१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:२८:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अवैध यात्रामा युरोप सपनाको दु:खान्त

Read Time : > 10 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:२८:००

रुस–युक्रेन युद्धपछि युरोपमा नेपाली युवाको अवैध यात्रा झन् बढेको छ । उच्च पारिश्रमिक, सहज जीवनशैली र स्थायी बसोवासको सुविधा पाउने लोभमा दलाललाई लाखौँ बुझाएर गएका युवा आर्थिक रूपमा मात्रै फसेका छैनन्, कैयौँको जीवन नै समाप्त भएको छ । 

बागलुङका बाबुराम लोहनीको परिवारका सबै सदस्य र आफन्त पनि विदेशमै छन् । उनलाई पनि विदेश जाने हुटहुटी भएपछि युरोप छिर्ने चक्करमा लागे । उनीजस्तैका खोजीमा हिँडिरहेका एक एजेन्टसँग लोहनीको भेट भयो । १२ लाख रुपैयाँ दिए पोर्चुगल पुर्‍याइदिने एजेन्टको आश्वासन उनले सजिलै स्विकारे । कागजपत्र र पैसा एकसाथ बुझाए । 

गत तिहारको अघिल्लो दिन पाँच महिनाकी गर्भवती श्रीमती कमलालाई छाडेर २९ वर्षीय लोहनी पोर्चुगलका लागि हिँडे । नेपाली एजेन्टले रसिया पुर्‍यायो । त्यहाँ भारतीय एजेन्टको जिम्मा लगाएर नेपाली एजेन्ट फर्कियो । भारतीय एजेन्टले रसियाबाट बस चढाएर बेलारुस पुर्‍यायो । ‘श्रीमान् बेलारुस पुग्दासम्म सम्पर्क भइरहेको थियो । तर, गैरकानुनी यात्रा भएकाले समातिने डरले सबै कागजपत्र र मोबाइलसमेत उहाँले एजेन्टलाई नै बुझाउनुभएको थियो,’ कमलाले भनिन्, ‘श्रीमान्ले भनेअनुसार अन्य दुई नेपाली पनि उहाँसँगै थिए । बेलारुस पुगेपछि भने उहाँसँग सम्पर्क टुट्यो ।’ 

लामो समयसम्म सम्पर्कमा नआएपछि कमलाले स्पेनमा रहेका आफन्तलाई खबर गरिन् । आफन्तले स्पेनस्थित गैरआवासीय नेपाली संघमा खबर गरे । संघले दूतावासमा सम्पर्क गर्‍यो । सोही समय (मंसिर)मा मस्को दूतावासमा जानकारी प्राप्त भयो, ‘बेलारुसको गोद्धोनो भन्ने स्थानमा गस्तीमा गएको आर्मीले नेपाली नागरिकको शव फेला पार्‍यो ।’ मस्को दूतावासले आर्मीले दिएको विवरणअनुसार नेपालमा रहेका उनका परिवारलाई खबर गर्‍यो । गैरआवासीय नेपाली संघ र दूतावासको समन्वयमा गत माघमा शवको उतै अन्त्येष्टि गरियो र अस्तु नेपाल पठाइयो ।

सिन्धुपाल्चोक इन्द्रावतीकी २३ वर्षीया सन्चिता गोतामेको पनि युरोप सपनाको अवैध यात्राले दुःखान्त निम्त्याएको छ । घरकी जेठी छोरी सन्चिताको जिम्मेवारी वृद्ध बा–आमा र तीन भाइ–बहिनीको भविष्यसँग पनि जोडिएको थियो । १२ कक्षा अध्ययन सकेर एक फाइनान्समा जागिरे बनेकी उनलाई पनि युरोप छिर्ने रहर जाग्यो । एजेन्ट लीलाकुमार तामाङसँग भेट भयो । 

