मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:२५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

युक्रेनमा अलपत्र जगत भण्डारीको कथा

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:२५:००

म सहित तीन साथीलाई सीधै क्रोएसिया जान अप्ठ्यारो हुने भन्दै दलालले युक्रेन हुँदै पठाउने योजना दियो । काठमाडौंमा एजेन्टलाई १०–१० लाख बुझाएर २ मंसिरमा बस र रेलको यात्राबाट मुम्बई गयौँ । भिसा नआएकाले मुम्बईमा १४ दिन कुरेपछि त्यहाँको एजेन्टलाई हजार युरो बुझाएर १ पुसमा माल्दोभा उड्यौँ । माल्दोभामा १० दिन बसेर विद्यार्थी भिसाको कागजपत्र बनेपछि ट्याक्सीमा दुई घन्टा यात्रा गरी युक्रेन प्रवेश गर्‍यौँ । युक्रेनमा भारतीय एजेन्टलाई दुई हजार युरो बुझायौँ ।

हामीजस्तै आएका अन्य चारजनासँग भेट भयो । सातैजना युक्रेनको उज्होरोडमा होस्टेलमा बस्यौँ । यहाँको अस्थायी रेसिडेन्सियल कार्ड पनि पायौँ । तर, ९ माघ (२३ जनवरी)मा खाना आएर सुत्ने तरखरमा लाग्दै गर्दा १० बजेतिर नौजना आर्मी सिभिल पोसाकमा आइपुगे । युक्रनेको ओरिजिनल डकुमेन्ट देखाएपछि उनीहरूले गाडीमा राखेर २५ किमि टाढा स्लोभाकियाको सिमानामा पर्ने जंगलमा पुर्‍याए । गाडीबाट झारेर २० मिटर भित्र लगी कुकुरसमेत उनीहरूसँगै राखेर फोटो खिचे । पछि बुझियो कि उनीहरूले आफ्नो प्रमोसनका लागि हामीलाई युरोपतर्फ भाग्दै गरेको र आफूले समातेको भनेर देखाउन फोटो खिचेका रहेछन् । 

त्यसपछि ब्यारेकमा पुर्‍याए, दुईजनालाई बाहिरै राखेर पाँचजनालाई भित्र लगे । त्यहाँ अहमद नामको पाकिस्तानी रहेछ । आर्मीले उसलाई हामीसँग कुरा गर्न लगायो । अहमदले हिन्दी भाषामा हामीलाई भन्यो– तिमीहरूको कागजपत्र फर्जी छ, १८ महिना जेल सजाय हुन्छ, तर सबैले २५ सय युरोका दरले दिए जेल जानबाट बचाउँछु । तर, हामीसँग पैसा पनि नभएको र युक्रेनको कागजपत्र पनि ओरिजिनल नै भएकाले सुरुमा उसको कुरा इन्कार गर्‍यौँ । तर, पछि डर लागेर सातजनाको आठ हजार पाँच सय युरो दिने सहमति गर्‍यौँ । 

त्यो राति हामीलाई आर्मीले जंगलभित्रको अनकन्टार ठाउँमा लगेर राख्यो । भोलिपल्ट २४ जनवरीको बेलुका जंगलबाट बाहिर निकालेर सडकमा लगे । सडकमा एउटा गाडी थियो । गाडीको अगाडि दुई आर्मी थिए । पछाडि म र अहमद थियौँ । हामीले आर्मीलाई युरो दिने र उनीहरूले हामीलाई सकुशल बाहिर छाडिदिने भन्ने विषयमा छलफल भयो । म अलि अनकनाएँ । त्यसपछि गाडीको अगाडि बसेको आर्मी अफिसरले ममाथि बन्दुक तेस्र्यायो । अहमदले डर थप्दै भन्यो– पैसा दिन्छु भनेर चुप लाग्, नभए आर्मीले जंगलमा लगेर गोली हान्छ । त्यसपछि म चुप लागेँ । फेरि हामीलाई त्यही जंगलभित्रको ब्यारेकमा नै लग्यो । २५ जनवरीमा पनि त्यहीँ राख्यो । त्यहाँको नियमअनुसार आर्मीले गिरफ्तार गरेको तीन दिनभित्र अदालतमा पेस गर्नुपर्ने रहेछ । त्यसैले तेस्रो दिन एउटा कागज ल्याएर हामीलाई हस्ताक्षर गर्न दबाब दिए । 

