• १६ चैत २०८०, शुक्रबार

१४ वर्षदेखि साउदीमा बेपत्ता

blog

हरि कोइराला

उर्लाबारी, फागुन २८ गते । घर परिवारका समस्या टार्न विदेसिनुभएका मोरङको पथरीशनिश्चरे– ३ का शुक्रराज तामाङ १४ वर्षदेखि साउदी अरबमा बेपत्ता हुनुहुन्छ । 

काठमाडौँको जुपिटर ओभरसिजबाट २०६५ साल भदौ १७ गते साउदी अरबका लागि उड्नु भएका तामाङले उहाँ पुगेपछि एक पटक मात्र फोन गर्नुभयो । काममा लागें, भनेर जानकारी गराएदेखि उहाँले फोन नगरेको र हालसम्म बेपत्ता भएको बताउनुभयो । न पत्र पठाउनुभएको छ । कान्छी छोरी सोममाया माझीले भन्नुभयो–‘बुबा घरबाट हिँड्दा म ८ वर्षकी थिएँ । अहिले बिहे भएको पनि २÷३ वर्ष भइसक्यो । भाइ त झन् १ वर्षको थियो । पाँच छोरी र एक छोराका बाबु शुक्रराज साउदीको वाडर इब्राहिम अल हार्जीमा लेबर काम गर्नुहुन्थ्यो । १८४८८६३ नम्बरको पासपोर्ट बाहक तामाङ मरे बाँचेको टुङ्गो नलागेपछि पाँचै जना छोरी र एउटा छोरो बाबुको खोजीमा निस्किनुभएको छ । 

जेठी छोरी मनमाया तामाङले भन्नुभयो – सानो छँदा ख्याल भएन । जब जिम्मेवारी थपियो । त्यसपछि बाबुको खोजीमा लागेका छौँ । मिडिया, प्रशासन, प्रहरी सबैतिर हारगुहार गरिसक्यौँ । तर हाम्रो कार्यक्षेत्र होइन भनेर निराशाजनक जवाफ पायौँ । बाबुको एउटा फोटो, नागरिकताको सक्कल प्रमाणपत्र र गन्तव्यको अन्तिम विवरण उल्लेख भएको कागज बोकेर उहाँहरू दैनिकजसो वैदेशिक रोजगारका कार्यालय धाइरहनुभएको छ।