युरोप भिसाका लागि विभिन्न चरणमा एजेन्टलाई रकम भुक्तानी गर्दै गएपछि प्रक्रिया थालेको एक वर्षमा मात्रै क्रोएसियाको भिसा आयो । वृद्धाश्रममा केयर गिभरको काम गर्न दुई वर्षको भिसामा क्रोएसिया उडिन् । ८० हजार पारिश्रमिक पाउने सम्झौता थियो । ‘उड्ने वेला पनि एजेन्टलाई साढे सात लाख भुक्तानी गरेको हो,’ सन्चिताकी आमा सविना गोतामेले भनिन्, ‘त्यसअघि कहिले एक लाख, कहिले ५० हजार गर्दै जम्मा १३ लाखभन्दा धेरै रकम ऋण खोजेर एजेन्टलाई बुझाएको हो ।’ 

तर, क्रोएसिया पुगेको पाँच महिनापछि ६ मंसिरमा सन्चिताकी आमालाई जापानमा बस्ने उनका आफन्तले फोन गरेर सन्चिताको मृत्यु भएको खबर दिए । ‘भतिजाले जापानबाट फोन गरेर बहिनी त बितिछ भन्यो,’ सविनाले भनिन् । सन्चिताले आफ्नी साथीलाई जापानमा रहेका दाइसँग पहिल्यै चिनजान गराएकी थिइन् । उनैले मृत्युको खबर दिएका थिए ।

क्रोएसियाबाट पोर्चुगल प्रवेशका लागि अन्य चार साथीसहित सन्चिता स्नोलाभिया जाँदै थिइन् । स्नोलाभियाको जंगलमा हिउँ परेपछि अत्यधिक चिसोका कारण उनको मृत्यु भएको खबर उनीसँगै यात्रामा रहेकी साथीले दिएको सविनाले बताइन् । मृत्युको दुई महिनापछि माघमा उनको शव नेपाल आइपुगेको थियो । 

युरोप सपनाले बढ्दै छ मानव तस्करी
खाडी र मलेसियापछि अहिले नेपाली युवा युरोपतिर आकर्षित हुँदै छन् । आकर्षणको त्यही चक्करमा कैयौँ युवा आर्थिक रूपमा मात्रै फसेका छैनन्, केहीको जीवन नै समाप्त भएको छ । 

उच्च पारिश्रमिक, सहज जीवनशैली, सुरक्षा, सेवा–सुविधा तथा स्थायी बसोवासका लागि कार्डको सुविधा पनि पाउने लोभमा नेपाली युवा युरोपमा झुम्मिएको नेपाली समाज क्रोएसियाका अध्यक्ष एचबी लामा बताउँछन् । युरोपेली मुलुकमध्ये पोर्चुगल, स्पेन र बेल्जियम अधिकांश नेपालीको रोजाइमा पर्ने गरेको उनले बताए । तर, यी मुलुकमा प्रवेश भने सहज छैन । 

लामाका अनुसार सुरुमा युवाहरू अध्ययन, श्रम भिसा तथा भिजिट भिसामा युरोपका अन्य मुलुक प्रवेश गर्छन् । सुरुमा क्रोएसिया, युक्रेन, स्नोलाभिया, भियना, बेलारुसलगायत मुलुक पुगेपछि अधिकांश युवा अवैध प्रक्रियामार्फत पोर्चुगल, स्पेन र बेल्जियम छिर्छन् । यीमध्ये पनि पोर्चुगल विदेशी कामदारका लागि अति उदार नीति भएको मुलुक हो । त्यहाँको सरकारले विदेशी कामदारलाई साढे दुई वर्षमा नै रेसिडेन्ट कार्ड दिन्छ भने पाँच वर्ष बसेपछि रातो पासपोर्ट दिन्छ । रातो पासपोर्ट बोकेर विश्वका एक सय ८० देश प्रवेश गर्न सकिने भएकाले पनि नेपाली युवाको पहिलो रोजाइ पोर्चुगल बनेको लामाले बताए । यही लोभमा नेपाली युवा जीवन दाउमा राखेर अवैध यात्रामा लाग्छन् । धेरै युवा नेपालमै एजेन्टबाट ठगिन्छन् । 