उक्त कागजमा ‘हामीले गल्ती गरेको र अदालतमा पेस नभए पनि हामीलाई दिइने सजाय स्वीकार्य छ’ भनेर लेखिएको रहेछ । मैले तत्काल खण्डन गरेँ– यसमा लेखिएजस्तो त होइन नि ! तर, हामीले थर्काउन थाल्यो । अन्ततः ज्यान झन् जोखिममा पर्ने डरले हस्ताक्षर गरियो । 

अदालतले हाम्रो अस्थायी बसोवास अनुमति रद्द गरेर ३० दिनभित्र देश छाड्न आदेश दियो । त्यसपछि अहमदले हाम्रो पासपोर्ट लियो र गाडीमा राखेर आफू बस्ने ठाउँमा लग्यो । अहमदको बाहिर सानो जुत्तापसल रहेछ । जुत्तापसलभित्र अन्डरग्राउन्डमा कोठा रहेछ । कतैबाट हावा नआउने ठाउँ, ढुसी गनाएको थियो । कोठाभित्र छिर्न तीनवटा ढोका खोल्नुपर्ने रहेछ । अब हामीले अहमदलाई पैसा दिनुपर्ने भयो । अहमदले हामीलाई पैसाको व्यवस्था गर्नु भन्दै आफू बाहिर निस्कियो । अनि मैले ‘म त यहाँ बस्न सक्दिनँ, अक्सिजनको कमी भयो, तँ जहाँ जान्छस् त्यहीँ लैजा’ भनेँ । त्यसपछि आफूसँगै लग्यो । पैसाको व्यवस्था गर्नुपर्ने भएकाले मलाई मोबाइल चलाउन दिएको थियो । त्यही मौका छोपी मैले त्यहाँको हाम्रो भारतीय एजेन्टलाई फोन गरेँ । उसले लोकेसन पठाउन भन्यो । मैले भिडियो खिचेर पठाएँ । उसले आफूले केही पहल गर्ने भन्दै पैसा नदिन भन्यो । २७ जनवरीमा एक प्रहरी अहमदले हामीलाई राखेको अन्डरग्राउन्ड भित्र आइपुग्यो । उसले अहमदलाई हाम्रोबारेमा सोध्यो । भारतीय एजेन्टले पैसा खुवाएर हामीलाई बाहिर निकाल्न प्रहरी पठाएको रहेछ । 

प्रहरीले अहमदसँग हाम्रो पासपोर्ट माग्यो । अहमदले भने हामीहरूलाई उसको साथी भएको बतायो । हामीलाई पनि त्यसै भन्न लगायो । उता अहमदले आफ्नो सम्पर्कका आर्मीलाई फोन गर्‍यो । केहीबेरमै अहमदका मान्छेहरू पसलबाहिर घेरेर बस्न थालिसकेका थिए । हामी झन् अप्ठ्यारोमा पर्‍यौँ । अहमदको पक्ष लाग्दा उसको चंगुलबाट बच्ने एउटै मौका पनि गुमाउने अवस्था थियो, प्रहरीको पक्ष लाग्दा अहमद र आर्मीको त्रास थियो । त्यसैले अहमद र आर्मीले गरेका केही विषय पनि भनेनौँ । अहमदसँग हाम्रो झोला र पासपोर्ट मागिदिनु हामी जान्छौँ भन्यौँ । प्रहरीले झोला र पासपोर्ट मागिदियो, अनि पाँच सय दिएर गाडीमा राखी रेल स्टेसनतर्फ पठाइदियो । तर, रेल स्टेसनमा पनि अहमदका मान्छे हामीलाई पर्खेर बसेका रहेछन् । गाडीले हामीलाई स्टेसनभित्रै छाडिदिएकाले अहमदका मान्छेसँग फुत्किएर ओडेसा भन्ने सहरतर्फ लाग्यौँ । 

