+
+
लघुवित्तको दलदल :

लघुवित्तको ऋणले उजाडिंदै रौतहटको नयाँ बस्ती

सागर चन्द विजय पराजुली सागर चन्द, विजय पराजुली
२०७९ फागुन १५ गते १८:५३

१५ फागुन, रौतहट । घरको ढोकामा ताला लागेको छ । ढोकासंगै रहेको बिजुली मिटर बक्समा बिलको एउटा मुठो राखिएको छ । रंग खुइलिसकेको यो घरमा बिजुलीको बिल तिर्ने मान्छे छैनन् । रौतहट चन्द्रपुर नगरपालिका– ७ नयाँ बस्तीमा ताला लगाइएको प्रशस्तै घर देखिन्छन् ।

‘घरधनी कहाँ छन् ?’

‘बैंकको ऋण तिर्न नसकेपछि भागे’, किस्मतिया देवीले लघुवित्तलाई बैंक भनिन् । मधेशमा धेरैले लघुवित्तलाई पनि बैंक भनेर चिन्छन् ।

आँगन जोडिएको जेठाजु बैजु साहको परिवारले घर छाडेर गएको कति समय भयो किस्मतियाले हिसाब गरेकी छैनन् ।जेठाजुको परिवार जस्तै आफूले पनि कुनै दिन घर छाड्नुपर्ने हो कि भन्ने पीरले उनलाई पनि सताइरहन्छ ।

बैजु साहको घर ।

०५० को बागमती बाढीबाट विस्थापितहरुको बसोबासका लागि सरकारले यहाँ बस्ती बसाएको थियो । त्यसैले यसको नाम ‘नयाँ बस्ती’ रहन गयो । बाढी पीडितका लागि भनेर सरकारले १२ धुर जमिनमा २ कोठे घर बनाइदियो । हरेक घरको अगाडि पक्की सडक छ । ढल व्यवस्थापनका लागि नाला छ । बस्तीको बीचमा ठूलो खेल मैदान पनि छ । बाढीबाट विस्थापित भएका ६ सय परिवार बसेको यो बस्तीमा फेरि लघुवित्त समस्याको रुपमा आएको छ ।

बाढीले घरबार बगर बनाएपछि सरकारी कोटाको घरमा बस्न आइपुगेकी किस्मतियालाई हातमुख जोर्नकै लागि संघर्ष छ ।

किस्मतियाका श्रीमान भोला साहको उमेर त ४० वर्ष हो । तर, दुःखले थिचिएका उनी बढ्तै पाको देखिन्छन् । दमका रोगी उनले हरेक दिन औषधि खानुपर्छ । थोरै मात्र जोड पर्‍यो भने उनको सास फुल्छ । सास फेर्न सजिलो होस् भनेर डाक्टरले उनलाई इनहेलर (दमका रोगीले प्रयोग गर्ने औषधी) हरदम साथमा बोक्न आग्रह गरेका छन् ।

‘चटपटे बेचेर आर्जेको आनासुकीले घर चलाउनु कि ऋण तिर्नु ?,’ किस्मतिया आफ्नो किस्मतलाई सराप्छिन्, ‘भाग (भाग्य) नै खराब भयो ।’

श्रीमानलाई विदेश पठाउन भनेर ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् किस्मतियाले । मलेसिया गएका उनका श्रीमान काम गर्न नसकेपछि ६ महिनामै रित्तो हात घर फर्किए । श्रीमानले विदेशबाट पैसा ल्याउलान् भन्ने आश गरेकी किस्मयिताको आशै मर्‍यो, ‘ढेउवा ल्याउछन् भनेको बिराम बोकेर आए’, नेपालमा जचाउँदा उनको फोक्सोमा पानी भरिएर निमोनिया भएको देखियो ।