नेपालबाट कामदारहरू तीन माध्यमबाट वैदेशिक रोजगारीमा जान सक्छन्– म्यानपावर कम्पनीबाट, सरकारी कोटाबाट र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर । म्यानपावर व्यवसायीले रोजगारदाता कम्पनीसँग समन्वय गरेर कामदार पठाउँछ । यसका लागि नेपाल सरकारले विश्वका एक सय ११ मुलुक खुला गरेको छ । सरकारी कोटाबाट भने सरकारले केही मुलुकसँग जिटुजी गरेको छ, सरकारले नै परीक्षा लिएर छनोट गरी पठाउने गर्छ । जिटुजीमा नेपालले कोरिया र इजरायलमा कामदार पठाइरहेको छ । त्यस्तै, व्यक्तिगत रूपमा स्वीकृति लिएर कामदार आफैँ गन्तव्य मुलुकको रोजगारदातासँग सीधै श्रम सम्झौता गरी जान्छन् । यसका लागि नेपालले एक सय ७८ मुलुक खुला गरेको छ । युरोपेली मुलुकमा म्यानपावर कम्पनीको पहुँच पुग्न नसकेपछि गैरकानुनी एजेन्टको सक्रियतामा युवाहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् । तर, एजेन्टका कारण उनीहरू जोखिममा पर्ने गरेका छन् । 

श्रम मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष व्यक्तिगत श्रम स्वीकृति लिएर सबैभन्दा धेरै तीन हजार सात सय २३ नेपाली क्रोएसिया पुगेका थिए । त्यस्तै, पोल्यान्डमा एक हजार चार सय ९१, रोमानियामा एक हजार दुई सय ४५ र माल्टामा एक हजार दुई सय २९ नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर गएको तथ्यांक छ । यसरी अमेरिका, युएई, कतार, जापानलगायत देशमा समेत नेपाली युवा गए पनि युरोप जाने संख्या नै धेरै छ । 

तर, कतिपय मुलुकको दूतावास नेपालमा नहुँदा एजेन्टहरूले कामदारलाई भारतलगायतका मुुलुक हुँदै युरोप पुर्‍याउने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त अर्यालले बताए । धेरै युवाले अवैध र जोखिम हुने थाहा पाउँदा–पाउँदै पनि युरोप प्रवेश गर्ने प्रयासमा दुःख पाउने गरेको उनको भनाइ छ । अर्यालका अनुसार युरोपको सपना देख्नेहरू केही पढेका र स्वदेशमा पनि राम्रो आम्दानी गरिरहेकाहरू नै हुन्छन्, सामान्य युवाले युरोप आँक्न सक्दैनन् । 

खासगरी पोल्यान्ड, बेलारुस, रोमानिया लैजान्छु भनेर ठगी गरेको गुनासा विभागमा आउने गरेका छन् । तर, व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारको हकमा प्रत्यक्ष रूपमा कुनै एजेन्ट नदेखिने भएपछि कारबाही गर्न असहज हुने गरेको छ । ‘व्यक्तिगत श्रम स्वीकृति भनेको सीधै रोजगारदातासँग सम्झौता हुनु हो । युवाहरूले श्रम स्वीकृति लिँदा रोजगारदातासँग नै सम्झौता गरेको कागजपत्र देखाउनुहुन्छ । तर, ठगिएपछि फलानोले ठग्यो भन्नुहुन्छ । त्यो त कागजमा कहीँ पनि हुँदैन,’ उनले भने । 

युरोपको लोभमा नेपाली युवा युद्धग्रस्त युक्रेन जानसमेत तयार 

रुस र युक्रेनबीच युद्ध छेडिएको समयमा नेपालबाट युरोपमा मानव तस्करी गर्ने एजेन्टहरू झन् सक्रिय बनेका छन् । युरोप प्रवेश गर्ने ध्येयले नेपाली युवा युद्धग्रस्त युक्रेनमा समेत प्रवेश गर्न थालेका हुन् । 

नेपाली युवाले खतरनाक जोखिम मोल्न थालेपछि जर्मनीस्थित नेपाली दूतावासले सूचना नै जारी गरी युक्रेन प्रवेश नगर्न चेतावनी दिएको छ । नेपाल सरकारले युक्रेन प्रवेशमा प्रतिबन्ध लगाए पनि विभिन्न बाटो हुँदै नेपाली युक्रेन पुगेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । 

