१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
इम्माकुलेट नाम्बसेम्बा
टेकराज थामी काठमाडाैं
२०७९ फाल्गुण १९ शुक्रबार ०५:५७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वेश्यावृत्तिमा लगाउन युगान्डादेखि काठमाडौं ल्याइन्छन् युवती 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ फाल्गुण १९ शुक्रबार ०५:५७:००

प्रतिमहिना पाँच सय डलर कमाइ हुने प्रलोभनमा युवती ल्याउने इम्माकुलेट नाम्बसेम्बा पक्राउ 

काठमाडौंका होटेलमा वेश्यावृत्तिमा संलग्न युगान्डाका ६ युवती फेला परेका छन् । अफ्रिकी मुलुक युगान्डादेखि युवती ल्याउने २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाम्बसेम्बा पक्राउ परेपछि उनले युगान्डाका युवती काठमाडौंसम्म ल्याएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंका होटेलमा वेश्यावृत्तिमा युगान्डाका ६ जना युवती संलग्न भएको भेटिएको जनाएको छ । जबर्जस्ती वेश्यावृत्तिमा लगाइएकी युगान्डाकै एक युवतीले जाहेरी दिएपछि प्रहरीले नतासालाई पक्राउ गरेको हो । अन्यले भने प्रहरीमा जाहेरी दिएका छैनन् । ब्युरो प्रमुख एसएसपी जीवन श्रेष्ठले काठमाडौंमा वेश्यावृत्तिमा लगाउन युगान्डादेखि युवती ल्याउने गरिएको भेटिएको बताए । ‘काठमाडौंका होटेलमा युगान्डादेखि युवती ल्याउने गरिएको भेटिएको छ । सो कार्यमा संलग्न एकजना पक्राउ परेका छन् । उनीविरुद्ध एक पीडितले जाहेरी दिएकी छिन् । सम्पर्कमा रहेका अन्यले भने जाहेरी दिएका छैनन् । अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रहरीका अनुसार पक्राउ परेकी नतासाले प्रतिमहिना पाँच सय अमेरिकी डलर कमाइ हुने प्रलोभनमा युगान्डाबाट युवतीलाई नेपाल ल्याउँदै आएकी थिइन् । उनीहरूलाई काठमाडौंका होटेलमा वेट्रेस र क्लिनरको काम लगाउने भनिएको थियो । तर, काठमाडौं आएपछि वेश्यावृत्तिमा लगाइएको थियो । सोहीमध्येकी एक युवतीले प्रहरीमा जाहेरी दिएपछि तथ्य बाहिरिएको थियो । 

नतासाले वेट्रेस र क्लिनरमा प्रतिमहिना पाँच सय अमेरिकी डलर कमाइ हुने प्रलोभनमा युगान्डादेखि काठमाडौंसम्म युवती ल्याएको ब्युरोका प्रवक्ता एसपी कृष्ण पंगेनीले बताए । ‘वेश्यावृत्तिमा युगान्डाकी युवती संलग्न भएको भेटिएको छ । उनीहरूलाई युगान्डाकै युवतीले प्रतिमहिना पाँच सय डलर कमाइ हुने प्रलोभनमा काठमाडौं ल्याएको खुलेको छ । वेट्रेस र क्लिनरको काममा प्रयोग गर्न ल्याइए पनि उनीहरूलाई वेश्यावृत्तिमा लगाइएको देखिन्छ । जसमध्ये एकजनाको जाहेरी परेको छ । सम्पर्कमा आएका अन्यसँग बयान जारी छ,’ उनले भने ।

प्रहरीका अनुसार नतासा पछिल्लोपटक गत २२ मंसिरमा नेपाल आएकी थिइन् । पर्यटन भिसामा नेपाली आएकी उनी ठमेलस्थित होटेल जर्नी होममा बस्दै आएकी थिइन् । युगान्डादेखि ल्याएकी युवतीलाई पनि उनले सोही होटेलमा राखेकी थिइन् । सम्पर्कमा आएका ग्राहकसँग उनले प्रतिरात चार हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ । धन्दामा लगाउन उनले अन्य युवतीलाई पनि पर्यटन भिसामै नेपाल ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार नतासा यसअघि पनि नेपाल आएकी थिइन् । नेपालमा रहँदा उनी आफैँ यौनधन्दामा संलग्न भएको प्रहरीको भनाइ छ । धन्दाबाट कमाइ राम्रो हुने देखेपछि उनले अन्य युवतीलाई युगान्डादेखि ल्याएको ब्युरोका प्रवक्ता एसपी पंगेनीले बताए । ‘नतासा पहिले पनि नेपाल आउने–जाने गरेको देखिन्छ । पर्यटन भिसामा आएकी उनी यसअघि उनी आफैँ पनि यौनधन्दामै संलग्न थिइन् । काम सजिलो र कमाइ पनि राम्रै हुने देखेपछि उसले अन्य युवतीलाई नेपाल ल्याएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

यसरी बाहिरियो यौनधन्दाको रहस्य 
नतासाले गत १४ माघमा युगान्डाकी एक युवतीलाई दिदीमार्फत फकाएर काठमाडौं ल्याइन् । होटेल र हवाई खर्च आफैँले व्यहोरिन् । त्यसवेला उनलाई होटेलमा वेट्रेसको काम भनिएको थियो । प्रतिमहिना पाँच सय अमेरिकी डलर कमाइ हुने प्रलोभन दिइएको थियो । पर्यटन भिसामा युवती नेपाल आइन् । नतासाले उनलाई ठमेलस्थित होटेल जर्नी होममा लगेर राखिन् । केही दिन काम दिइनन् । युवतीले कामबारे सोध्न थालिन् । त्यसपछि नतासाले उनलाई यौनधन्दाबारे बताइन् । युवतीले धन्दा गर्न अस्वीकार गरिन् । स्वदेश फर्कन जहाजको टिकट पनि काटिन् । तर, नतासाले उनलाई विभिन्न प्रलोभन देखाइन् । युवती धन्दा गर्न राजी भइन् । उनले दैनिक सातजनासम्म ग्राहकलाई सेवा दिनुपर्थ्यो । यही क्रममा युवती बिरामी परिन् । धन्दा गर्न नसक्ने जानकारी नतासालाई दिइन् । तर, नतासाले उनलाई जबर्जस्ती धन्दामा लगाइरहिन् । 

पीडा बढ्दै गएपछि युवतीले स्वदेश फर्कन पुनः जहाजको टिकट काटिन् । गत १४ फागुनमा स्वदेश फर्कन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । टिकट लिन काउन्टर गइन् । तर, टिकट यसअघि नै नतासाले रद्द गराएको जानकारी पाइन् । उनी रन्थनिइन् । सहयोग माग्न हारगुहार गर्न थालिन् । यही क्रममा उनी विमानस्थलस्थित प्रहरीको सम्पर्कमा पुगिन् । सोधपुछका क्रममा उनले घटनाको बेलीविस्तार लगाइन् । विमानस्थल प्रहरीले थप अनुसन्धानका लागि उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठायो । उनले ब्युरोमा जाहेरी दिइन् । प्रहरीले अनुसन्धान सुुरु गर्‍यो । लगत्तै प्रहरीले नतासालाई पक्राउ गरेको थियो ।