डिप्रोक्स, मेरो माइक्रो फाइनान्स लघुवित्तको मात्र नाम सम्झना छ किस्मतियालाई । ‘कसैबाट ३० हजार, ५० हजार, ८० हजार लिएको छ’ किस्मतिया सुनाउँछिन् । कमाइ गर्ने श्रीमान दमको रोगी भएर नसक्ने भएपछि किस्मतियालाई आपत आइलागेको छ । ‘बसेपछि त खान पनि आपत हुने रहेछ’, किस्मतियालाई पीर छ, ‘छोरीको सादी (विवाह) गर्ने बेला भयो ।’

किस्मतिया देवी ।

उनको घरको दैलोमा हरेक महिनाको २, १५ र २० गते लघुवित्तका कर्मचारी आइपुग्छन् । ‘बुढोलाई दिनकै डेढसयको औषधि किन्नुपर्छ’, किस्मतिया भन्छिन्, ‘बाँचे छौं भने त तिर्ने हो ऋण ।’

नयाँ बस्तीमा किस्मतियाको जस्तै लघुवित्तको ऋण तिर्न धौ–धौ भएका अरु पनि परिवार छन् । ६ सय घरका १२ सय भन्दा बढी परिवारमध्ये अधिकांशको थाप्लोमा लघुवित्तसँगै गाउँका साहुकारको ऋण छ । लघुवित्त र मिटरब्याजको ऋण तिर्न नसकेपछि खाली हुँदै गरेका यो बस्तीका सरकारी घर मक्किएर भत्किँदैछन् ।

यो बस्तीमा बस्ने अधिकांशको सम्पत्ति सरकारले बनाइदिएको घरमात्र हो । ऋणको पिछा छुटाउन उनीहरु यही घर पनि छाडेर अनाम गन्तव्यतिर जाँदैछन् ।

स्थानीय अरुण पासवानका अनुसार नयाँ बस्तीका हरेक घरले कम्तीमा चार र बढीमा १८ वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका छन् ।

यसरी नै ऋण लिएका एक हुन् चौठी महरा । इँटा भट्टामा काम गरेर परिवार पाल्ने चौठीले डिप्रोक्स, विजय, नेरुडे लगायतका ६ वटा लघुवित्तबाट ऋण लिएका छन् । अरु गाउँले झै उनीसंग पनि लघुवित्तबाट ऋण लिएको देखाउने कागजात छैन । न त पासबुक नै छ । हिसाबकिताबमा समेत कमजोर उनी आशंका गर्छन्, ‘१० हजार लिएको ५० हजार बनाइसक्यो । कतिमा त ब्याज पनि एक लाख पुगिसक्यो ।’

लघुवित्तका कर्मचारीले ब्यापार, बिजेनस गर्नुपर्छ भन्दै जबर्जस्ती ऋण थमाएको उनको दाबी छ । ‘यहाँ त पुरै संसारले यस्तो गरेको छ । सरले सिकाएर जबर्जस्ती ए राख्नु न भन्छ, आइमाई पाँच जनाको गुरुप बनाउनु भन्छ । अनि जबजस्ती ए ऋण राख्नुहोस् भन्छ’ उनले भने ।

तर ऋण लिएपछि लघुवित्तका कर्मचारीले दिनकै दैलो ढुक्न थालेपछि ७ जनाको परिवार पाल्नुपर्ने चौठीको निन्द्रा हराएको छ । ‘अहिले टाइट गरिरहेको छ, हामीलाई त फसाइदियो’, चौठी भन्छन्, ‘बेटाको विदेश पठाउन रोक्छु । जनमदर्ता रोक्छु भन्छ । खर्च चलाउने कि किस्ता तिर्ने ?’