युरोप पुग्ने सपनामा नेपाली युवाहरू विश्वका विभिन्न मुलुकमा जोखिममा परेको मस्को दूतावासका द्वितीय सचिव सुशील घिमिरेले बताए । विगत एक महिनामा मात्रै ३० जना नेपालीलाई मस्कोस्थित नेपाली दूतावासले नेपाल फर्काएको उनले बताए । उनका अनुसार गत साता मात्रै काजकिस्तानमा दुई नेपाली समातिएका थिए । उनीहरूसँग भएको पासपोर्ट नै नक्कली भएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि उनीहरू मस्कोस्थित नेपाली दूतावासको सम्पर्कमा आएका थिए । 

प्रत्येक दिन एउटा न एउटा यस्ता खालका केस दूतावासमा आउने गरेको घिमिरे बताउँछन् । ‘नेपाली सोझा छन्, जे भने पनि पत्याउने । युरोप पुगेपछि सबै समस्या समाधान हुन्छ भन्ने नेपालीको मानसिकता छ । त्यसैले जसरी पनि युरोप प्रवेश गर्ने भन्दै ज्यान नै जोखिममा राख्ने गरेका छन्,’ उनले भने । 

युक्रेनमा फसे तीन युवा, म्यानमारमा सय
मुलुकमा रोजगारी नपाएका नेपाली युवा उच्च पारिश्रमिकको प्रलोभन पाएपछि नेपाली र भारतीय एजेन्टको ‘ललिपप’मा सजिलै फस्ने गरेका छन् । ढाँटेर अवैध यात्रा तय गर्ने युवा अलपत्र परेपछि मात्रै दूतावासमार्फत सरकारको सम्पर्कमा आउने गरेका छन् । 

क्रोएसिया पठाइदिने भन्दै उनीहरूलाई मनमैजुका डम्बरबहादुर विकले युद्धग्रस्त युक्रेन पुर्‍याएका हुन् । म्याग्दीका दुई र बागलुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्‍याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा छन् । 

क्रोएसिया लैजाने भन्दै उनीहरूलाई प्रतिनिधिसभा निर्वाचनको भोलिपल्ट काठमाडौंबाट हिँडाइएको थियो । काठमाडौंबाट सडकमार्ग हुँदै मुम्बई पुर्‍याइएका उनीहरूलाई १० दिन त्यहाँ राखेर १६ डिसेम्बरमा माल्दोभा (युक्रेनको छिमेकी मुलुक) उडाइयो । माल्दोभाको ट्रान्जिट भिसा पाएको र त्यहाँ झरेपछि ट्याक्सी चढेर दुई घन्टामा युक्रेन पुगेको पीडितहरूले बताए । उनीहरूका अनुसार विकले युद्धको समस्या देखाएर युक्रेनबाट कोएसिया प्रवेश गराउने आश्वासन दिएर पठाएका थिए । 

युक्रेनको अदालतले ३० दिनभित्र मुलुक छाड्न आदेश दिएकोमा अल्टिमेटमको समय सकिइसकेको छ । अब प्रहरीले पक्राउ गरे जेल जानुपर्ने त्रास रहेको युवाहरूले बताए । 

त्यस्तै, आकर्षक तलब र सुविधाको प्रलोभनमा पर्दा युद्धग्रस्त म्यानमारमा पनि करिब सय नेपाली कामदार फसेका छन् । सामाजिक सञ्जालमार्फत कम्पनीको सम्पर्कमा पुगेका उनीहरू म्यानमारमा अवैध कामका लागि प्रयोग भएका छन् । अधिकांश नेपाली कामदार नेपाल, दुबई, कतार, मलेसियालगायतका मुलुकबाट म्यानमार पुगेका हुन् । 

अवैध प्रक्रियामार्फत गएका कामदारलाई श्रम मन्त्रालयले केही गर्न सक्दैन : राजीव पोखरेल, सहायक प्रवक्ता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका कामदार जोखिममा परेको खण्डमा मात्रै विभाग वा मन्त्रालयले उद्धार गर्न सक्छ । किनभने उनीहरूको रेकर्ड हुन्छ । उनीहरूलाई पठाउने म्यानपावर कम्पनी जिम्मेवार हुन्छन् । तर, अवैध प्रक्रियाबाट गएका कामदारको हामीसँग रेकर्ड पनि हुँदैन । त्यसैले केही गर्न सक्दैनौँ । कसैले कहीँ पनि भ्रमण नगर भनेर रोक लगाउन सक्दैनौँ । तर, यसरी जाँदा कानुनी प्रक्रिया अपनाएर जान आग्रह गर्छौँ । 