उज्होरोडमा अहमदको चंगुलबाट भागेर ओडेसातर्फ त लाग्यौँ, तर त्यहाँ भारतीय एजेन्टले समस्या पार्नेवाला थियो । हामीले हाम्रो नेपाली एजेन्टलाई फोन गर्‍यौँ । उसले रेलबाट हाम फालेर भाग भन्यो । रेल तोकिएको स्टेसनमा नपुगी रेकिँदैनथ्यो, हामी बीचमा उत्रिने सम्भावना नै थिएन । जे होला भनेर हामी ओडेसा नै पुग्यौँ । उज्होरोडदेखि ६ सय ७३ किमि दूरीमा रहेको ओडेसा १३ घन्टामा पुगेपछि सातमध्ये चारजना एकातिर र तीनजना अर्कातिर लाग्यौँ । अन्य चार साथी अर्को एजेन्टबाट आएका रहेछन् । हामी केही दिन ओडेसामा लुकेर बस्यौँ । त्यसपछि चार सय २४ किमि टाढाको भिनियास्टिया गयौँ, त्यहाँबाट पनि तीन सय ६३ किमि यात्रा गरेर एलभिभ पुग्यौँ । एलभिभ पोल्यान्डको सिमानानजिक पर्छ । एलभिभबाट हामीलाई नेपाली एजेन्टले मेडिका भन्ने ठाउँमा जान भन्यो । त्यहाँ उसको मान्छे लिन आउँछ र हामीलाई पोल्यान्डको सिमानामा पुर्‍याउँछ भन्यो । उसको मान्छे लिन आयो र पोल्यान्डको सिमानामा लगेर छाडिदियो । त्यसपछि पोल्यान्डको इमिग्रेसनमा गएर प्रवेशको अनुमति दिन अनुरोध गर्‍यौँ, तर प्रवेश गर्न दिएन । त्यसपछि फेरि एलभिभ फर्कियौँ । 

नेपाली एजेन्टले त्यहाँ फेरि एउटी केटी एजेन्ट पठायो । उसले हामीलाई हंगेरीको सिमानामा छाडिदिई । त्यहाँको इमिग्रेसनमा गएर कुरा गर्‍यौँ, तर भिसा दिएन । हामी होटेलमै फर्कियौँ । उसले जसरी पनि हंगेरी पठाउने भन्दै तनाव नलिन सान्त्वना दिइरहेको थियो । भोलिपल्ट उसको मान्छे गाडी लिएर आयो । उसले हामीलाई गाउँको अफरोड हुँदै ८० किलोमिटर गुडाएपछि हंगेरीको नाकामा पुर्‍यायो । त्यहाँ हामीसहित ६० जना मान्छे थिए । राति १० बजेसम्म हामी बस्यौँ । ६० जनामध्ये ५६ जनालाई हंगेरीको इमिग्रेसनले भिसा दियो, हामीसहित ६ जनालाई भने दिएन । हामीले धेरै अनुरोध गर्‍यौँ, तर उसले माल्दोभाबाट नै फर्किन भन्यो । 