स्थानीय अगुवा अरुण पासवानका अनुसार विश्वेश्वर महरा, विष्णु महरा, राम आधार महरा, रामसुनर महरा, श्रीनारयण महरा लगाएत एक दर्जन भन्दा बढी परिवारले गाउँ छाडिसकेका छन् ।

दुई छाक जुटाउन इँटा भट्टा, साहु महाजनको खेतमा काम गर्ने यो बस्तीका मानिसहरु लघुवित्तको ऋणमा कतिसम्म पिल्सिएका छन् भने कतिपयको घरमा भात खानका लागि चामल समेत छैन ।

स्तन क्यान्सरबाट ग्रसित पार्वती रामको थाप्लोमा ४ वटा लघुवित्तको ऋण छ । ‘कौनो मे ८० हजार, कौनो मे ७० हजार, कौनो मे ४० हजार’, लघुवित्तको ऋण तिर्न मिटरब्याजमा ऋण लिएकी उनी भन्छिन्, ‘कर्जा पैचा लेगे चोट से मरगइल ।’

पार्वती राम ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा जचाउँदा उनको दाहिने स्तनमा क्यान्सर भएको पुष्टि भएको छ । तर, उनीसंग उपचारका लागि पैसा छैन । एक साता अगाडि मात्र अस्पताल गएकी उनी उपचार नगराइकनै फर्किइन् । ‘अस्पताल मे पैसा ना पुगलाई, २० हजार मागइछी, तो पैसा ना है’, उपचार नगराई फर्किनुको कारण सुनाइन् उनले ।

४४ वर्षकी पार्वतीलाई स्तनक्यान्सरले भन्दा ऋणले बढ्ता दुःख दिन्छ । ६ सन्तानकी आमा उनी आफ्नो शरीरको ब्यथातर्फ संकेत गर्दै भन्छिन्, ‘घाउ बा । बहुत मजुरी बा । कौनो उपाय ना बा ।’ अस्पतालबाट उपचार नगराई घर फिरेकी उनीसंग क्यान्सरको पीडा सहनुको विकल्प छैन ।

उनका श्रीमानको एउटा हात छैन । साहु महाजनको खेतमा काम गर्ने पार्वतीका श्रीमानले ल्याएको आर्जनले नै उनको परिवार पालिन्छ । लघुवित्तका कर्मचारी हरेक दिन ऋण उठाउन घरमा आउन थालेपछि महिलाहरु लुक्न जंगल जान्छन् ।

नयाँ बस्तीसंगै जोडिएको जंगलका वनपाले जगदिश मुखिया सुनाउँछन्, ‘सब औरतहरु दिनभर जंगलमा हुन्छन् । बैंकको कर्मचारी आउँछ भनेर जंगलमा लुकेर बस्छन् ।’

पार्वतीलाई क्यान्सर अस्पतालका डाक्टरले तीन महिनामा आउनू भनेका छन् । तर, उनलाई अस्पताल जान पनि डर लाग्छ । हरेकपटक अस्पताल जाँदा पैसा खर्च हुन्छ ।

साइकल पसल चलाउन भनेर ऋण लिएकी उषा कुमारीसंग अहिले साइकल पसल छैन । ‘लक डाउनले पसल डुब्यो’, उषा सुनाउँछिन्, ‘अहिले ऋण मात्र छ ।’

धेरैजसो दलित समुदायको बसोबास भएको यो बस्ती फेरि उजाडिने संघारमा पुगेको छ । बाढीले उठीबास लगाएपछि यहाँ बस्न आइपुगेका उनीहरुसंग यहाँबाट उठेर जाने ठाउँ छैन । किस्मतिया देवी भन्छिन्, ‘घरमा बस्नै दिएनन भने त जानुपर्ला ।’

सामूहिक दुःखमा बाँचिरहेको यो बस्तीका धेरै वासिन्दाले भाग्नुको विकल्प  देखेका छैनन् । नारायण गोपालको गीतमा जस्तै उनीहरुले भनिरहेका छन् :

‘भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्की आउने हो कि होइन केही थाहा छैन..।’

लघुवित्तको दलदल
लेखकको बारेमा
सागर चन्द

विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?