सरकार अनुदार हुँदा तस्करलाई प्रोत्साहन : बद्री केसी, अध्यक्ष, गैरआवासीय नेपाली संघ 
मानव तस्करी संसारभरकै समस्या हो । पछिल्लो समयमा नेपालबाट मानव तस्करी हुने क्रम ज्यादै बढेको छ । नेपालीलाई नेपालीले नै फकाएर पठाउने गरेका छन् । अनि समस्या परेपछि युवाहरूले दूतावास र गैरआवासीय नेपालीलाई गुहार्छन् । यस्ता समस्याको चाङ छ । तर, सरकारले भने कारबाही गर्ने आँट देखाउँदैन । एक–दुईजनालाई मात्रै सरकारले समातेर कारबाही गर्ने हो भने तस्कर निरुत्साहित हुने थिए । 

युक्रेनमा अलपत्र जगत भण्डारीको कथा

मसहित तीन साथीलाई सीधै क्रोएसिया जान अप्ठ्यारो हुने भन्दै दलालले युक्रेन हुँदै पठाउने योजना दियो । काठमाडौंमा एजेन्टलाई १०–१० लाख बुझाएर २ मंसिरमा बस र रेलको यात्राबाट मुम्बई गयौँ । भिसा नआएकाले मुम्बईमा १४ दिन कुरेपछि त्यहाँको एजेन्टलाई हजार युरो बुझाएर १ पुसमा माल्दोभा उड्यौँ । माल्दोभामा १० दिन बसेर विद्यार्थी भिसाको कागजपत्र बनेपछि ट्याक्सीमा दुई घन्टा यात्रा गरी युक्रेन प्रवेश गर्‍यौँ । युक्रेनमा भारतीय एजेन्टलाई दुई हजार युरो बुझायौँ ।

हामीजस्तै आएका अन्य चारजनासँग भेट भयो । सातैजना युक्रेनको उज्होरोडमा होस्टेलमा बस्यौँ । यहाँको अस्थायी रेसिडेन्सियल कार्ड पनि पायौँ । तर, ९ माघ (२३ जनवरी)मा खाना आएर सुत्ने तरखरमा लाग्दै गर्दा १० बजेतिर नौजना आर्मी सिभिल पोसाकमा आइपुगे । युक्रनेको ओरिजिनल डकुमेन्ट देखाएपछि उनीहरूले गाडीमा राखेर २५ किमि टाढा स्लोभाकियाको सिमानामा पर्ने जंगलमा पुर्‍याए । गाडीबाट झारेर २० मिटर भित्र लगी कुकुरसमेत उनीहरूसँगै राखेर फोटो खिचे । पछि बुझियो कि उनीहरूले आफ्नो प्रमोसनका लागि हामीलाई युरोपतर्फ भाग्दै गरेको र आफूले समातेको भनेर देखाउन फोटो खिचेका रहेछन् । 

त्यसपछि ब्यारेकमा पुर्‍याए, दुईजनालाई बाहिरै राखेर पाँचजनालाई भित्र लगे । त्यहाँ अहमद नामको पाकिस्तानी रहेछ । आर्मीले उसलाई हामीसँग कुरा गर्न लगायो । अहमदले हिन्दी भाषामा हामीलाई भन्यो– तिमीहरूको कागजपत्र फर्जी छ, १८ महिना जेल सजाय हुन्छ, तर सबैले २५ सय युरोका दरले दिए जेल जानबाट बचाउँछु । तर, हामीसँग पैसा पनि नभएको र युक्रेनको कागजपत्र पनि ओरिजिनल नै भएकाले सुरुमा उसको कुरा इन्कार गर्‍यौँ । तर, पछि डर लागेर सातजनाको आठ हजार पाँच सय युरो दिने सहमति गर्‍यौँ । 

