्किएँ ।’ फर्केलगत्तै कोभिड महामारी सुरु भएपछि स्वदेशमै रहेको जनाइन् । स्वदेश फर्किएर पनि उनले रोजगारीका लागि प्रयास नगरेको होइन । कहीँ कतै राम्रो जागिर नपाएकाले उनले पुनः विदेश नै जाने योजना बनाएकी छिन् ।

१२ वर्ष लेबनानमा पसिना बगाएकी बनेपा–५ की अस्मिता परियार स्वदेश फर्केको ३ वर्ष भयो । फर्केपछि रोजगारीका लागि धेरै भौंतारिँदा राम्रो काम कतै नपाएको उनले बताइन् । ‘यहाँ सीप भए पनि राम्रो काम कतै हुँदैन, सबै ठाउँमा पावर नै चल्ने रहेछ,’ उनले भनिन्, ‘व्यापार व्यवसाय गर्नका लागि लगानी गर्ने क्षमता छैन, स्वदेश फर्केर काम गर्ने वातावरण छैन । त्यसकारण फेरि विदेश नै जाने योजना बनाएको छु ।’ पहिला सीप नसिकेकाले दुःख पाएको अहिले सीप सिकेर जान लागेको बताइन् । उनले अहिले हाउस वायरिङको सीप सिकिरहेकी छन् ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सीपमूलक कार्यक्रमको आवश्यक रहेको पनौती नगरपालिका–८ की इन्दु श्रेष्ठले बताइन् । इन्दु आठ वर्ष कुवेत बसेर फर्किएकी हुन् । स्वदेश कामको सम्मान नहुने समस्या सुनाइन् । रोजगारी, समान व्यवहारलगायतका विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण नभएको सुनाइन् । ‘चौतारीमा गएर गफ गरेको जस्तो भएको छ,’ उनले भनिन्, ‘यस विषयमा धेरै गफ भए, तर हाम्रा समस्या जस्तातस्तै छ, स्वदेशमै काम गर्ने वातावरण नै बनेको छैन, उद्यम गर्नका लागि पनि सहजीकरण गरिदिने कुनै निकाय छैन, अनुदानको व्यवस्था केही छैन, दुःख गरेर उत्पादन गर्‍यो, उत्पादनले बजार पाउँदैन, बजारीकरणको समस्या छ, समस्या सुनिदिने निकाय नै छैन ।’

महिलाको श्रमको उचित मूल्यांकन नभएको श्रमजीवी महिला सञ्जालकी अध्यक्ष शान्ति श्रेष्ठले बताइन् । स्वदेशमा होस् या विदेशमा जहाँ श्रम गरे पनि महिलाहरूको कामलाई सम्मान नगरिएको उनको भनाइ थियो । ‘विदेशबाट फर्किएका महिलाहरूको कामलाई त झनै फरक छ,’ उनले भनिन्, ‘कामको सम्मान छैन, उनीहरूलाई राम्रो व्यवहारसमेत गरिँदैन, चरित्रमा समेत प्रश्न गरिन्छ ।’ १७ वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किंदा आफूले भोगेको अनुभवबारे बताउँदै उनले भनिन्, ‘महिलाहरूप्रति गरिने व्यवहार र उनीहरूप्रति हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक, सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी छ ।’

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको समस्या पहिचान विषयक छलफल कार्यक्रममा काभ्रेबाट रोजगारीका लागि विदेश पुगेर फर्किएका महिलाहरूले आफ्ना समस्या राखेका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूका लागि औपचारिक तथा प्राविधिक शिक्षा प्रदान गराउनका लागि आवश्यक सहजीकरण गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमका लागि पनि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घरेलु हिंसा न्यूनीकरणका लागि प्रहरीले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूलाई कुनै हिंसा भएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्दछु, प्रहरीले आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।’ तरंगी फाउन्डेसनको आयोजनमा सञ्चालन गरिएको छलफल कार्यक्रममा महिलाहरूले आफ्ना समस्या राखेका थिए । कार्यक्रमलाई मनोपरामर्शदाता निर्मला काफ्लेले सहजीकरण गरेकी थिइन् ।

प्रकाशित : फाल्गुन २४, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?