होटेलतिर फर्किन खोज्दा हामीलाई सिमाना पुर्‍याउने गाडीले एक सय ५० युरो माग्यो । हामीसँग पैसा थिएन । बचेखुचेको पैसा उसलाई दिँदा खाना खाने उपाय पनि हुँदैनथ्यो । हामीलाई जंगलमै छाडेर गाडीवाला हिँड्यो । रातको समय जंगलमा आधा घन्टा हिँडेर मुख्य सडकमा निस्कियौँ । सडकमा पेट्रोल पम्प थियो, नजिकै एउटा गाडी पनि भेट्यौँ । गाडीवालाले हामीलाई नजिकै रेल स्टेसन भएको जानकारी दिँदै त्यहाँसम्म छाडिदिन तयार पनि भयो । बाटोमा हाम्रो अनुरोधपछि उसले युक्रेनको एक हजारमा होटेलमै पुर्‍याइदियो । 

अर्को उपायस्वरूप नेपाली एजेन्टले हामीलाई फेरि युक्रेनको राजधानी किभमा आउन भन्यो । हंगेरी लगिदिने मान्छे कुरेर बसिरहेको पनि बतायो । तर, किभ पुगेपछि फेरि त्यहाँ खतरा भएकाले नबस्न भन्यो । युद्ध सुरु भएको एक वर्ष पुग्न लागेकाले किभमा फेरि रुसले ठूलो आक्रमण गर्दै छ रे भन्दै पुराना भिडियो पठाउन थाल्यो । तत्काल उज्होरोड नै जान भन्यो । तर, त्यहाँ जाँदा अहमदको खतरा थियो । नेपाली एजेन्टले उज्होरोडमा पाकिस्तानी एजेन्ट आएर हिँडाएर हंगेरी पुर्‍याउँछ भन्यो । हामी त्यतै लाग्यौँ । तर, रेलमा यात्रा गर्दै गर्दा अर्को एउटा पाकिस्तानी एजेन्टले ‘तिमीहरूको पछाडि सिआइडी लागेको छ, खतराबाट जोगिन बाटोमै उत्रिनु’ भन्यो । तर, गुडिरहेको रेलबाट कसरी उत्रिनु ? हामी राति २ बजे उज्होरोड नै पुग्यौँ । तर, स्टेसनबाट बाहिर निस्केनौँ । नेपाली एजेन्टले फोन गरेर ‘मोकाचेभो जानु, त्यहाँ मेरो मान्छे लिन आउँछ’ भन्यो । त्यसपछि बिहान ६ बजेको रेल चढेर ८ बजे मोकाचेभो पुग्यौँ । उसले रोमानियाकी केटी आएर जंगल हुँदै रोमानिया लैजान्छे भनेको थियो । तर, दिनभर कुर्दा पनि त्यो केटी आइन । कहिले जाममा परेको, कहिले पेट्रोल भर्दै गरेको र कहिले सुपरमार्केट पछाडि छे भन्दै उसले हामीलाई झुक्यायो । केटीको नाममा म्यासेज भने आइरहेको थियो, तर फोन गर्दा उठेन । हामीलाई लाग्यो, नेपाली एजेन्टले हामीलाई अलमलाइरहेको छ । 

केही सीप नलागेपछि हामी फेरि किभमै फर्कियौँ । तर, नेपाली एजेन्टले किभमा नबस्न भनेको छ । किभमा कन्सुलरमा कुरा राख्यौँ, तर नियोगमा कुरा गर्नु भन्यो । माल्दोभाले नदिए अरू देशले भिसा दिन्छ भन्यो । यहाँको आइओएममा पनि गएर कुरा गर्‍यौँ । मस्को र बर्लिनको दूतावासमा पनि समस्या दर्साइसकेका छौँ । बर्लिन दूतावासले माल्दोभाको परराष्ट्र मन्त्रालयसँग कुरा भइसकेकाले त्यहाँको इमिग्रेसनमा गएर कुरा गर्न भनेको छ । तर, लिखित कागजपत्र भने दिएको छैन । हामी किभमा एउटा कोठा लिएर बसेका छौँ । सस्तो खाद्यान्न किनेर जीवन धानेका छौँ । कुनै पनि सयममा यहाँको प्रहरीले पक्राउ गर्न सक्छ । पक्राउ परियो भने १८ महिना जेल हुन सक्छ ।