त्यो राति हामीलाई आर्मीले जंगलभित्रको अनकन्टार ठाउँमा लगेर राख्यो । भोलिपल्ट २४ जनवरीको बेलुका जंगलबाट बाहिर निकालेर सडकमा लगे । सडकमा एउटा गाडी थियो । गाडीको अगाडि दुई आर्मी थिए । पछाडि म र अहमद थियौँ । हामीले आर्मीलाई युरो दिने र उनीहरूले हामीलाई सकुशल बाहिर छाडिदिने भन्ने विषयमा छलफल भयो । म अलि अनकनाएँ । त्यसपछि गाडीको अगाडि बसेको आर्मी अफिसरले ममाथि बन्दुक तेस्र्यायो । अहमदले डर थप्दै भन्यो– पैसा दिन्छु भनेर चुप लाग्, नभए आर्मीले जंगलमा लगेर गोली हान्छ । त्यसपछि म चुप लागेँ । फेरि हामीलाई त्यही जंगलभित्रको ब्यारेकमा नै लग्यो । २५ जनवरीमा पनि त्यहीँ राख्यो । त्यहाँको नियमअनुसार आर्मीले गिरफ्तार गरेको तीन दिनभित्र अदालतमा पेस गर्नुपर्ने रहेछ । त्यसैले तेस्रो दिन एउटा कागज ल्याएर हामीलाई हस्ताक्षर गर्न दबाब दिए । 

उक्त कागजमा ‘हामीले गल्ती गरेको र अदालतमा पेस नभए पनि हामीलाई दिइने सजाय स्वीकार्य छ’ भनेर लेखिएको रहेछ । मैले तत्काल खण्डन गरेँ– यसमा लेखिएजस्तो त होइन नि ! तर, हामीले थर्काउन थाल्यो । अन्ततः ज्यान झन् जोखिममा पर्ने डरले हस्ताक्षर गरियो । 

अदालतले हाम्रो अस्थायी बसोवास अनुमति रद्द गरेर ३० दिनभित्र देश छाड्न आदेश दियो । त्यसपछि अहमदले हाम्रो पासपोर्ट लियो र गाडीमा राखेर आफू बस्ने ठाउँमा लग्यो । अहमदको बाहिर सानो जुत्तापसल रहेछ । जुत्तापसलभित्र अन्डरग्राउन्डमा कोठा रहेछ । कतैबाट हावा नआउने ठाउँ, ढुसी गनाएको थियो । कोठाभित्र छिर्न तीनवटा ढोका खोल्नुपर्ने रहेछ । अब हामीले अहमदलाई पैसा दिनुपर्ने भयो । अहमदले हामीलाई पैसाको व्यवस्था गर्नु भन्दै आफू बाहिर निस्कियो । अनि मैले ‘म त यहाँ बस्न सक्दिनँ, अक्सिजनको कमी भयो, तँ जहाँ जान्छस् त्यहीँ लैजा’ भनेँ । त्यसपछि आफूसँगै लग्यो । पैसाको व्यवस्था गर्नुपर्ने भएकाले मलाई मोबाइल चलाउन दिएको थियो । त्यही मौका छोपी मैले त्यहाँको हाम्रो भारतीय एजेन्टलाई फोन गरेँ । उसले लोकेसन पठाउन भन्यो । मैले भिडियो खिचेर पठाएँ । उसले आफूले केही पहल गर्ने भन्दै पैसा नदिन भन्यो । २७ जनवरीमा एक प्रहरी अहमदले हामीलाई राखेको अन्डरग्राउन्ड भित्र आइपुग्यो । उसले अहमदलाई हाम्रोबारेमा सोध्यो । भारतीय एजेन्टले पैसा खुवाएर हामीलाई बाहिर निकाल्न प्रहरी पठाएको रहेछ । 

प्रहरीले अहमदसँग हाम्रो पासपोर्ट माग्यो । अहमदले भने हामीहरूलाई उसको साथी भएको बतायो । हामीलाई पनि त्यसै भन्न लगायो । उता अहमदले आफ्नो सम्पर्कका आर्मीलाई फोन गर्‍यो । केहीबेरमै अहमदका मान्छेहरू पसलबाहिर घेरेर बस्न थालिसकेका थिए । हामी झन् अप्ठ्यारोमा पर्‍यौँ । अहमदको पक्ष लाग्दा उसको चंगुलबाट बच्ने एउटै मौका पनि गुमाउने अवस्था थियो, प्रहरीको पक्ष लाग्दा अहमद र आर्मीको त्रास थियो । त्यसैले अहमद र आर्मीले गरेका केही विषय पनि भनेनौँ । अहमदसँग हाम्रो झोला र पासपोर्ट मागिदिनु हामी जान्छौँ भन्यौँ । प्रहरीले झोला र पासपोर्ट मागिदियो, अनि पाँच सय दिएर गाडीमा राखी रेल स्टेसनतर्फ पठाइदियो । तर, रेल स्टेसनमा पनि अहमदका मान्छे हामीलाई पर्खेर बसेका रहेछन् । गाडीले हामीलाई स्टेसनभित्रै छाडिदिएकाले अहमदका मान्छेसँग फुत्किएर ओडेसा भन्ने सहरतर्फ लाग्यौँ । 

उज्होरोडमा अहमदको चंगुलबाट भागेर ओडेसातर्फ त लाग्यौँ, तर त्यहाँ भारतीय एजेन्टले समस्या पार्नेवाला थियो । हामीले हाम्रो नेपाली एजेन्टलाई फोन गर्‍यौँ । उसले रेलबाट हाम फालेर भाग भन्यो । रेल तोकिएको स्टेसनमा नपुगी रेकिँदैनथ्यो, हामी बीचमा उत्रिने सम्भावना नै थिएन । जे होला भनेर हामी ओडेसा नै पुग्यौँ । उज्होरोडदेखि ६ सय ७३ किमि दूरीमा रहेको ओडेसा १३ घन्टामा पुगेपछि सातमध्ये चारजना एकातिर र तीनजना अर्कातिर लाग्यौँ । अन्य चार साथी अर्को एजेन्टबाट आएका रहेछन् । हामी केही दिन ओडेसामा लुकेर बस्यौँ । त्यसपछि चार सय २४ किमि टाढाको भिनियास्टिया गयौँ, त्यहाँबाट पनि तीन सय ६३ किमि यात्रा गरेर एलभिभ पुग्यौँ । एलभिभ पोल्यान्डको सिमानानजिक पर्छ । एलभिभबाट हामीलाई नेपाली एजेन्टले मेडिका भन्ने ठाउँमा जान भन्यो । त्यहाँ उसको मान्छे लिन आउँछ र हामीलाई पोल्यान्डको सिमानामा पुर्‍याउँछ भन्यो । उसको मान्छे लिन आयो र पोल्यान्डको सिमानामा लगेर छाडिदियो । त्यसपछि पोल्यान्डको इमिग्रेसनमा गएर प्रवेशको अनुमति दिन अनुरोध गर्‍यौँ, तर प्रवेश गर्न दिएन । त्यसपछि फेरि एलभिभ फर्कियौँ । 

नेपाली एजेन्टले त्यहाँ फेरि एउटी केटी एजेन्ट पठायो । उसले हामीलाई हंगेरीको सिमानामा छाडिदिई । त्यहाँको इमिग्रेसनमा गएर कुरा गर्‍यौँ, तर भिसा दिएन । हामी होटेलमै फर्कियौँ । उसले जसरी पनि हंगेरी पठाउने भन्दै तनाव नलिन सान्त्वना दिइरहेको थियो । भोलिपल्ट उसको मान्छे गाडी लिएर आयो । उसले हामीलाई गाउँको अफरोड हुँदै ८० किलोमिटर गुडाएपछि हंगेरीको नाकामा पुर्‍यायो । त्यहाँ हामीसहित ६० जना मान्छे थिए । राति १० बजेसम्म हामी बस्यौँ । ६० जनामध्ये ५६ जनालाई हंगेरीको इमिग्रेसनले भिसा दियो, हामीसहित ६ जनालाई भने दिएन । हामीले धेरै अनुरोध गर्‍यौँ, तर उसले माल्दोभाबाट नै फर्किन भन्यो । 

होटेलतिर फर्किन खोज्दा हामीलाई सिमाना पुर्‍याउने गाडीले एक सय ५० युरो माग्यो । हामीसँग पैसा थिएन । बचेखुचेको पैसा उसलाई दिँदा खाना खाने उपाय पनि हुँदैनथ्यो । हामीलाई जंगलमै छाडेर गाडीवाला हिँड्यो । रातको समय जंगलमा आधा घन्टा हिँडेर मुख्य सडकमा निस्कियौँ । सडकमा पेट्रोल पम्प थियो, नजिकै एउटा गाडी पनि भेट्यौँ । गाडीवालाले हामीलाई नजिकै रेल स्टेसन भएको जानकारी दिँदै त्यहाँसम्म छाडिदिन तयार पनि भयो । बाटोमा हाम्रो अनुरोधपछि उसले युक्रेनको एक हजारमा होटेलमै पुर्‍याइदियो । 

अर्को उपायस्वरूप नेपाली एजेन्टले हामीलाई फेरि युक्रेनको राजधानी किभमा आउन भन्यो । हंगेरी लगिदिने मान्छे कुरेर बसिरहेको पनि बतायो । तर, किभ पुगेपछि फेरि त्यहाँ खतरा भएकाले नबस्न भन्यो । युद्ध सुरु भएको एक वर्ष पुग्न लागेकाले किभमा फेरि रुसले ठूलो आक्रमण गर्दै छ रे भन्दै पुराना भिडियो पठाउन थाल्यो । तत्काल उज्होरोड नै जान भन्यो । तर, त्यहाँ जाँदा अहमदको खतरा थियो । नेपाली एजेन्टले उज्होरोडमा पाकिस्तानी एजेन्ट आएर हिँडाएर हंगेरी पुर्‍याउँछ भन्यो । हामी त्यतै लाग्यौँ । तर, रेलमा यात्रा गर्दै गर्दा अर्को एउटा पाकिस्तानी एजेन्टले ‘तिमीहरूको पछाडि सिआइडी लागेको छ, खतराबाट जोगिन बाटोमै उत्रिनु’ भन्यो । तर, गुडिरहेको रेलबाट कसरी उत्रिनु ? हामी राति २ बजे उज्होरोड नै पुग्यौँ । तर, स्टेसनबाट बाहिर निस्केनौँ । नेपाली एजेन्टले फोन गरेर ‘मोकाचेभो जानु, त्यहाँ मेरो मान्छे लिन आउँछ’ भन्यो । त्यसपछि बिहान ६ बजेको रेल चढेर ८ बजे मोकाचेभो पुग्यौँ । उसले रोमानियाकी केटी आएर जंगल हुँदै रोमानिया लैजान्छे भनेको थियो । तर, दिनभर कुर्दा पनि त्यो केटी आइन । कहिले जाममा परेको, कहिले पेट्रोल भर्दै गरेको र कहिले सुपरमार्केट पछाडि छे भन्दै उसले हामीलाई झुक्यायो । केटीको नाममा म्यासेज भने आइरहेको थियो, तर फोन गर्दा उठेन । हामीलाई लाग्यो, नेपाली एजेन्टले हामीलाई अलमलाइरहेको छ । 

केही सीप नलागेपछि हामी फेरि किभमै फर्कियौँ । तर, नेपाली एजेन्टले किभमा नबस्न भनेको छ । किभमा कन्सुलरमा कुरा राख्यौँ, तर नियोगमा कुरा गर्नु भन्यो । माल्दोभाले नदिए अरू देशले भिसा दिन्छ भन्यो । यहाँको आइओएममा पनि गएर कुरा गर्‍यौँ । मस्को र बर्लिनको दूतावासमा पनि समस्या दर्साइसकेका छौँ । बर्लिन दूतावासले माल्दोभाको परराष्ट्र मन्त्रालयसँग कुरा भइसकेकाले त्यहाँको इमिग्रेसनमा गएर कुरा गर्न भनेको छ । तर, लिखित कागजपत्र भने दिएको छैन । हामी किभमा एउटा कोठा लिएर बसेका छौँ । सस्तो खाद्यान्न किनेर जीवन धानेका छौँ । कुनै पनि सयममा यहाँको प्रहरीले पक्राउ गर्न सक्छ । पक्राउ परियो भने १८ महिना जेल हुन सक्छ ।